२८ असार २०८३, आइतबार

रास्वपालाई ओलीको जवाफ- इतिहासले राष्ट्रको प्रश्नमा मौन बसेकाहरूलाई पनि कठघरामा उभ्याउनेछ

असार २५, २०८३
काठमाडौं
रास्वपालाई ओलीको जवाफ- इतिहासले राष्ट्रको प्रश्नमा मौन बसेकाहरूलाई पनि कठघरामा उभ्याउनेछ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रिय स्वाभिमानको मुद्दामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू लाचार र मौन बसेको टिप्पणी गरेकी छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले रास्वपा सांसद टीका संग्रौलाले अघिल्लो दिन प्रतिपक्षमाथि उठाएको प्रश्नको काउन्टर जवाफ दिएकी हुन् ।

बुधबार रास्वपा सांसद संग्रौलाले विपक्षी सांसदहरूको अभिव्यक्तिलाई लक्षित गर्दै 'प्रतिपक्षका सांसदहरू कस्ता छन् भनेर इतिहास र भावी पुस्ताले हेर्ने' टिप्पणी गरेकी थिइन्। त्यसको २४ घण्टा नबित्दै राप्रपा सचेतक ओलीले सत्तापक्षको मौनता र लाचारीपनलाई इतिहासले झन् बढी केरकार गर्ने भन्दै जवाफ फर्काएकी हुन् । 

ओलीले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपालको सीमा र सार्वभौमिकतामाथि नै प्रश्न उठ्दा पनि नयाँ शक्तिका रूपमा आएका रास्वपाका सांसदहरू सत्ताकै बचाउमा लागेको आरोप लगाइन् । 'प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनुभएको छ? राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? केही दल, केही नेतागत निष्ठा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित भन्दा माथि कसरी पुग्यो ? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्तापक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लेखिनेछ । त्यसैले सम्झनुहोस्, आज तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ता हुँदै छ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईँहरूलाई पनि कठघरामा उभ्याउनेछ।'

प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार हुन नसक्ने भएकाले उनले संसद्मै आएर जवाफ दिनुपर्ने अडान राखिन् । 'दुर्भाग्यवश, प्रधानमन्त्रीज्यूले संसद्लाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो । के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो? के सार्वभौम संसद् पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो?'

salt training

कमेन्ट गर्नुहोस्