
नेकपा (एमाले) संविधान संशोधनसम्बन्धी बहसका लागि सरकारले गठन गरेको कार्यदलबाट बाहिरिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले कार्यदलमा पार्टीका तर्फबाट रहेका डा. भीष्म अधिकारीलाई फिर्ता बोलाएको जनाएका छन् ।
कार्यदलमा एमालेका तर्फबाट डा. अधिकारी प्रारम्भिक दिनमा सहभागी भएको उल्लेख गर्दै शुरूदेखि नै कार्यदलको कामकारबाही सन्देहास्पद प्रकृतिको रहेको पोखरेलले जनाएका छन् ।
एमालेले संविधान संशोधनका विषय किटान नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा संशोधनका लागि छलफलमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएको भन्दै यसबारे सरकारको भूमिका स्पष्ट पार्न पटक–पटक माग गरिएको जनाएको छ ।
वर्तमान संविधानका आधारभूत विषयलाई अझ सुदृढ बनाउने तथा कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सुधार गर्ने उद्देश्यले संविधान संशोधन हुनुपर्नेमा एमाले सधैँ दृढ रहेको महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर, त्यसविपरीतका विषयलाई खुला राखेर कार्यदल अघि बढेकाले एमाले प्रतिनिधि शुरूदेखि नै कार्यदलमा अनुपस्थित रहँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो प्रस्तावअनुसार सरकारले हालसम्म स्पष्ट जवाफ नदिएको भन्दै संविधान संशोधन कार्यदलबाट पार्टी प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाइएको एमालेले जनाएको छ ।
यसअघि उक्त कार्यदलबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि बाहिरिइसकेका छन् ।
