
नेपाली कांग्रेसका नेता नैनसिंह महरले राज्यका निकायहरू सरकारलाई खुसी पार्ने प्रतिस्पर्धामा नागरिकको अधिकार, सम्मान र सुरक्षालाई बेवास्ता गर्न थालेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबूकमार्फत गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै नेता महरले यस्तो घटना कुनै एक व्यक्तिको मात्रै दुःखद अन्त्य नभई राज्य सञ्चालनको शैलीप्रतिको गम्भीर चेतावनी भएको बताए।
दुईतिहाइको सरकार गठन हुँदा जनताले स्थायित्व, सुशासन र सहज सेवा प्रवाहको अपेक्षा गरेका भए पनि व्यवहारमा राज्यका विभिन्न संयन्त्रले कानूनको सन्तुलित कार्यान्वयन नगर्दा यस्तो भएको उनको भना छ ।
सरकारलाई खुसी पार्ने उद्देश्यले राज्यका विभिन्न संयन्त्रहरू आवश्यकताभन्दा बढी सक्रियता र कठोरता प्रदर्शन गर्नेतर्फ अग्रसर देखिएका उनले बताए ।
महरले पुनःस्थापनाको स्पष्ट योजना र पर्याप्त संवादविना सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यले नागरिकमा त्रासको वातावरण सिर्जना गरेको उल्लेख गर्दै यस्ता घटनाले जनविश्वास कमजोर बनाएको बताए ।
उनले गणेश नेपालीको आत्मदाहलाई पनि राज्यप्रतिको बढ्दो निराशा र असुरक्षाको संकेतका रूपमा व्याख्या गरेका छन् ।
उनले सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा विस्थापित नागरिकको सम्मानजनक व्यवस्थापनका लागि स्पष्ट नीति ल्याउन माग गरे।