
अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो र लेदो खसेर प्रभावित बनेको मुग्लिन–नारायणगढ सडकखण्डमा अवरोध हटाउने काम जारी रहेको छ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार साँझदेखि परेको लगातारको वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेको थियो। सडक अवरुद्ध हुँदा बीच बाटोमा रोकिएका यात्रु र सवारीसाधनलाई सोमबार राति अबेरसम्म पहिरो हटाएर गन्तव्यतर्फ पठाइएको थियो।
मंगलबार बिहान पनि जलवीरे नजिक पुनः पहिरो खसेपछि सडक खुलाउने प्रयास तीव्र पारिएको छ। अन्य स्थानमा खसेका पहिरो र लेदो हटाउन सम्बन्धित स्थानमा डोजर तथा अन्य हेभी मेसिन परिचालन गरिएको सडक डिभिजनले जनाएको छ।
निरन्तर वर्षा भइरहेकाले उक्त क्षेत्रमा थप पहिरो खस्ने जोखिम उच्च रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकले अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक कामबाहेक यस सडक हुँदै यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षाकर्मीको निर्देशनअनुसार यात्रा गर्न आग्रह गरेको छ। प्रशासनले मौसममा सुधार र पहिरो पूर्ण रूपमा हटेपछि सडक सञ्चालनबारे थप सूचना जारी गरिने जनाएको छ।