०४ साउन २०८३, सोमबार

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय खारेज

असार ३०, २०८३
काठमाडौं
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय खारेज

सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापन दिन रोक लगाउने सरकारको निर्णयलाई खारेज गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय बदर गर्ने गरी रिट निवेदकको पक्षमा उत्प्रेषण जारी गरेको हो ।

अदालतको यो आदेशसँगै निजी क्षेत्रका सञ्चार माध्यमहरूले सरकारी विज्ञापन तथा सूचनाहरू पाउने बाटो पुनः खुला भएको छ ।

यसअघि २०८२ साल चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णय गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सबै सार्वजनिक सूचना एवं विज्ञापनहरू सरकारी स्वामित्वका सञ्चार माध्यमहरूमा मात्र प्रकाशन तथा प्रसारण गर्ने परिपत्र जारी गरेको थियो ।

उक्त निर्णयअनुसार सरकारी विज्ञापन र सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन लगायतका सरकारी सञ्चार माध्यमहरूलाई मात्र दिने र निजी क्षेत्रका सञ्चार माध्यमहरूलाई निषेध गर्ने व्यवस्था गरिएको थियो ।

सरकारको यो कदमका कारण मुलुकभर सञ्चालित निजी क्षेत्रका रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सञ्चार माध्यमहरू सरकारी विज्ञापन प्राप्त गर्नबाट पूर्ण रूपमा वञ्चित भएका थिए ।

निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको कदम विभेदकारी र स्वतन्त्र प्रेसको भावना विपरीत भएको भन्दै नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकारप्राप्त निवेदक एवं अधिवक्ता अनन्तराज लुइँटेलले गत चैत २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राज्य कोषको रकम प्रयोग गरेर सञ्चार माध्यमहरूलाई बाँडिने विज्ञापनमा सरकारी र निजी भनी विभेद गर्न नहुने र सबै सञ्चार माध्यमले स्वस्थ प्रतिस्पर्धाका आधारमा विज्ञापन पाउनुपर्ने मागलाई अदालतले कानूनी रूपमै सदर गरिदिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्