
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकप शुरू हुनुअघि यसलाई 'मानव इतिहासकै सबैभन्दा ठुलो खेलकुद महोत्सव' हुने दाबी गरेका थिए। अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजित विश्वकपलाई उनले एकै महिनामा आयोजना हुने १०४ वटा 'सुपर बाउल'सँग तुलना गरेका थिए। प्रतियोगिता समाप्त भएसँगै यो दाबी कत्तिको व्यावहारिक बन्यो र यसले विश्व फुटबलमा कस्तो प्रभाव छाड्यो भन्नेबारे व्यापक समीक्षा शुरू भएको छ।
पहिलो पटक ४८ राष्ट्रको सहभागितामा आयोजित विश्वकपमा कुराकाओ, केप भर्डे, जोर्डन र उज्वेकिस्तानजस्ता देशले ऐतिहासिक डेब्यु गरे। टोलीहरूको सङ्ख्या बढाउँदा खेलको गुणस्तर घट्ने आशंका गरिए पनि समूह चरणमा केप भर्डेजस्ता साना राष्ट्रहरूले देखाएको उत्कृष्ट प्रदर्शनले प्रतियोगितामा छुट्टै उत्साह थप्यो।
अटलान्टा, डालस, ह्युस्टन र भ्यान्कुभरका एयर-कन्डिसन गरिएका रंगशालाहरूमा समेत अनिवार्य रूपमा लागू गरिएको तीन मिनेटको 'हाइड्रेसन ब्रेक' (पानी पिउने समय) व्यावसायिक रूपमा टेलिभिजन प्रसारणकर्ताहरूका लागि विज्ञापन बजाउने राम्रो माध्यम बन्यो। यद्यपि, महँगो टिकट मूल्य र व्यावसायिकताका कारण व्यापक आलोचना भए पनि दर्शकहरूको उपस्थितिमा भने यसले खासै असर पारेन।
राजनीतिक रूपमा पनि यो विश्वकप विवादमुक्त रहन सकेन। अमेरिकाको भिसा नीति, इरान टोलीको सहभागितामा लगाइएको कडाइ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि फ्लोरियन बालोगुनको रेड कार्ड निलम्बन फिर्ता हुनुजस्ता घटनाले खेलकुदमा राजनीतिक प्रभावको नयाँ बहस छेडेको छ। अर्कोतर्फ, फिफाका रेफ्री प्रमुख पिएरलुइगी कोलिनाले समय खेर फाल्ने प्रवृत्तिविरुद्ध चालेका कडा कदमहरू भने खेलको गति बढाउन सफल देखिए।
के ४८ टोलीको अवधारणा सफल भयो?
यदि खेलको कथा र विविधताको दृष्टिले हेर्ने हो भने समूह चरण निकै रोमाञ्चक रह्यो। एटलान्टिक महासागरको सानो टापु देश, जहाँको जनसङ्ख्या मात्र ५ लाख ३० हजार छ । केप भर्डेले विश्वकपमा ऐतिहासिक छाप छाड्यो।
उसले विश्वकपका दुवै फाइनल पुगेका टोली (स्पेन र अर्जेन्टिना) सँग ९० मिनेटको नियमित समयमा हार बेहोरेन। समूह चरणमा स्पेन र उरुग्वेजस्ता पूर्व विजेताहरूलाई बराबरीमा रोक्दै केप भर्डे नकआउट चरणमा पुगेको थियो, जहाँ उसले अर्जेन्टिनालाई एक्स्ट्रा टाइमसम्म ३-२ को कडा टक्कर दियो। ४० वर्षीय गोलकिपर भोजिन्हा प्रेरणादायी प्रदर्शन ४८ टोलीको विस्तारबिना सम्भव हुने थिएन।

यस्तै, जर्मनीसँग ७-१ को पराजय भोगे पनि कुराकाओले इक्वेडरसँग बराबरी खेल्दै अंक खोस्न सफल भयो भने डिआर कङ्गोले पोर्चुगलसँग बराबरी खेल्दै समूह चरण पार गर्यो।
तर, १२ समूहमा विभाजित ७२ वटा समूह चरणका म्याचहरूबाट मात्र १६ टोली बाहिरिने ढाँचाले केही खेलहरू निरस पनि बनाए। फिफाले गोल अन्तरको सट्टा 'हेड-टु-हेड' लाई प्राथमिकता दिने नियम र आठ वटा उत्कृष्ट तेस्रो स्थानका टोली अगाडि बढ्ने प्रावधानका कारण अस्ट्रेलिया-प्याराग्वे र अस्ट्रिया-अल्जेरियाबिचका खेलहरू दुवै टोलीलाई फाइदा हुने गरी बराबरीमा सकिएका थिए।
फिफाको नयाँ सिडिङ नियम र फाइनलको समीकरण
विश्वकपको इतिहासमा पहिलो पटक फिफाले नयाँ सिडिङ नीति लागू गर्यो, जसको मुख्य उद्देश्य शीर्ष वरीयताका चार टोली (अर्जेन्टिना, इङ्गल्याण्ड, फ्रान्स र स्पेन) लाई सेमिफाइनलअघि आपसमा भिड्नबाट रोक्नु थियो।
यति मात्र होइन, टेनिसको 'ड्र' प्रणाली जस्तै वरीयताको पहिलो र दोस्रो स्थानमा रहेका अर्जेन्टिना र स्पेन फाइनलअघि भेट नहुने गरी ढाँचा तयार पारिएको थियो। यसका लागि फिफाले अर्जेन्टिनालाई समूह 'जे' मा र फ्रान्सलाई समूह 'आई' मा साटेको थियो। यदि यो परिवर्तन नगरिएको भए इङ्गल्याण्डले सेमिफाइनलमा फ्रान्सको सामना गर्नुपर्ने थियो भने अर्जेन्टिना र स्पेन सेमिफाइनलमै भिड्ने थिए, जसले गर्दा अर्जेन्टिना र स्पेनबिचको ऐतिहासिक फाइनल सम्भव हुने थिएन।

हाइड्रेसन ब्रेक: खेलाडीको भलाइ कि व्यापारिक लाभ?
फिफाले खेलाडीहरूको स्वास्थ्य र सुरक्षाका लागि भन्दै हरेक खेलमा अनिवार्य 'हाइड्रेसन ब्रेक' लागू गरेको थियो। तर, अमेरिकाका ठुला टेलिभिजन नेटवर्कहरूका लागि यो विज्ञापन छाप्ने गतिलो माध्यम बन्यो। रेफ्रीले सिट्ठी बजाएको २० सेकेन्डपछि शुरू हुने र खेल पुनः शुरू हुनुभन्दा ३० सेकेन्डअघि सकिने यी ब्रेकहरूमा महँगा विज्ञापनहरू बजाइयो।
अमेरिकामा फक्स स्पोर्ट्समा ३० सेकेन्डको विज्ञापनको मूल्य २ लाखदेखि ३ लाख डलरसम्म परेको थियो भने अमेरिकी टोलीका खेल र फाइनल चरणमा यो मूल्य बढेर ७ लाख ५० हजार डलरसम्म पुगेको थियो। रङ्गशालामा उपस्थित दर्शकहरूले लगातारको अवरोधप्रति हुटिङ गरे पनि प्रशिक्षकहरूका लागि भने यी ब्रेकहरू 'ट्याक्टिकल टाइमआउट' साबित भए, जसले धेरै खेलको नतिजा नै मोडिदियो।
समय बचत र नियममा कडाइ
रेफ्री प्रमुख पिएरलुइगी कोलिनाले मैदानमा समय खेर फाल्ने र चोटको नाटक गर्ने प्रवृत्तिविरुद्ध कडा नीति अपनाएका थिए। सन् २०२२ को कतार विश्वकपमा थपिएको अतिरिक्त समयका कारण औसत खेल अवधि १०१ मिनेट २२ सेकेन्ड पुगेको थियो भने बल खेलमा रहने समय ५८ मिनेट ३ सेकेन्ड थियो।
यसपटक भने हाइड्रेसन ब्रेकको समय हटाउँदा औसत खेल अवधि ९६ मिनेट २४ सेकेन्ड रह्यो भने बल खेलमा रहने समय ५८ मिनेट १५ सेकेन्ड पुग्यो। अर्थात्, कम समयमै बढी फुटबल खेलियो। सन् २०२२ मा कुल समयको ५७.४ प्रतिशत मात्र खेल भएकोमा यसपटक त्यो बढेर ६०.४ प्रतिशत पुग्यो, जसले खेलको प्रवाहलाई अझ रोचक बनायो।
दर्शकको उपस्थिति र विवादहरू
अत्यधिक महँगो टिकटका कारण रंगशालाका सिटहरू खाली हुने आशंका गरिए पनि फिफाका अनुसार क्वार्टरफाइनलसम्म ९९.७ प्रतिशत सिटहरू भरिएका थिए र कुल ६५ लाख २७ हजार ४ १० जना दर्शकले मैदानमै पुगेर खेल हेरे।
यद्यपि, टिकटको मूल्य निर्धारण र सिटको आधिकारिकताबारे विवाद उत्पन्न भएपछि न्यूयोर्क र न्यू जर्सीका एटर्नी जनरलले फिफामाथि अनुसन्धान शुरू गरेका थिए। साथै, शुरूमा दर्शकहरूलाई पानीको बोतल लैजान प्रतिबन्ध लगाउनु र न्यू जर्सी तथा बोस्टनमा यातायातको चर्को शुल्क असुलिनुजस्ता विषयमा फिफाले व्यापक जनआक्रोशको सामना गर्नुपर्यो।
खेलकुदमा राजनीतिक छाया
अमेरिकी भिसा नीतिका कारण केही देशका समर्थकहरू प्रवेश पाउनबाट बञ्चित भए। प्रतियोगिता शुरू हुनुअघि नै सोमाली रेफ्री ओमार आर्टानलाई मियामी विमानस्थलबाटै फर्काइएपछि ठुलो विवाद सिर्जना भएको थियो।
यसैगरी, इरानको टोलीलाई अमेरिकाले खेलको २४ घण्टाअघि र पछि मात्र बस्ने अनुमति दिएको थियो। इरान बाहिरिएपछि अमेरिकी गृह सुरक्षा प्रमुख मार्कवेन मुलिनले सार्वजनिक रूपमै खुसी व्यक्त गरेका थिए।
सबैभन्दा ठुलो राजनीतिक विवाद तब उत्पन्न भयो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेर अमेरिकी खेलाडी फ्लोरियन बालोगुनको रातो कार्ड (निलम्बन) हटाउन दबाब दिए। फिफाको अनुशासन समितिले बालोगुनको निलम्बनलाई १२ महिनाका लागि स्थगित गरिदियो, जसका कारण उनले बेल्जियमविरुद्धको नकआउट खेल खेल्न पाए। यद्यपि, बेल्जियमले अमेरिकालाई ४–१ ले पराजित गर्दै बाहिराइदियो।
भीएआरको प्रयोग
प्रतियोगिताभर भीएआरका ३७ वटा निर्णयहरू भए (प्रति खेल ०.३६), जुन कतार विश्वकप (०.३७) सरह नै थियो। अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि इजिप्टले भीएआर निर्णयविरुद्ध आधिकारिक छानबिनको माग गरेको थियो। तर, प्रिमियर लिग वा अन्य घरेलु लिगको तुलनामा यस विश्वकपमा भीएआरका निर्णयहरू निकै द्रुत गतिमा लिइएकाले खेलको गतिमा खासै बाधा पुगेन।

विश्वकप २०२६ का उत्कृष्ट र स्मरणीय क्षणहरू
सर्वोत्कृष्ट गोल:
जुलाई ३ मा मियामीमा भएको राउन्ड अफ ३२ को खेलमा ६७औँ वरीयताको केप भर्डेका सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्ध गरेको बराबरी गोल। १०३औँ मिनेटमा यानिक सेमेदोको लामो पासलाई नियन्त्रणमा लिँदै काब्रालले एलेक्सिस म्याक एलिस्टारलाई छलेर गोलकिपर एमिलियानो मार्टिनेजलाई माथ दिँदै उत्कृष्ट गोल गरेका थिए।
ठुलो उलटफेर:
सन् २०१४ को विजेता जर्मनी समूह चरणमा इक्वेडरसँग पराजित भयो भने राउन्ड अफ ३२ मा ४१औँ वरीयताको प्याराग्वेसँग टाइब्रेकरमा ४–३ ले स्तब्ध बन्दै बाहिरियो। प्याराग्वेका गोलकिपर ओर्लान्डो गिलले काई हाभर्ट्ज र निक भोल्टेमाडेको पेनाल्टी रोकेका थिए।
उदीयमान खेलाडी :
स्पेनका १९ वर्षीय डिफेन्डर पाउ क्युबार्सी। उनले टोलीको जितमा हरेक म्याचको पूरै समय खेले। उनले ६९० पास प्रयासमा ६६८ सफल पास (९६.८%) दिए। उनी विश्वकप जित्ने इतिहासकै सातौँ कान्छा खेलाडी बने।
सर्वोत्कृष्ट बचाउ:
केप भर्डेका ४० वर्षीय गोलकिपर भोजिन्हाले ७३औँ मिनेटमा लियोनेल मेसीको उत्कृष्ट फ्रिकिकलाई देब्रेतिर डाइभ हान्दै उत्कृष्ट ढङ्गले पन्च गरेर बचाएका थिए।
ठुलो भुल :
बेल्जियमसँग ४–१ ले पराजित हुने क्रममा अमेरिकी गोलकिपर म्याट फ्रिजले डिफेन्स लाइनभन्दा बाहिर निस्किएर बल क्लियर गर्न खोज्दा गम्भीर गल्ती गरे, जसको फाइदा उठाउँदै बेल्जियमका हान्स भानाकेनले ३० यार्ड टाढाबाट खाली पोस्टमा गोल गरे।
खराब फउल:
कतारका मिडफिल्डर असिम मादिबोले क्यानडाका इस्माएल कोनेमाथि पछाडिबाट गरेको खराब ट्याकलका कारण कोनेको खुट्टाको हड्डी भाँचियो। मादिबोले रातो कार्ड पाउँदै ५ खेलको प्रतिबन्ध भोगे।
उत्कृष्ट समर्थक:
नर्वेका समर्थकहरूले टाइम स्क्वायर र रङ्गशालाहरूमा प्रदर्शन गरेको 'भाइकिङ रो' र स्कटल्याण्डको 'टार्टन आर्मी' ले बोस्टनमा देखाएको उत्साहजनक उपस्थिति प्रतियोगिताको मुख्य आकर्षण बन्यो। एज्नसीहरूको सहयोगमा
तस्वीरहरू : एपी/एएफपी