
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता भएकोमा ७७ फछ्र्योट भएका छन् ।
अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा भएका अपराध दर्ताका मुद्दामध्ये सबैभन्दा बढी अभद्र व्यहार सम्बन्धी रहेकोमा सो मुद्दा शतप्रतिशत फछ्र्योट भएको छ । त्यस्तै लागुऔषधसम्बन्धी २५ मुद्दा सबै फछ्र्योट भएका छन् ।
असार महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ विभिन्न ४३ उजुरी परेकोमा ३५ फछ्र्योट भएको सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यस अवधिमा घरेलु हिंसातर्फ ३६ उजुरी परेकोमा १९ मिलापत्र गराइएको भने तीन अदालत पठाइएको छ । असार महिनामा हराएका १७ महिलामध्ये १३ फेला परेका छन् भने छ पुरुष मध्ये तीन फेला परेका छन् । त्यस्तै १५ बालबालिका हराएकोमा १४ जना भेटिएका छन् ।
कार्यालयमा आएका १४६ ठाडो उजुरीमध्ये १४० फछ्र्योट भएको र जिल्ला प्रशासन कार्यालयबाट आएका १६ उजुरीमध्ये ११ फछ्र्योट भएको प्रहरीले जनाएको छ ।