
फिफा विश्वकप २०२६ को समापनसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आर्थिक सफलताको नयाँ इतिहास रचेको छ ।
चर्को टिकट मूल्य र अमेरिकाको यात्रा प्रतिबन्धका कारण प्रतियोगिता फिक्का हुने आशंकाबीच सम्पन्न यो विश्वकप फिफाको इतिहासमै सबैभन्दा बढी कमाइ गर्ने प्रतियोगिता बनेको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार सन् २०२३–२०२६ को व्यावसायिक सत्रमा फिफाको कुल आम्दानी १५ अर्ब अमेरिकी डलर नाघेको छ ।
गत वर्ष फिफाले सन् २०२६ को लागि ८.९ अर्ब डलर आम्दानीको प्रक्षेपण गरेको थियो । पछि अप्रिलमा आएर विश्वकपले मात्र ११ अर्ब डलर कमाउने अनुमान गरिएको थियो ।
तर, वास्तविक नतिजा त्योभन्दा निकै माथि पुगेको फिफाले जनाएको छ । यो आर्थिक सफलताको पछाडि मुख्य कारण प्रतियोगिताको विस्तार नै हो ।
विश्वकपको यो संस्करणमा ३२ को सट्टा ४८ टोली सहभागी गराइएको थियो, जसले खेल संख्या ६४ बाट बढाएर १०४ पुर्यायो ।
फिफाले जनाएअनुसार विश्वका २११ देशका समर्थकहरूबाट ५० करोडभन्दा बढी टिकटको माग आएको थियो ।
फुटबल एनालिटिक्स फर्म ‘फुटबल बेन्चमार्क’का अनुसार, समूह चरणका खेलहरूमा स्टेडियमको उपयोगिता ९९ प्रतिशत रहेको थियो ।
यसपटक विश्वकपका टिकट मूल्यले पनि पुराना सबै कीर्तिमान तोडेका थियो । सन् २०२२ को कतार विश्वकपमा समूह चरणको टिकट अधिकतम २२० डलरसम्म थियो ।
यसपटक सोही चरणको टिकट ५७५ डलरसम्ममा बिक्री भयो । फिफाले पहिलोपटक मागअनुसार मूल्य बढ्ने प्रणाली लागू गर्दा समूह चरणको खेलको टिकट मूल्य १ हजार डलरभन्दा माथि पुगेको थियो ।
त्यसो त, फाइनल खेलको औसत टिकट मूल्य १२ हजार ७ सय ५१ डलर पुगेको थियो भने विशेष टिकटको मूल्य २३ लाख डलरसम्म राखिएको थियो ।
टिकटको यो मूल्यवृद्धिले फिफा आलोचनाको घेरामा समेत परेको थियो । अमेरिकी सांसदहरूले फिफाले समर्थकहरूको पहुँचलाई भन्दा पनि आम्दानीलाई प्राथमिकता दिएको आरोप लगाएका थिए ।
आर्थिक रूपमा मात्र नभई दर्शकको उपस्थितिका कारण पनि यो विश्वकप निकै सफल रहेको दाबी फिफाले गरेको छ ।
अमेरिकाको अन्तिम–३२ चरणको खेलमा २ करोड ४० लाख दर्शकले टेलिभिजनमार्फत खेल हेरेको बताइएको छ ।
अमेरिकी टेलिभिजन इतिहासमै यो सर्वाधिक हेरिएको अंग्रेजी भाषाको फुटबल प्रसारण बन्न पुगेको छ । यसैगरी, मेक्सिको र इङ्ल्यान्डबीचको खेलले स्पेनिस भाषाको प्रसारणमा पनि नयाँ कीर्तिमान बनायो ।
यो विश्वकपको अभूतपूर्व सफलतापछि फिफाले अब विश्वकपलाई थप विस्तार गर्ने योजना पनि बनाइरहेको छ ।
अध्यक्ष इन्फान्टिनोले सहभागी टोलीको संख्या ४८ बाट ६४ पुर्याउनेबारे छलफल भइरहेको संकेत गरेका छन् । यदि, यस्तो भयो भने खेल संख्या १२८ सम्म पुग्न सक्छ ।
फोर्डहम विश्वविद्यालयका प्राध्यापक मार्क कोनराडका अनुसार टोली र खेल संख्या बढ्दा फिफाको टेलिभिजन सम्झौता र विज्ञापनबाट हुने आम्दानी पनि थप बढ्ने निश्चित छ ।
यद्यपि, फिफाको यो आर्थिक सफलताले आगामी दिनमा टिकटको मूल्य घटाउने कुनै संकेत भने देखिएको छैन ।
विश्लेषकहरूका अनुसार आगामी विश्वकपमा पनि फिफाले यही व्यावसायिक रणनीतिलाई निरन्तरता दिने सम्भावना बलियो देखिन्छ।