
‘गिर्मिटिया’ भन्नाले ती श्रमिकहरूलाई जनाइन्छ, जसलाई सन् १८३० देखि १९१७ सम्म ब्रिटिश साम्राज्यले अनुबन्ध प्रणाली अन्तर्गत भारतबाट विभिन्न उपनिवेशमा खेतीपाती तथा शारीरिक श्रमको लागि लान थाले ।
उपनिवेशकालीन विश्व इतिहासमा मानव श्रमको संगठित शोषणका अनेक स्वरूपमध्ये ‘गिर्मिटिया’ प्रणाली एक महत्त्वपूर्ण अध्याय हो ।
यी श्रमिकहरू विशेष गरी गरिब, अशिक्षित र दलित तथा पिछडिएको वर्गका थिए । उनीहरूलाई ‘गिर्मिट’ अर्थात् ‘एग्रिमेन्ट’मा हस्ताक्षर गरेर काम गर्न बाध्य बनाइन्थ्यो । गिर्मिटिया’ शब्द अंग्रेजी शब्द Agreement (सम्झौता)को अपभ्रंश हो । श्रमिकहरूले काम गर्नुअघि हस्ताक्षर वा औँठाछाप लगाउने सम्झौतापत्रलाई स्थानीय उच्चारणमा ‘गिर्मिट’ भनिन थाल्यो र त्यसैबाट श्रमिकहरू ‘गिर्मिटिया’ भनेर चिनिए । अधिकांश श्रमिक अशिक्षित भएकाले उनीहरूले हस्ताक्षर गरेको कागजातको वास्तविक अर्थ बुझ्दैनथे । यही कारण उनीहरू सम्झौताभन्दा बढी शोषणको चक्रमा फस्ने गर्थे ।
ऐतिहासिक पृष्ठभूमि
ब्रिटिश साम्राज्यले १८३३ मा दास प्रथा अन्त्य गरेपछि उनीहरूका विभिन्न उपनिवेश – विशेष गरी क्यारेबियन, अफ्रिका र प्रशान्त क्षेत्रका देशमा श्रमिक अभाव देखा पर्यो । त्यसपछि सस्तो श्रमको खोजीमा ब्रिटिशले भारतलाई रोजे । सन् १८३४ देखि ब्रिटिशहरूले भारतबाट श्रमिक लान थाले । भारतबाट गिर्मिटिया श्रमिकहरू फिजी, मौरिसस, गयाना, त्रिनिदाद, जमैका, दक्षिण अफ्रिका, मलेसिया, सुरीनाम, केन्या, युगान्डा, टाङ्गानिका आदि देशहरूमा लगिन्थ्यो ।
यसै क्रममा ब्रिटिश शासकले भारतबाट श्रमिकलाई ‘गिर्मिट’ प्रणाली अन्तर्गत ५ वर्षे वा १० वर्षे सम्झौतामा पठाउन थाले । शुरूमा यो ‘स्वेच्छाले जाने’ प्रणाली थियो, तर पछि अधिकांश अवस्थामा यो जबर्जस्ती, छलकपट र अत्यधिक शोषणमा आधारित भयो । श्रमिकलाई ठूलो जहाजमा चढाइन्थ्यो । एक पटकमा सयौं श्रमिकलाई एउटै जहाजमा लैजाने गरिन्थ्यो ।
कलकत्ता वा मद्रासबाट यात्रा शुरू भई प्रायः अफ्रिका, प्रशान्त या क्यारेबियन देश पुग्न ३० दिनदेखि १२५ दिनसम्म लाग्दथ्यो । जहाज अत्यधिक भरिएको हुन्थ्यो, हावा नचल्ने, स्वास्थ्य समस्या फैलिने स्थिति हुन्थ्यो । खाना सामान्य हुन्थ्यो, पानी कम हुन्थ्यो, कहिलेकाहीँ वर्षाको पानी पिउन बाध्य हुन्थे । हैजा, झाडा, टाइफाइड, स्कर्वी जस्ता रोग लाग्थे । कैयौं मानिस बीचमा नै मर्थे । परिवार छुट्नु, मातृभूमि छोड्नुको पीडा, अनिश्चित भविष्यको डरले मानिसहरू मानसिक रूपमा कमजोर हुन्थे ।
गिर्मिटिया प्रणालीको प्रक्रिया
क) भर्ती प्रक्रिया:
ब्रिटिश एजेन्टहरू ग्रामीण भारतका गरिब जनतालाई विभिन्न मीठा कुरा देखाएर भर्ती गर्थे । अधिकांशले शहर, देशको नाम, यात्रा दूरी, कामको प्रकृति, बासस्थान, तलब आदि बारे थाहा पाउँदैनथे । तीमध्ये धेरैजसो पढ्न लेख्न नसक्ने, गरिब र बेरोजगार थिए ।
ख) कलकत्ता र मद्रास बन्दरगाह
उत्तर भारतका गिर्मिटिया श्रमिकलाई कलकत्ता बन्दरगाहमा ल्याइन्थ्यो भने दक्षिण भारतबाट मद्रास बन्दरगाह प्रयोग हुन्थ्यो । यहाँ उनीहरूलाई ‘डिपो’मा राखी स्वास्थ्य परीक्षण, नाम दर्ता, कागजातमा औंठा छाप लिने कार्य हुन्थ्यो ।
ग) अनुबन्ध (गिर्मिट)
श्रमिकहरूलाई ५ वर्ष वा १० वर्षका लागि काम गर्नुपर्ने कागजातमा हस्ताक्षर गराइन्थ्यो । यी कागजात अंग्रेजीमा हुन्थे र अधिकांश श्रमिकहरूले त्यसको अर्थ नै नबुझी औंठा छाप लगाउने गर्थे । त्यसैले पछि गएर ठगिएको महसुस हुन्थ्यो ।
मुख्य गन्तव्य राष्ट्रहरू
भारतबाट गिर्मिटिया श्रमिकलाई मौरिसस, गुयाना, ट्रिनिडाड एन्ड टोब्यागो, फिजी, सुरिनाम, जमैका, दक्षिण अफ्रिका, मलेसिया, म्यानमार र अन्य अफ्रिकी देशमा पनि लाखौं संख्यामा श्रमिक पुर्याइए ।
गिर्मिटिया श्रमिकहरूको अवस्था अत्यन्त दुःखदायी थियो । ती श्रमिकहरूलाई ‘कुल्ली’ भनेर हेपिएको थियो । उनीहरूलाई अत्यन्त न्यून पारिश्रमिक, लामो कार्य समय, कठोर नियम, फौजी अनुशासन, अस्वस्थ वातावरण, अपमान र शोषणको सामना गर्नुपर्थ्यो ।
गिर्मिटिया श्रमिकहरूले प्रायः ईख (गन्ना), चिया, कफी, कपास, रबर आदि बगानहरूमा कार्य गर्थे । बिहान ५ बजे उठ्ने, दिनभर घाममा काम गर्ने, तलब अत्यन्त न्यून हुन्थ्यो । स्वदेश फर्कन पनि सजिलो थिएन । धेरैले ‘गिर्मिट’ पूरा गरे पनि घर फर्कने खर्च नभएकाले त्यहीँ बस्न बाध्य भए ।
केहीले स्थानीय महिलासँग विवाह गरे, केहीले आफ्नै समाज निर्माण गरे । ५ वा १० वर्षको कामपछि श्रमिकलाई विकल्प दिइन्थ्यो– भारत फर्किने कि त्यहीँ बस्ने । धेरैलाई फर्कने खर्च थिएन, कतिपय फर्किन चाहँदैनथे, त्यसैले स्थायी रूपमा त्यहीँ बस्न थाले । त्यसैले आज ती देशहरूमा भारतीय मूलका नागरिकहरूको ठूलो संख्या पाइन्छ ।
संस्कृति र पहिचान
गिर्मिटिया श्रमिकहरूले आफ्नो भाषा, धर्म, भोजन, चाडपर्व, रीतिरिवाज नयाँ भूमिमा बोक्दै गए । यही कारण आज पनि मौरिसस, फिजी, गुयाना, ट्रिनिडाड, सुरिनाम आदिमा हिन्दू धर्म, भोजपुरी भाषा, रामायण, होली, दिवालीजस्ता चाडपर्वको प्रभाव देखिन्छ ।
उदाहरणका लागि, फिजी हिन्दी भन्ने छुट्टै हिन्दी भाषाको विकास भयो । यिनीहरूले भारतीय सभ्यतालाई जोगाएर राखे । कतिपय देशमा गिर्मिटिया सन्तान अहिले राष्ट्रपतिको पदमा समेत पुगेका छन् । जस्तै; महेन्द्र चौधरी फिजीका भारतीय मूलका पहिलो प्रधानमन्त्री हुन् । उनी १९९९ मा फिजी श्रमिक पार्टीको नेतृत्वमा प्रधानमन्त्री बनेका थिए ।
उनको सरकारलाई २००० को सैन्य कूको क्रममा अपहृत गरियो र लगभग दुई महिनापछि रिहा गरियो । उनको पितृ पक्ष भारतको हरियाणा राज्यको बहु जमालपुर गाउँबाट आएका थिए ।
भारतसँगको कुटुम्बीय सम्बन्ध
महेन्द्र चौधरीका पिताका दाजु रामनाथ चौधरी भारतको हरियाणा राज्यको बहु जमालपुर गाउँका निवासी थिए । उनी १९०२ मा फिजी आएका थिए र चिनीका बगैचामा श्रमिकको रूपमा काम गरेका थिए । यसरी, चौधरी परिवारको भारतसँग गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ ।
चौधरीले १९८५ मा फिजी श्रमिक पार्टीको स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको नेतृत्वमा, पार्टीले १९९९ को चुनावमा ऐतिहासिक विजय प्राप्त गर्यो । तर, २००० को सैन्य कूको कारण उनको सरकार अपहृत भयो र लगभग दुई महिनापछि रिहा गरियो ।
उनको पितृ पक्षको भारतसँगको सम्बन्धले उनलाई भारतीय मूलका फिजियनको अधिकार र समृद्धिका लागि संघर्ष गर्न प्रेरित गरेको छ ।
फिजीमा २०२४ को आम निर्वाचनमा नवीन रामगूलाम नेतृत्वको गठबन्धनले सबै संसदीय सिटहरूमा विजय प्राप्त गरी ऐतिहासिक ६०–० परिमार्जित जितेर सरकार बनाएको थियो । नवीन रामगूलाम भारतीय मूलका हुन् । उनका पिताजी, सिर शिवसागर रामगूलाम मौरिससका पहिलो प्रधानमन्त्री र ‘राष्ट्रपिता’ मानिन्छन् । उनका पुर्खाहरू १९ औं शताब्दीको अन्त्यतिर ब्रिटिश इन्डेन्टेड लेबर (गिर्मिटिया)को रूपमा भारतबाट मौरिसस आएका थिए ।
उनका पितृहरू भारतको उत्तर प्रदेश, विशेषतः बस्ती वा त्यस वरपरका क्षेत्रबाट आएका थिए भन्ने व्यापक विश्वास छ । गिर्मिटिया प्रणाली अन्तर्गत १८३४ देखि १९२० सम्म भारतबाट करिब ४.५ लाख मानिस मौरिसस लगेका थिए । उनीहरूमध्ये धेरैजसो बिहार र पूर्वी उत्तर प्रदेश (भोजपुर, गोरखपुर, फैजाबाद, बलिया, आजमगढ़ आदि) बाट आएका थिए ।
कमला पर्साद-बिस्सेसर ट्रिनिडाड र टोबागोकी पहिलो महिला प्रधानमन्त्री हुन् । उनी भारतीय मूलका प्रवासी परिवारबाट आएका हुन्, जसले उनको पहिचान र सांस्कृतिक पृष्ठभूमिमा गहिरो प्रभाव पारेको छ ।
उनका पूर्वजहरू १९औं शताब्दीको अन्त्यतिर भारतबाट ट्रिनिडाड र टोबागोमा श्रमिक (इन्डियन इन्डेन्टेड लेबर)को रूपमा गएका थिए । त्यो समय ब्रिटिश उपनिवेशहरूले क्यारेबियनका ठाउँमा चिनी खेती र अन्य कृषि कार्यको लागि ठूलो मात्रामा श्रमिक आवश्यक थियो । भारतबाट धेरै मानिस आर्थिक समस्या र सामाजिक कठिनाइबाट बच्नका लागि ‘ग्रिमिटी’ प्रणालीमार्फत ट्रिनिडाड आएका थिए ।
कमलाको परिवार मूलतः उत्तर भारतको एउटा ग्रामीण क्षेत्रबाट आएका हुन् । उनका पुर्खाहरूले भारतीय सांस्कृतिक र धार्मिक परम्परालाई ट्रिनिडाडमा कायम राखेका छन् । यसले उनको राजनीतिक जीवनमा पनि बहुसांस्कृतिक समाज, धार्मिक सहिष्णुता र सामाजिक न्यायमा उनको गहिरो प्रतिबद्धता देखाउँछ ।
कमला पर्साद-बिस्सेसरको पितृ परिवार सामान्यतया हिन्दू ब्राह्मण जातिको हो र उनीहरू भारतीय परम्परागत मूल्यलाई सधैं सम्मान गर्दै आएका छन् । उनीहरूले ट्रिनिडाडमा भारतीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमा सक्रिय भूमिका निभाएका छन् ।
उनको शिक्षामा पनि भारतीय र पश्चिमी परम्पराको समिश्रण रहेको छ, जसले उनलाई बहुजातीय र बहुधार्मिक ट्रिनिडाड र टोबागोमा सबै वर्गका मानिसहरूलाई समेट्ने नेतृत्वकर्ता बनाएको छ ।
सामाजिक र राजनीतिक असर
गिर्मिटिया इतिहास केवल श्रमको कथा होइन; यो उपनिवेशवाद, जातियता, मानव शोषण र प्रवासको जटिल कथा हो । भारतको स्वतन्त्रता आन्दोलनसँगै यो प्रणालीको विरोध बढ्दै गयो । राष्ट्रवादी नेताहरू; विशेष गरी महात्मा गान्धीले दक्षिण अफ्रिकाबाट फर्केर गिर्मिटिया प्रथाको विरोध गरे । सन् १९१७ मा अन्ततः भारतबाट गिर्मिटिया पठाउने प्रणाली बन्द गरियो ।

महात्मा गान्धीले सन् १८९३ देखि १९१५ सम्म दक्षिण अफ्रिकामा भारतीय गिर्मिटिया श्रमिकहरूको अधिकारका लागि संघर्ष गरे । उनले ‘सत्याग्रह’को अवधारणा पहिलोपटक त्यहीँ अभ्यास गरे । यो नै भारतीय स्वतन्त्रता आन्दोलनको आधार बन्यो ।
उनको प्रभावमा सन् १९१७ मा भारत सरकारले गिर्मिटिया भर्ती प्रणाली पूर्ण रूपमा बन्द गर्यो । यसलाई ‘Indenture System Abolition’ भनिन्छ ।
आज विश्वका विभिन्न देशहरूमा लाखौं गिर्मिटिया वंशजहरू छन् । उनीहरू आफ्नो पहिचान जोगाउँदै, आफ्नो संस्कृति र भाषा बोक्दै, आफ्ना मूल देश भारतप्रति सम्मान राख्दै अगाडि बढिरहेका छन् । धेरै देशहरूले गिर्मिटिया दिवस मनाउँछन् । जस्तै; फिजीमा १४ मे, मौरिससमा २ नोभेम्बर, ट्रिनिडाडमा ३० मे ।
भारत सरकारले पनि हाल गिर्मिटिया राष्ट्रहरूलाई ‘प्रवासी भारतीय’को रूपमा मान्यता दिएको छ र Overseas Indian Affairs Ministry मार्फत उनीहरूका हकहितको संरक्षण गर्ने प्रयत्न गर्छ ।
गिर्मिटिया इतिहास उपनिवेशवाद अन्तर्गत भएको मानव शोषणको एउटा ऐतिहासिक दस्तावेज हो । यो इतिहासले देखाउँछ कि कसरी ब्रिटिश साम्राज्यले आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले भारतलाई प्रयोग गर्यो । तथापि, यही इतिहासले हामीलाई प्रवासी भारतीयहरूको संघर्ष, आत्मबल, र सांस्कृतिक जगेर्नाको प्रेरणादायी कथा पनि दिन्छ ।
आजको सन्दर्भमा गिर्मिटिया इतिहास केवल पीडाको कथा होइन; यो अस्तित्व, पहिचान र प्रतिरोधको एक प्रतिमूर्ति हो ।
कति संख्यामा नेपाली गएका थिए ?
यकिन संख्या उपलब्ध नभए पनि अनुसन्धानकर्ताहरूको अनुमान अनुसार; मौरिसस, फिजी, र अफ्रिका पठाइएका भारतीय श्रमिकहरूको करिब १५–२० प्रतिशत जति नेपाली मूलका थिए । उदाहरणस्वरूप:
o फिजी: ५६,००० श्रमिकहरूमध्ये अनुमानित ८,०००–१०,००० नेपाली मूलका
o मौरिसस: ४,५१,८०० मा करिब ५०,०००–७०,००० जना नेपाली मूलका
o त्रिनिडाड, गयाना आदिमा पनि सयौंको संख्यामा थिए
सांस्कृतिक पहिचान
नेपाली गिर्मिटिया श्रमिकहरूले नयाँ भूमिमा नेपाली भाषा (खासगरी भोजपुरे, मैथिली, पहाडी), धर्म (हिन्दू, बौद्ध), रीतिरिवाज जोगाएर राखे ।
फिजी र मौरिससमा आज पनि नेपाली मूलका सन्तानहरूले नेपाल दिवस, दशैं–तिहार, माघे संक्रान्ति मनाउने गर्छन् ।
स्रोत अभावको कारण चुनौती
• धेरै नेपालीहरू ‘इन्डेन्चर्ड इन्डियन’ नाममा समावेश भएका थिए, त्यसैले पृथक तथ्यांक कमै छन् ।
• भारत सरकार वा ब्रिटिश रेकर्डहरूमा उनीहरूलाई नेपाली होइन, ‘भारतीय’ श्रमिक भनेर लेखिएको पाइन्छ ।
नेपाली गिर्मिटिया श्रमिक गिर्मिट प्रथाको एउटा महत्त्वपूर्ण तर ओझेल परेको अध्याय हुन् । उनीहरू नेपालको सीमावर्ती क्षेत्रबाट भारत हुँदै ब्रिटिश उपनिवेशमा पुर्याइएका थिए । यिनीहरूको योगदान, पीडा, संघर्ष र पहिचानलाई उजागर गर्न अझ अध्ययन र ऐतिहासिक खोज आवश्यक छ ।
[घिमिरे काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छन् ।]