०४ साउन २०८३, सोमबार

हङकङलाई नजिते प्लेअफअगावै 'डिभिजन टू'मा झर्ने खतरामा नेपाल

फागुन २७, २०७४
हङकङलाई नजिते प्लेअफअगावै 'डिभिजन टू'मा झर्ने खतरामा नेपाल

काठमाडौं, २७ फागुन-आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत तेस्रो खेलमा पनि पराजित भएपछि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । सम्भावना अब अंक गणितमा मात्र सीमित छ ।

अझै ठूलो खतरा त के देखिएको छ भने समूहको अन्तिम खेलमा हङकङलाई पराजित गर्न नसके नेपाल प्लेअफअगावै 'डिभिजन टू'मा घटुवा हुने खतरा छ । प्लेअफमा दुवै खेल जित्दै सातौं भएको अवस्थामा पनि रेलिगेट हुनबाट नबच्ने सम्भावना छ ।

सातौं हुँदा पनि रेलिगेट !

आईसीसीले स्पष्ट भनेको छ, नेदरल्याण्ड्सबाहेक अन्तिम दुई एसोसिएट टोली डिभिजन टूमा घटुवा हुनेछन् । यसअघि नेपाललेसमेत खेलेको आईसीसी लिग च्याम्पियन्सिप जित्दै नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेकाले ऊ अब ४ वर्षका लागि रेलिगेट हुनेछैन ।

प्रतियोगितामा नेदरल्याण्डसहित ६ एसोसिएट टोली सहभागी छन् । नेदरल्याण्ड्सलाई छाड्ने हो भने नेपाल, स्कटल्याण्ड, युएई, हङकङ र पपुवान्युगिनीमध्ये ३ टोलीले एकदिवसीय मान्यता पाउनेछन्, बाँकी २ डिभिजन टूमा घटुवा हुनेछन् । सोझो अर्थमा भन्दा एकदिवसीय मान्यता नपाउनु नै डिभिजन टूमा घटुवा हुनु हो ।

नेदरल्याण्ड्सबाहेकका ५ एसोसिएट टीममध्ये स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गरिसकेको छ । बाँकी रहे ४ टीम । 'समूह ए'मा रहेको युएई पनि सुपर सिक्समा पुग्ने सम्भावना प्रबल छ । आयरल्याण्डसँग खेल्न बाँकी नै रहेको युएईले ३ मध्ये २ खेल जितिसकेको छ । यदि नेदरल्याण्ड्सले अन्तिम खेलमा वेस्ट इण्डिजलाई हराउन नसके युएई आयरल्याण्डसँग हारेमा पनि सुपर सिक्समा पुग्नेछ ।

पछिल्लो समय निकै खराब लयमा देखिएको नेदरल्याण्ड्सले प्रतियोगिताकै सबैभन्दा बलियो टोली तथा हालसम्म अपराजित वेस्टइण्डिजलाई हराउने सम्भावना न्यून छ । त्यसो त नेदरल्याण्ड्सले वेस्टइण्डिजलाई हराएर मात्र पुग्दैन, युएईले आयरल्याण्डसँग हार्नुपर्छ । 

अंकगणितमा जे जस्तो देखिए पनि युएई सुपर सिक्समा पुग्ने सम्भावना निकै प्रबल छ । युएईले आयरल्याण्डसँग हार्न त सक्छ, नेदरल्याण्ड्सले वेस्टइण्डिजलाई हराउने सम्भावना नै निकै कम छ । त्यसैले एकदिवसीय मान्यता पाउने दोस्रो टोली युएई हुनसक्छ ।

यस्तो अवस्थामा अब बाँकी रहन्छ एक स्थान । जुन नेपाल र हङकङबीचको खेलले निर्धारण गर्नेछ । नेपाललाई हराउन सके हङकङ सुपर सिक्समा पुग्ने निश्चित छ । यस्तो अवस्था बाँकी रहन्छन् २ टोली नेपाल र पपुवान्युगिनी । स्कटल्याण्ड, युएई र हङकङले सुपर सिक्समा स्थान बनाए नेपाल र पपुवान्युगिनी प्लेअफअगावै 'डिभिजन टू'मा झर्नेछन् । प्लेअफका बाँकी खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

एकदिवसीय मान्यता पाउने सम्भावना पनि जीवित

त्यसो त नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना अझै टरिसकेको छैन । एकदिवसीय मान्यता पक्का गरिसकेको स्कटल्याण्डले मात्र हो । बाँकी २ स्थानको निधो हुन अझै बाँकी छ । नेपालले हङकङलाई हराउन सकेको खण्डमा सातौं हुने टोलीले एकदिवसीय मान्यता पाउनेछ भने युएईले आयरल्याण्डसँग फराकिलो अन्तरले हारेर नेदरल्याण्ड्सले वेस्टइण्डिजलाई हराएको खण्डमा आठौं हुने टोलीले पनि यो सौभाग्य पाउने छ ।

अब नेपालले आफूले जितेर ढुक्क हुने अवस्था छैन । युएईको हार र वेस्टइण्डिजविरुद्ध नेदरल्याण्ड्सको जितको कामना पनि गर्नुपर्नेछ । यस्तो अवस्थामा नेपालले एक खेल मात्र जितेर पनि एकदिवसीय मान्यता पाउन सक्छ । नेटरनरेटमा हङकङलाई पछि पार्न सकेको खण्डमा पपुवान्युगिनी अन्यथा युएई वा नेदरल्याण्ड्स नेपालको प्रतिद्वन्द्वी हुनेछन् । 

सुपर सिक्समा पुग्ने सम्भावना नगन्य रहेकाले रेलिगेट हुनबाट बच्न नेपालले हङकङलाई जसरी पनि हराउने रणनीति अख्तियार गर्नु आवश्यक देखिएको छ । नेपालले हङकङलाई हराएमा (निकै ठूलो अन्तरले बाहेक) अफगानिस्तान सुपर सिक्समा पुग्छ । त्यो नै नेपालका लागि हितकर हुने देखिन्छ ।

नेपाल र हङकङबीचको खेल सोमबार हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्