
विराटनगर, ९ वैशाख–सुनसरीमा प्रहरी हवल्दारमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा गएराति घरायसी झगडा मिलाउन पुगेका प्रहरी हवल्दारमाथि कुटपिटमा संलग्न तीन जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मनकामना चोकमा निशान राई र उनकी पत्नी सरिता राईबीच झगडा भएको खबर पाएपछि पुगेको इलाका प्रहरी कार्यालय इटहरीको टोलीका हवल्दार अर्जुन भुजेलमाथि स्थानीय ३ जनाले हातपात गरेका बताइएको छ ।
घटनास्थल पुगेका प्रहरी हवल्दारमाथि स्थानीय तीनजना युवाले कुटपिट गर्नुका साथै बा २ ब १३५९ नम्बरको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । कुटपिटमा संलग्न ईटहरी–४ का २१ वर्षीय शुक्र राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घटनामा संलग्न इटहरी–४ का २१ वर्षीय निशान राई र १९ वर्षीय संघर्ष राई फरार रहेकाले खोजी कार्य भइरहेको छ । कुटपिटबाट प्रहरी हवल्दार भुजेलको बाँया हात भाचिएकाले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।