
काठमाडौं, १९ वैशाख–निजी विमान कम्पनीहरूले आन्तरिक उडानमा मनोमानी ढंगले ढिलाइ (डिले) गर्दा यात्रुहरू अलपत्र पर्ने क्रम बढेको छ । विमान कम्पनी तथा चालकहरूले विविध प्राविधिक कारण देखाई यात्रु नभरिँदासम्म उड्न नमान्दा यात्रुहरू घण्टौं अत्रपत्र पर्ने गरेका हुन् ।
बुधबार धनगढीबाट काठमाडौंका लागि बिहान ८ :४० बजे उड्ने तय गरिएको बुद्ध एयरको विमान करिब साढे ३ घण्टा ढिला गरी ११ : ४० बजे काठमाडौंका लागि उडेको थियो । बिहान ८ बजेदेखि विमानको पर्खाइमा रहेका एक यात्रुले ३ घण्टापछि उड्ने विमानले ८ बजेको टिकट दिएर आफूलाई अलपत्र पारेको भन्दै आक्रोश पोखे ।
नाम नबताउने शर्तमा उनले भने, ‘बिहानदेखि कुरियो, समय तय गरेर समयमा उडान नभर्ने विमान सञ्चालकहरू नाफाको नाममा यात्रुलाई दुःख दिइरहेका छन्, बसमा जानु र हवाई यात्रा गर्नु के फरक भयो र ?’
बुद्ध एयरका धनगढी एजेण्ट ट्राभल व्यवसायी पदमविक्रम शाहले विमान कम्पनीहरूले प्रविधिक कारण देखाएरै डिले गर्ने भएकाले अन्य कारणबारे भने त्यतिधेरै थाहा नभएको बताए ।
बुद्ध एयर, सौर्य एयर, यति एयर, सीता एयर, समिट एयर, सिम्रिक एयर, फिस्टेल एयर, श्री एयर लगायतका निजी विमानहरूमा यस्तो समस्या देखा परेको यात्रुहरू बताउँछन् ।
विमान सञ्चालकहरू ३० प्रतिशतभन्दा बढी यात्रु भएपछि मात्रै उडान गर्छन् । जसका कारण टिकट काटिसकेका यात्रुले अन्तिम यात्रुलाई कुर्नुपर्ने बाध्यता छ । तर सञ्चालकहरू भने प्राविधिक समस्या नै भएको दाबी गर्छन् ।
वायु सेवा सञ्चालक संघका सचिव एवं मनाङ एयरका सञ्चालक राजु न्यौपानेले जहाज थपिइरहँदा विमानस्थलको व्यस्थापन र ट्राफिक व्यवस्थापन प्रमुख समस्या भएको बताए ।
न्यौपानेले भने, ‘जहाजहरू बढिरहेका छन्, विमानस्थलको व्यवस्थापन गर्न सकिएको छैन, एयर ट्राफिक व्यवस्थापनमा पनि समस्या छ, रुटको समस्या छ, यी सबै प्राविधिक समस्या समाधानमा सरकार लाग्नुपर्छ, डिले हुने यीनै समस्याले हो ।’
उनले कुनै पनि विमान यात्रु नभरिएर डिले नभएको दाबी गरे ।
नेपालको घरेलु उडानमा नै डिलेको समस्या बढी खेपिरहेका बेला अहिले नै एयर ट्राफिकको समस्या भने नभएको जानकारहरू बताउँछन् ।
जानकारहरूका अनुसार भिजिबिलिटी समस्या भएका बेलाबाहेक खासै ठूलो प्राविधिक समस्या घरेलु उडानमा खेप्नु पर्दैन ।

बुद्ध एयरको विमान उड्न ढिलाइ भएपछि धनगढी विमानस्थलमा अलपत्र परेका यात्रुहरू, विमान उड्न डिलाइ हुँदा धनगढी विमानस्थलमा यात्रुहरूले ३ घण्टा कुर्नुपरेका थियाे ।