
काठमाडौं, ९ जेठ – हलिउडका चर्चित कलाकार विल स्मिथ र दक्षिण अमेरिकाका सुपरस्टार निकी जामले एरा इस्त्रेफीसँग मिलेर सन् २०१८ को फूटबल विश्वकपको आधिकारिक गीत गाउने भएका छन् ।
रुसमा हुन गइरहेको विश्वकपमा बज्ने आधिकारिक गीतलाई अमेरिकी निर्माता डिप्लोले निर्माण गरेका हुन् र यो शुक्रवार सार्वजनिक हुँदैछ ।
स्मिथ चर्चित अभिनेता हुनुका साथै –यापर पनि हुन् । उनले अभिनय यात्रा शुरु गर्नुअघि डीजे ज्याजी जेफसँग मिलेर सांगीतिक करीयर शुरु गरेका थिए । तर सन् २००५ पछि उनले कुनै पनि एकल एल्बम सार्वजनिक गरेका छैनन् ।
जाम चाहिँ दक्षिण अमेरिकाका सुपरस्टार हुन् । उनको एक्स नामक गीतले युट्युबमा ८० करोड भ्युज पाइसकेको छ ।
स्मिथले यसै वर्षको शुरुआतमा जामको त्यही हिट गीत एक्समा कराओके गर्दै नाचेको भिडियो पोस्ट गरेपछि दुईजनाबीच मित्रता झांगिएको थियो ।
एरा इस्त्रेफी चाहिँ कोसोभार अल्बानियाली गायिका हुन् । उनको बोनबोन नामक गीत सुपरहिट भएपछि उनले अन्तर्राष्ट्रिय पहिचान पाएकी थिइन् ।
विश्वकपको आधिकारिक गीत प्रायः उद्घाटनमा वा समापन समारोहमा बजाइन्छ । पिटबुल र जेनिफर लोपेजले सन् २०१४ को उद्घाटनमा वी आर वान गीत गाएका थिए भने शाकिराले सन् २०१० को विश्वकपको समापन समारोहमा वाका वाका गीत गाएकी थिइन् ।
एजेन्सी