
काठमाडौं, २८ जेठ – रुसमा बिहीवारदेखि शुरू हुने २१औं फिफा विश्वकपमा ३२ देशका ७३६ खेलाडीले भाग लिँदैछन् ।
तर सबैभन्दा बढी ध्यान चाहिँ अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका रोनाल्डोले खिचेका छन् ।
तर यति धेरै ध्यान खिचेपनि यी दुई खेलाडीले विश्वकपमा राम्रो खेल देखाउन सकेका छैनन् । मेस्सीले पाँच र रोनाल्डोले जम्मा तीन गोल गरेका छन् । उनीहरूभन्दा थोरै खेल खेलेका नेयमारले बरू पाँच गोल गरिसकेका छन् ।
अहिले विश्वकपमा भाग लिन लागेका खेलाडीमा जर्मनीका टमस मुलर सर्वाधिक गोलकर्ता हुन् । उनले १३ खेलमा १० गोल गरेका छन् ।
रुस पुगेका फूटबलरहरूमा मुलर पहिलो र मेस्सी पाँचौं स्थानमा छन् ।
मेस्सी र क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म तीन तीन विश्वकप खेलेका छन् । तर दुवैले खासै कमाल गर्न सकेका छैनन् ।
मेस्सीको यो चौथो विश्वकप हो । उनले १५ खेलमा जम्मा पाँच गोल गरे । तर राम्रो कुरा चाहिँ उनले यस क्रममा एउटा पनि पहेंलो वा रातो कार्ड खाएका छैनन् ।
रोनाल्डोको पनि यो चौथो विश्वकप हो । उनको रेकर्ड मेस्सीको भन्दा पनि खराब छ । उनले १३ म्याच खेलेर जम्मा तीन गोल गरेका छन् । अघिल्लो विश्वकपमा त उनको टोली पोर्चुगल लीग चरणबाट माथि पुग्न सकेको थिएन ।
रोनाल्डोले विश्वकपमा दुईवटा पहेंलो कार्ड पाएका छन् ।
टीमहरूको कुरा गर्दा जर्मनीले १८ चोटि प्रतियोगितामा भाग लिएर २२४ गोल गरेको छ । सबभन्दा धेरै २० चोटि विश्वकप खेलेको ब्राजिलले २२१ गोल गरेको छ । यी दुईबाहेक अरू कुनै टोलीले २०० गोल बनाएका छैनन् ।
देश विश्वकप म्याच गोल
जर्मनी १८ २१८ २२४
ब्राजील २० २२७ २२१
अर्जेंटीना १६ १४० १३१
एउटै विश्वकपमा सबभन्दा धेरै गोल सन् १९९८ र २०१४ मा बनेका हुन् । यी दुवै संस्करणमा १७१–१७१ गोल हानिएका थिए ।
कुल २० विश्वकपमा १४ सय ५६ खेलाडीहरूले २३ सय ७७ गोल गरेका छन् ।
एजेन्सी