०३ साउन २०८३, आइतबार

विश्वकपमा आज तीन खेल : सँगै खेल्ने साथीविरुद्ध मैदानमा उत्रँदै रोनाल्डो !

विश्वकपमा आज तीन खेल : सँगै खेल्ने साथीविरुद्ध मैदानमा उत्रँदै रोनाल्डो !

काठमाडौं, १ असार – फूटबल विश्वकपको दोस्रो दिन शुक्रवार तीनवटा खेल हुँदैछन् । पौने ६ बजे इजिप्ट र उरुग्वेबीच, पौने आठ बजे इरान र मोरक्कोबीच अनि पौने १२ बजे पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुन गइरहेको छ । 
तीन खेलमध्ये धेरै फूटबल फ्यानको रोजाइमा स्पेन र पोर्चुगलको खेल पर्ने निश्चित छ ।

स्पेन र पोर्चुगल सन् २०१० पछि विश्वकपमा पहिलोपटक भिड्दैछन् । त्यतिखेर स्पेनले खेल १–० ले जितेको थियो ।

रियल मड्रिडबाट खेल्ने सर्जिओ रामोस स्पेनका तर्फबाट अनि क्रिस्टियानो रोनाल्डो पोर्चुगलका तर्फबाट खेल्दैछन् । रामोस स्पेनका अनि रोनाल्डो पोर्चुगलका कप्तान हुन् । स्पेनको राष्ट्रिय टोलीमा रियलका ६ खेलाडी अटाएका छन् । यसअर्थमा रोनाल्डोले आफ्नै सहकर्मीहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।

यी दुईबीच अहिलेसम्म ३५ वटा खेल भएका छन् जसमा स्पनले १६ मा जीत हासिल गरेको छ भने पोर्चुगल जम्मा ६ चोटि विजयी भएको छ । बाँकी १३ खेल बराबरीमा टुंगिएका छन् । ती खेलमा पोर्चुगलले ४१ र स्पेनले ७२ गोल गरेका छन् । 

प्रतियोगिता शुरूभन्दा ठीकअघि स्पेनले मुख्य प्रशिक्षक जुलेन लोपेतेगुईलाई बर्खास्त गरिदिएको थियो । अब खेल निर्देशक फर्नान्डो हिएरोलाई त्यो जिम्मेवारी सुम्पिइएको छ । तर यसले टोलीको प्रदर्शनलाई केही फरक नपार्ने कप्तान सर्जिओ रामोसले दाबी गरेका छन् । 

रोनाल्डोको नेतृत्वमा पोर्चुगल प्रतियोगिताको माथिल्ला चरणमा पुग्ने प्रयास गर्नेछ । अघिल्लो विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।

स्पेन पनि अघिल्लो विश्वकपका लीग चरणबाटै घर फर्किएको थियो । 

पोर्चुगल युरोपेली च्याम्पियन हो र कप्तान रोनाल्डो उत्कृष्ट फर्ममा छन् । तर पोर्चुगलले स्पेनलाई राम्ररी चुनौती दिनै सकेको छैन । 

स्पेन प्रशिक्षक लफडाले कमजोर भएछ भने चाहिँ रोनाल्डोले त्यसको उपयोग गरेर स्पेनविरुद्ध गोलवर्षा गर्ने सम्भावना छ । 

आजैको अर्को खेलमा इजिप्ट र उरुग्वे भिड्दैछन् । यी दुईले अहिलेसम्म जम्मा एक खेल खेलेका छन् । सन् २००६ मा भएको उक्त खेल उरुग्वेले २–० ले जितेको छ । 

इजिप्ट भने २८ वर्षपछि विश्वपकमा छनोट भएको हो । तर उसका प्रमुख खेलाडी मोहम्मद सालाह चोटग्रस्त भएपछि उसलाई ठूलो झड्का लागेको थियो । तर बिहीवार बेलुका म्याचका लागि फिट भइसकेको घोषणा गरिएको थियो । 

पछिल्ला दुई विश्वकपमा उरुग्वेको प्रदर्शन शानदार छ । सन् २०१० मा चौथो र सन् २०१४ को विश्वपकमा उसले अन्तिम १६ मा स्थान बनाएको थियो । 

दुईचोटि विश्व च्याम्पियन रहेको उरुग्वेले पछिल्ला १८ म्याचमा पराजय बेहोरेको छैन । फिफा र्‍यांकिङमा पनि ऊ इजिप्टभन्दा धेरै अगाडि छ । उरुग्वे १४औं स्थानमा छ भने इजिप्ट ४५औं स्थानमा छ ।

विश्वकपको अर्को खेलमा मोरक्को र इरान भिड्दैछन् । उनीहरूले अहिलेसम्म एकअर्काविरुद्ध खेलेका छैनन् । फिफाको –यांकिङमा पनि उनीहरू नजिकनजिकै छन् । इरान ३७औं स्थानमा अनि मोरक्को ४१औं स्थानमा छ । 
इरानले ग्रीस र कोसोभोसँग मैत्रीपूर्ण खेल खेल्न पाएन । त्यसले गर्दा विश्वकपमा उसको तयारी पुगेको छैन । 

तर ऊ एसियाको दिग्गज टोली हो । बिहीवार रुससँगको खेलमा साउदी अरबले बेहोरेको लज्जास्पद पराजयपछि यो विश्वकपमा एसियाको साख राख्ने जिम्मेवारी इरानको काँधमा आएको छ । पहिलो म्याच जितेर ऊ एसियाली चुनौतीलाई अघि बढाउन चाहन्छ । 

उता मोरक्को भने सन् १९९८ पछि पहिलोपटक विश्वकपमा छनोट भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्