०३ साउन २०८३, आइतबार

अपराजित स्विट्जरल्यान्डको भिडन्त उच्च आत्मविश्वास सहितको स्विडेनसँग

अपराजित स्विट्जरल्यान्डको भिडन्त उच्च आत्मविश्वास सहितको स्विडेनसँग

काठमाडौं, १९ असार – समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३–० ले हराएर उच्च आत्मविश्वासका साथ स्विडेनले अन्तिम १६ मा मंगलवार स्विट्जरल्यान्डको सामना गर्दैछ । 

जर्मनीसँगको हारका बावजूद मेक्सिको र दक्षिण कोरियामाथिको विजयका कारण समूह विजेता बनेको स्विडेन यो विश्वकपमा अपराजित रहेको स्विट्जरल्यान्डसँग भिड्न लागेको हो । 

सेन्ट पिटर्सबर्गको क्रेस्तोभ्स्की स्टेडियममा खेलिने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुँदैछ । 

स्विट्जरल्यान्डले समूह चरणको पहिलो खेलमा ब्राजिललाई १–१ को बराबरीमा रोकेको थियो भने सर्बियाविरुद्ध जीत र कोस्टारिकासँग बराबरी खेलेर दोस्रो स्थान बनाएको थियो । 

यो खेलमा विजय पाउनेले क्वार्टरफाइनलमा कोलम्बिया वा इंग्ल्यान्डको सामना गर्नेछ । 

स्विडेनका मिडफील्डर दुईवटा खेलमा पहेंलो कार्ड पाएर यस खेलमा सस्पेन्ड भएका छन् । यसै पनि उनी मेक्सिकोविरुद्धको खेलमा घाइते भएर मैदानबाहिर गएका थिए । उनलाई गुस्ताभ स्वेनसनले रिप्लेस गर्ने सम्भावना छ । 

आल्बिन एकदाल, भिक्टर क्लाएसन र मिकाएल लुस्टिगले पनि विचार गरेर खेल्नुपर्ने हुन्छ किनकि उनीहरूले यो खेलमा पहेंलो कार्ड पाए भने स्विट्जरल्यान्डलाई हराउन सफल भएमा पुगिने क्वार्टरफाइनलमा सस्पेन्ड हुनुपर्ने स्थिति आउँछ । 

स्विडेनले आज खेलाउने सम्भावित खेलाडीहरू ओल्सेन, लुस्टिग, लिन्डेलोफ, ग्रान्क्विस्ट, अगस्टिनसन, क्लाएसन, स्वेनसन, एकडाल, फोर्स्बर्ग, टोइभोनेन र बर्ग हुन् । 

उता स्विट्जरल्यान्डका डिफेन्डरहरू स्टेफान लिख्स्टाइनर र फाबियान शार स्विडेनविरुद्धको खेलमा सस्पेन्डमा परेका छन् । माइकल लाङ र योहान जूरूलाई उनीहरूका ठाउँमा खेलाइने सम्भावना छ । 

ब्राजिलविरुद्ध बराबरीका लागि गोल गर्ने स्टिभन जुबेर बिरामी भएकाले खेल्ने नखेल्ने पक्का छैन भने डेनिस जकारिया, भालोन बेहरामी र शेरदान शकिरीले यो खेलमा पहेंलो कार्ड पाएमा सस्पेन्सन खानेछन् । 

आज खेल्ने स्विट्जरल्यान्डका सम्भावित खेलाडी सोमर, लाङ, जूरू, अकान्जी, रोड्रिगेज, बेहरामी, शाका, शकिरी, जेमाइली, एम्बोलो र गाभ्रानोभिच हुन् । 

स्विडेनले सन् १९९४ को विश्वकपपछि पहिलोपटक क्वार्टरफाइनल पुग्नका लागि खेल्नेछ । उक्त प्रतियोगितामा उनीहरू तेस्रो भएका थिए । स्विट्जरल्यान्ड चाहिँ सन् १९५४ मा विश्वकप आयोजना गर्दा क्वार्टरफाइनलसम्म पुगेको थियो तर
त्यसपछिका प्रतियोगितामा अन्तिम १६ कटाउन सकेको छैन । 

जर्मनीसँगको खेलमा अन्तिम समयमा हारेपनि स्विडेनले प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरिरहेको छ । मेक्सिकोलाई ध्वस्त पारेकाले स्विट्जरल्यान्डविरुद्धको खेलअघि स्विडेनको आत्मविश्वास उच्च छ ।

यी दुई देश यसअघि २७ चोटि भिडिसकेका छन् । दुवैले १०–१० जीत हासिल गरेका छन् भने सातवटा बराबरी खेलेका छन् । अन्तिमपटक उनीहरूले सन् २००२ मा मैत्री खेल खेलेका थिए जुन १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्