
काठमाडौं – गत चैत २० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितिको म्याद आज १ दिन मात्रै बाँकी छ ।
तेस्रोपटक थपिएको म्याद असार मसान्तमा समाप्त हुनेछ । सरकारले अब समितिको म्याद नथप्ने लगभग निश्चित छ ।
गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको थियो ।
समितिले सनम शाक्यको हत्या र नेपालमा हुने गरेको सुन तस्करीको छानबिन गरी जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
समितिले गरेको छानबिनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
त्यसपछि अन्य ६ जनाविरुद्ध पनि सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भइसकेको छ ।
सुन तस्करी प्रकरणका ६९ जना प्रतिवादीमध्ये ३३ जना मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने ४ जनालाई जिल्ला अदालत मोरङले धरौटी र तारेखमा रिहा गरेको छ ।
४ नेपाली र ४ भारतीय ‘ठूला माछा’को सूचीमा
सुन तस्करी प्रकरणमा प्रहरीका बहालवाला २ वरिष्ठ उपरीक्षक (एसएसपी), १ जना प्रहरी उपरीक्षक (एसपी) २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी), १ पूर्व नायव महानिरीक्षक (डीआईजी), १ जना प्रहरी नायव निरीक्षक (सई)सहितका प्रहरी अधिकारी अहिले थुनामा छन् ।
तर सुन तस्करी प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिले मोरङ उर्लाबारीका चूडामणि उप्रेतीलाई तस्करीको ‘ठूला माछा’को सूचीमा राखेको छ ।
हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन नेपाल मगाउन व्यवस्थापकको भूमिका खेलेका भनिएका गोरेकै समूहको यातनाका कारण फागुन १७ गते सनमको मृत्यु भएको थियो ।
गृह मन्त्रालयको उच्च स्तरीय समितिले गोरेसहित फरार रहेका एमके अग्रवाल, थुनामा रहेका भुजुङ गुरुङ र छिरिङ वाङ्गेल घलेलाई ‘ठूला माछा’को सूचीमा राखेको छ ।
‘संगठित अपराधको अनुसन्धान गर्दा कुनै पनि अभियुक्तको अपराधिक कार्यमा संलग्नताको आधारमा उसलाई कति सानो र ठूलो भन्ने निष्कर्ष निकालिन्छ,’ सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘अपराधमा संलग्नताको आधारमा गोरे मुख्य अभियुक्त हुन्, गोरेपछि मोहन अग्रवाल, भुजुङ र डेबिट भनिने छिरिङ क्रमश मुख्य अभियुक्त भएको वर्गीकरण गरेका छौं ।’
पौडेल नेतृत्वको समितिले साउन २ गतेतिर सरकारलाई बुझाउने गरी अहिले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार पारिरहेको छ ।
प्रतिवेदनमा ४ जना नयाँ भारतीय नागरिकबारे पनि उल्लेख गरिएको समिति स्रोतले लोकान्तरलाई बतायो ।
नेपालबाट हुने सुन तस्करीमा ठूलो मात्रामा रकम लगानी गर्ने भारतीयको पहिचान भएको व्यहोरा प्रतिवेदनमा उल्लेख गरिने समितिका सदस्यले लोकान्तरलाई बताए ।
‘नेपालमा हवाइ मार्गमार्फत् तस्करी हुने अधिकांश सुन भारतीय बजारमा खपत हुने गरेको थियो । त्यसमा भारतीयको ठूलो लगानी हुने गरेको तथ्य पनि बाहिर आइसकेको छ,’ समितिका सदस्यले लोकान्तरसँग भने, ‘तस्करीको सुनमा ठूलो रकम लगानी गर्ने भारतीयको पहिचान भइसकेको छ । यद्यपि अहिले नै उनीहरूको नाम भने सार्वजनिक गरिने छैन ।’
समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई व्यक्तिगत रूपमा भारतीय लगानीकर्ताको नाम र विवरण बुझाउने भए पनि प्रतिवेदनमा उनीहरूको नाम उल्लेख नगर्ने जनाएको छ ।
अबको छानबिन सीआईबीले गर्ने
गृह मन्त्रालयको छानबिन समितिको म्याद सकिएपछि साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीको थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रूपमा गर्ने भएका छन् ।
सुनकाण्डका फरार प्रतिवादी तथा अन्य अभियुक्तलाई पक्राउ गर्न सीआईबीले मोरङ प्रहरीलाई सहयोग गर्ने छ ।
यस्तै तस्करीबारे नयाँ तथ्य फेला परे मोरङ प्रहरीले सीआईबी र प्रहरीको विशेष ब्यूरोको सहयोगमा छानबिन गर्नेछ ।