
काठमाडौं –गत जेठ ३ गते राष्ट्रिय सभागृहमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको घोषणा हुँदै गर्दा साबिकको एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले भने– ‘हामी मिसिएको होइन, अन्तरघुलन भएका छौं । हिन्द महासागरमा गएर यो पानी कहाँको हो भनेर छुट्ट्याउन सकिन्छ र ? अघिसम्म प्रचण्ड अर्कै पार्टीको नेता हुनुहुन्थ्यो । मैले भनेँ– तपाईँको माओवादी सिद्धियो । उहाँले जवाफ दिनुभो– तपाईँको एमाले पनि त सिद्धियो । खासमा यही कुरा सुन्नका लागि मैले त्यसो भनेको थिएँ ।’
प्रचण्ड पनि के कम, उनले त्यसअघि नै भनिसकेका थिए– ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो, अब छुट्ट्याउन मिल्दैन ।’
दुई अध्यक्षको मुखबाट सोही दिन अन्तरघुलित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झण्डै दुई महिना बित्दा पनि छुट्टाछुट्टै अस्तित्वमा कायम छ । प्रदेश, जिल्ला र स्थानीय कमिटीमात्र होइन, जनवर्गीय संगठनहरू पनि अलग–अलग नै छन् ।
मुलुककै शक्तिशाली सत्तारुढ दलको एकता प्रक्रियामा आमजनतालाई चासो हुने नै भयो । तर एकीकरण घोषणा भएयता बाहिर चर्चा हुनेगरी त्यस्तो कुनै पार्टी गतिविधि देखिएको छैन । सकारात्मक तथा नकारात्मक जेसुकै भए पनि चर्चा छ त केवल सरकारको । सरकार नेकपाकै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा छ ।
के गर्दैछ नेकपा ?
पार्टी एकीकरणपछि बसेको नेकपाको पहिलो बैठकले १५ दिनको समय दिएर तीन फरक–फरक कार्यदल गठन गरेको थियो ।
एउटा कार्यादलले विधानको परिपूरक हुनेगरी नियमावली मस्यौदा निर्माण, अर्कोले संगठनात्मक एकीकरण र तेस्रोले जनवर्गीय संगठनको एकीकरण प्रक्रियालाई अघि बढाउने जिम्मा पाएका थिए ।
ती कार्यदलले आफ्नो काम पूरा गरेपछि अहिले आवश्यक थप कार्यदल गठन गरेर पार्टी एकीकरणलाई पूर्णता दिने प्रक्रिया अघि बढेको स्थायी समिति सदस्य बेदुराम भुसाल बताउँछन् । नियमावली मस्यौदा निर्माणका लागि गठित कार्यदलका सदस्यसमेत रहेका भुसालले भने– ‘विधान र नियमावली फाइनल भएको छ । जनवर्गीय संगठन तथा प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीबीच पनि एकीकरणका लागि कार्यदलहरू बनेर काम गरिरहेका छन् ।’
कार्यदलले तयार पारेको नियमावली मस्यौदालाई महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ रहेको कार्यदलले अन्तिम रूप दिएपछि गत बुधबार बसेको सचिवालय बैठकले पारित गरेको छ । नियमावली पारित भएपछि संगठनात्मक एकीकरण प्रक्रिया तीव्र गतिमा अघि बढेको भुसालले बताए ।
नियमावली तयार भएपछि त्यसैको आधारमा काम अघि बढेको केन्द्रीय सदस्य खिमलाल देवकोटा पनि बताउँछन् । ‘शुरुमा काम गर्न अलि अप्ठ्यारो थियो, तर नियमावली तयार भएपछि त्यसैको आधारमा काम अघि बढेको छ,’ देवकोटाले भने ।
कहिले मिलिसक्छ सबै कमिटी ?
पार्टी कमिटी र जनवर्गीय संगठनबीच एकीकरणका लागि गठित कार्यदलहरूले तीन महिनाको समय पाएका छन् । ‘कार्यदलहरूले तीन महिनाको समय पाएका छन् । त्यस्तो खासै डेटलाइन नै भन्ने त छैन, तर तीन महिनाभित्र यी प्रक्रियाहरू पूरा गरिसक्ने भन्ने छ,’ नेता भुसालले लोकान्तरसँग भने ।
उता देवकोटा भने ‘टाइम टेबल’ नै बनाएर तीन महिनाभित्रै एकता प्रक्रिया पूरा गरिसक्ने बताउँछन् । ‘टाइम टेबल नै बनाएर तीन महिनाभित्रै सक्ने गरी काम अघि बढेको छ,’ देवकोटाले भने, ‘सक्नु नै पर्छ, नत्र पार्टी फङ्सन नै हुँदैन ।’
कसरी चलिरहेको छ पार्टी ?
देवकोटाका अनुसार पार्टी कमिटीहरू तीन ढंगले चलिरहेका छन् । ‘केही स्थानमा स्वतस्फूर्त रूपमै एकीकरण भइसकेको छ, अधिकांशले संयुक्त निर्णय गरेर काम गरिरहेका छन्, केही भने छुट्टाछुट्टै अस्तित्वमा छन् र उनीहरूको खास गतिविधि पनि छैन,’ उनले लोकान्तरसँग भने ।
चुनावअघिको गठबन्धनका कारण पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन निकै सहज भएको उनको अनुभव छ । ‘प्रि–इलेक्सन कोएलिनसन’का कारण धेरै सहज भएको छ,’ देवकोटाले भने, ‘केन्द्रमा निर्णय भइसकेको र एकसाथ चुनाव लडेकाले पार्टी एकीकरणका सम्पूर्ण प्रक्रियालाई पूर्णता दिन समस्या छैन ।’
छिट्टै सम्पूर्ण पार्टी कमिटी एक भएर अघि बढ्ने उनको विश्वास छ ।