
काठमाडौं– दशैं देवी भगवतीको उपासनासँगसँगै मनोरञ्जनको पर्व समेत हो । दशैंमा मानिसहरुले लत्ता कपडा, खानपान, मासु, घुमफिरमा निकै खर्च गर्ने गरेका छन् । मानिसहरुले दशैंमा धेरै पैसा नै खर्च गर्ने हुँदा दशैं बजार अत्यधिक चलायमान रहने गर्छ ।
दशैंका १५ दिनमा १० अर्बको रक्सी
बिकृति र रमझम दुवैको मिश्रण रहेको मदिराजन्य पेयपदार्थको व्यापार दशैंमा अत्यधिक हुने गर्छ । नेपालमा वर्षेनी २ खर्बको मदिराजन्य पेय पदार्थ कारोबार गर्ने गरेको व्यवसायीहरु बताउँछन् । मदिरा उद्योगले करिब २० प्रतिशत राजस्वको हिस्सा ओगटेको छ ।
दशैं तिहारमा पेय पदार्थ पिउनेहरुले आफ्नो गक्ष अनुसारको मदिराजन्य पदार्थमा खर्च गर्छन् ।
मदिरा प्रेमीहरु पुराना ब्राण्डेड हृवीस्की तथा वाइनहरु स्वाद अनुसार पिउँछन् । संभ्रान्त वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुका रुपमा लिने गरेकाले देशमा अर्बौंको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ । त्यसका साथै नेपालीहरुको घरैमा बनाइने घरेलु मदिराको पनि व्यापार राम्रो हुने गरेको छ ।
ब्ल्याक लेबल, सिवास, रेड लेबल, ब्यालेण्डाइण्ड लगायतका रक्सीहरु बजारमा बढी माग हुने गरेको व्यवसायीहरु बताउँछन् । यस्तै नेपाली बजारमा बढी चल्ने मदिराजन्य पेय पदार्थमा भोड्का, ह्विस्की, वाइन, जिङ्क, रम, बियर लगायत रहेका छन् । जसमध्ये दशैंमा सबैभन्दाबढी बियरको व्यापार बढ्ने गरेको छ । यसैगरी भोड्काको बजारमा पनि दशैंमा तात्ने व्यवसायीहरु बताउँछन् । नेपालका उत्पादित महंगा रक्सी पनि दशैं तिहारमा अत्यधिक बिक्री हुने गरेको बताइन्छ ।
दशैंका १५ दिनमा मात्रै नेपाली बजारमा १० अर्ब भन्दा बढीको मदिरा बिक्री हुने गरेको उत्पादकहरु बताउँछन् ।
दशैंमा एक अर्बको मदिरा उपहार !
पछिल्लो समय दशैं तिहारमा उपहार दिने चलन समेत बढेको छ । दशैंमा अन्य कुरा छोडेर महंगो रक्सी उपपार दिने प्रचलन बढेसँगै उपहारको रक्सीमा समेत एक अर्बभन्दा बढी खर्च हुने गरेको उत्ािदकहरु बताउँछन् । वित्तीय क्षेत्रले आफ्ना ग्राहकहरुलाई खुशी मार्न समेत मदिरा उपहार दिने चलन बढेको छ । उपहार दिने मदिरामा अधिकांशले वाइन प्रयोग गर्ने गरेका छन् ।
मदिरा अर्थतन्त्र
राजस्वको ठूलो हिस्सा ओगटेको मदिरा उद्योगले झण्डै साढे ३ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको उनको मदिरा उत्पादक कम्पनीहरुको दाबी छ ।
नेपाल हाल १ सय भन्दा बढी मदिरा उद्योग सञ्चालनमा छन् ।
कूल खपत हुने मदिराको ७५ प्रतिशत हिस्सा ओगटेको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ । वार्षिक झण्डै २ खर्ब बराबरको मदिरा कारोबार हुने गरेको महासंघका महासचिव बिष्णु खड्काले बताए । उनका अनुसार नेपालको उत्पादित मदिराले मात्रै वार्षिक ४५ अर्ब भन्दा बढी राजस्व तिर्ने गरेको छ भने अयातित मदिराले झण्डै १० अर्ब बराबर राजस्व तिर्ने गरेको छ ।
मदिरा व्यवसायले नेपालको कूल राजस्वमा झण्डै २० प्रतिशत हिस्सा ओगटेको छ ।