१२ साउन २०८३, मंगलबार

सुर्तीजन्य पदार्थ सेवनले वर्षमा २७ हजार नेपालीको मृत्यु, क्यान्सर र मुटुरोगको पहिलो कारण चुरोट

मंसिर २, २०७५
सुर्तीजन्य पदार्थ सेवनले वर्षमा २७ हजार नेपालीको मृत्यु, क्यान्सर र मुटुरोगको पहिलो कारण चुरोट

काठमाडौं – सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनि करीब २७ हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । 

नेपालमा १८ दशमलव ५ प्रतिशत मानिस दैनिक सुर्तीजन्य पदार्थ सेवन गर्छन् । जसमा ५५ लाख १ हजार ३ सय ५८ जनाले चुरोट सेवन गर्ने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक एवं टोबाको नियन्त्रण तथा स्वास्थ्य पबद्र्धन शाखा प्रमुख भक्तबहादुर केसीका अनुसार प्रशोधित सुर्तीजन्य पदार्थ सेवन गर्नेहरू ८४ दशमलव ८ प्रतिशत रहेका छन् ।

सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूमा ९० प्रतिशतभन्दा बढीले १८ वर्षभन्दा कम उमेरमा पहिलोपटक सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको केसी बताउँछन् ।

नेपालमा क्यान्सर, मुटु, उच्च रक्तचाप लगायतका विभिन्न दीर्घकालीन रोगको प्रमुख कारण नै सुर्तीजन्य पदार्थको सेवन भएको चिकित्सकहरू बताउँछन् ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालका अनुसार एउटा चुरोटमा ४ हजार केमिकल हुन्छ । चुरोटमा हुने ६० देखि ७० वटा केमिकलमा क्यान्सर गराउने हानिकार तत्व हुने डा. बराल बताउँछन् ।

उनी भन्छन्, ‘मानिसको हरेक अंगमा हुने क्यान्सरको पहिलो कारण सुर्तीजन्य पदार्थ हो, सुर्तीजन्य पदार्थको सेवनलाई मात्रै कन्ट्रोल गर्न सकेमा ५० प्रतिशत क्यान्सर कम गर्न सकिन्छ ।’

सुर्तीजन्य पदार्थ सेवनले क्यान्सर मात्रै होइन मुटुरोगको खतरालाई पनि बढाउने मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल बताउँछन् ।

‘चुरोट खानेलाई दम, मुटुसम्बन्धी रोग र रक्तनलीमा गम्भीर असर पुर्‍याउँछ, ४० वर्षमुनिका युवाहरूमा हार्टअट्याक हुनुको पहिलो कारण सुर्तीजन्य पदार्थको सेवन नै हो,’ डा अनिल भन्छन्, ‘चुरोट खाने व्यक्तिलाई जुनसुकै समयमा हार्टअट्याक हुनसक्छ, यस्ता रोगहरूलाई न्युनिकरण गर्न जनचेतना जगाउन आवश्यक छ ।’

मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न भन्दै सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ संशोधन गरी २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने निर्देशिका समेत बनेको छ ।

उक्त निर्देशिकामा सार्वजनिक स्थल तथा सार्वजनिक यातायातमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने र उक्त कानूनको सबैले पालना गर्नुपर्ने उल्लेख छ । यस्तै सुर्ती उद्योगहरूले २०७२ जेठ १ गतेदेखि बजारमा पठाउने सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र अंकित सन्देश हुनुपर्ने, चुरोटको खुल्ला बिक्री गर्न नपाइने लगायतका व्यवस्था छन् ।

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने भन्दै बर्सेनि सचेतनामा करोडौं रकम खर्च हुने गरेको छ । तर निर्देशिका लागू गरिएको ४ वर्षसम्म पनि सुर्तीजन्य पदार्थको प्रयोगमा भने कमी आएको देखिँदैन । 

यस्तै सूर्य चुरोट उत्पादक कम्पनी सूर्य टोबाकोले हालसम्म पनि ९० प्रतिशत चित्र अंकित सन्देश छाप्नुपर्ने नियमलाई अवज्ञा गर्दै आएको छ ।

यसरी कानुनपालना नगर्ने निकाय र व्यक्तिलाई सरकारले नियमन र कारवाही गर्न सकेको देखिँदैन । जसका कारण सुर्तीजन्य पदार्थ सेवनका कारण मानिसहरूले अकालमै ज्यान गुमाउन परिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्