
काठमाडौं, १९ फागुन –चालू आर्थिक वर्ष (आव) २०७३/७४ मा विनियोजित बजेट नै खर्च गर्न धौधौ परिरहेका बेला सरकारले आगामी आवका लागि थप १ खर्ब रुपैयाँ थपेर बजेट सिलिङ तोक्ने तयारी गरेको छ ।
सरकारले आगामी आव २०७४/७५ मा ११ खर्ब ५६ अर्ब रुपैयाँको हाराहारीमा बजेट लिसिङ तोक्ने तयारी गरेको हो ।
सरकारले चालू आवका लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी आवका लागि करीव १ खर्ब रुपैयाँ थपेर बजेट ल्याइन लागिएको राष्ट्रिय योजना आयोगका सहप्रवक्ता शिवरञ्जन पौड्यालले बताए ।
‘सरकारका सबै मन्त्रालयसँग प्रि बजेट छलफलको निष्कर्शका आधारमा यो आकारको बजेट ल्याउने तयारी गरेका हौं,’ आयोगका सहप्रवक्ता पौड्यालले लोकान्तरसँग भने ।
आफैंले ल्याएको बजेट खर्च गर्न नसकेपछि सरकारले चालू आवको मध्यावधिमा आएर बजेटको आकार खटाइसकेको छ । चालू आवको मध्यावधिसम्म बजेट खर्च न्यून भएपछि सरकारले बजेटको उक्त आकार १ खर्ब १३ अर्ब ३ करोड रपैयाँले घटाएको हो ।
बजेट खर्चको स्थिति निराशाजनक देखिएपछि सरकारले चालू आवमा विनियोजित तीनै शिर्षकका बजेट संशोधन गरेको हो । जसअनुसार चालूतर्फ ९ प्रतिशत, पूँजीगततर्फ १६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ करीव ८ प्रतिशत गरी कुल करीव ११ प्रतिशतले बजेटको आकार घटाएको हो ।
अर्थ मन्त्रालयका अनुसार चालू आवको सात महिनामा करीव एक तिहाई हिस्सा बजेटमात्र खर्च भएको छ ।
खर्चको विश्लेषण गरेरमात्र बजेटको अख्तियारी दिइने
योजना आयोगले आगामी आवका लागि सम्बन्धित मन्त्रालय वा आयोजनाले गरेको खर्चको विश्लेषण गरेरमात्र बजेट विनियोजनको अख्तियारी दिने जनाएको छ । ‘सम्बन्धित मन्त्रालय वा आयोजनालाई चालू तथा यसअघि विनियोजन गरिएका बजेट, तिनको कार्यान्वयन र त्यसका आधारमा आगामी दिनमा गर्न सक्ने कामको विश्लेषण गरेरमात्र बजेट अख्तियारी दिइनेछ,’ आयोगका सहप्रवक्ता पौड्यालले भने ।
एलएमविआइएस (लाइन मिनिष्ट्रिी बजेटरी इन्भफर्मेसन सिष्टम) मार्फत हालसम्मको वास्तविक बजेट, त्यसको कार्यान्यन स्थिति र आगामी काययोजनाका आधारमा चालू वा नयाँ आयोजनाका लागि बजेट विनियोजन गरिने आयोगको भनाई छ ।
यसैगरी योजना बिहीवारैदेखि आगामी आवका लागि बजेट छलफल अघि बढाएको छ ।