
काठमाडौं - एक साताभित्र संविधान संशोधनको प्रक्रिया शुरू गर्ने प्रधानमन्त्रीको आश्वासनपछि राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक साताभित्र संविधान संशोधनको प्रक्रिया शुरू गर्ने प्रतिवद्धता जनाएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लोकान्तरलाई जानकारी दिए ।
‘प्रधानमन्त्रीले एक साताको समयसीमा दिनुभएको छ,’ यादवले भने, ‘यो एक सातासम्म हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौं, त्यसपछि वस्तुगत परिस्थितिको आधारमा निर्णय लिन्छौं ।’
संविधान संशोधन गरेर आफ्ना माग पूरा गर्नुपर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् रेशम चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिएर चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनु पर्ने माग सहित सरकारलाई समर्थन गरेको राजपाले आफ्ना कुनै पनि माग सम्बोधन नभएको भन्दै तीन महिनाअगाडि नै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
ओली नेतृत्वको सरकारले दिएको जवाफ चित्त नबुझेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको थियो । समर्थन फिर्ता लिने तयारी गरेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले राजपाका नेताहरूलाई छलफलका लागि मंगलवार बिहान बालुवाटार बोलाएका थिए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल गरेर संविधान संशोधन गर्ने आश्वासन दिँदै समर्थन फिर्ता नलिन आग्रह गरेका छन् ।