
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको पक्षमै रहेको सन्देश दिएका छन् । साथै उनले सरकारको कामवारे पार्टीमा छलफल नभएको भन्दै आफूसँग सल्लाह गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेका सचिवालयका चार सदस्यहरुलाई आफू ओलीको कित्तामा रहेको प्रचण्डले संकेत दिएका छन् । ‘पार्टी संक्रमणकालमा छ, महाधिवेशनसम्म मिलेर अगाडि बढ्नुको विकल्प छैन’ प्रचण्डले बुधवारको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा भने । नेतृत्वको कार्यशैलीलाई लिएर माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले केही समय पहिले सचिवालय बैठक बहिस्कार गरेका थिए ।
‘प्रचण्डको जवाफको सार, पहिलो आफू ओलीसँगै छु भन्नु र दोस्रो सरकार सञ्चालनका लागि पार्टी अर्थात आफूसँग ओलीले धेरै सल्लाह लिउन् भन्ने थियो’ नेकपाका एक प्रभावशाली स्थायी समिति सदस्यले लोकान्तरसँग भने ।
स्थायी कमिटी बैठकमा एक घण्टासम्म सैद्धान्तिक र दार्शनिक रुपमा जवाफ दिएका प्रचण्डले दुई कम्युनिष्ट पार्टीको एकता र कम्युनिष्ट नेतृत्वको स्थायी सरकार चानचुने उपलव्धी नभएको जिकीर गरे ।
‘गरीब मुलुक भएपनि हाम्रो सम्मान बढेको छ, प्रधानमन्त्रीलाई छिमेकीको निमन्त्रणा, सरकार बनेपछि मेरो उत्तर दक्षिण भ्रमण र हालै परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणले नेपालको गौरव बढेको महसुस हुन्छ’ प्रचण्डले भने, ‘नेपालमा स्थिर सरकार हुँदा नेपालको अन्तराष्ट्रिय छवी उचो भएको छ ।’ उनले नेपाल चुनौती र अवसरको दोसाधमा रहेको भन्दै पार्टी एकढिक्का हुँदा चुनौतीको सामना गर्न सकिने बताए ।
झण्डै ३० वर्षसम्म पार्टीको नेतृत्व गरेपनि अहिले आफूलाई नौलो अनुभव महसूस भइरहेको प्रचण्डले बताएका थिए । ‘एउटा पार्टीमा दुई जना अध्यक्ष भन्ने कुरा आफैंमा अनौठो कुरा हो, तर यो कुरा नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनको लागि हो, समाजवाद उन्मुख लैजानको लागि हो’ प्रचण्डले भने ।
पार्टी र मुलुक रुपान्तरणको चरणमा पार्टीमा गुट उपगुट निर्माण भन्दापनि पार्टीलाई एकढिक्का बढाएर अगाडि बढ्न प्रस्ताव गरेका थिए । सरकार सञ्चालन र पार्टीको कामको बीचमा तालमेल मिल्न नसक्दा दुईतिहाइको शक्तिशाली सरकारले पनि अपेक्षित गति लिन नसकेको प्रचण्डको भनाइ थियो ।
‘सरकार र पार्टीबीच समन्वय हुनुपर्यो, पार्टीले सरकारको कामको स्वामित्व लिनुपर्र्यो र सरकार पनि पार्टीले भनेअनुसार चल्नु पर्र्यो’ प्रचण्डले बैठकमा भनेका थिए । प्रचण्डले घुमाउरो पारामा सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीले आफूसँग परामर्श नगरेको असन्तुष्टि पोखेका थिए ।
स्थायी कमिटी बैठकमा विबादित बनेको एसिया प्यासेफिक समिटिको विषयमा नबोलेका प्रचण्डले वामदेव गौतम लगायतका नेताले राखेका फरक मतको सम्मान गर्दै राजनीतिक प्रतिवेदन परिमार्जनको प्रस्ताव गरेका छन् । उनले पुस मसान्तभित्र पार्टी एकताको काम सम्पन्न गर्ने भन्दै जारी स्थायी कमिटी बैठकबाटै कार्यदल गठनको प्रस्ताव गरेका छन् ।
स्थायी समिति बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलि जवाफ दिने कार्यक्रम छ । भोलिको बैठक दिउसो ३ बजेका लागि तय भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । मंसिर २९ देखि जारी स्थायी समिति बैठक भोलि नै सम्पन्न गर्ने नेकपाको तयारी छ ।