
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले सांगठानिक एकता र अन्य राजनीतिक विवादहरू सल्ट्याउनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन तयार गर्न सकिरहेको छैन ।
नेताहरु रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ सम्मिलित कार्यदललाई पुस महिनाभित्रै प्रतिवेदन बुझाउन समयसीमा तोकिएको थियो । तर माघको पहिलो हप्ता सकिनै लाग्दासमेत कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन ।
नेताहरुका अनुसार कार्यदलले विभिन्न चरणमा छलफल र गरिरहेको छ । यसअघि छलफलका बुँदाहरू बाहिर आएर अनावश्यक बहस सृजना हुने र सहमतिका लागि अप्ठेरो पर्ने गरेका कारण कार्यदलको कामकारवाहीलाई गोप्य राखिएको कार्यदलका एक सदस्य बेदुराम भुषालले लोकान्तरलाई बताए । भुसालले कार्यदललाई कुनै समयसीमा नतोकिएको बताए । उनले माघको पहिलो हप्ताभित्रमा कार्यदलले प्रतिवेदन तयार पारिसक्ने दाबी गरे ।
तर नेकपाका स्थायी कमिटीका कतिपय नेताहरूले कार्यदलले आजसम्म सहमति जुटाउन नसकेको आरोप लगाएका छन् । ‘पाटीभित्र देखिएको राजनीतिक र सांगठानिक विवाद हल गर्नका लागि बनाइएको कार्यदलले कुनै पनि विषयमा निष्कर्ष दिन सकेको छैन,’ एक स्थायी कमिटी सदस्यले भने, ‘विधानमा देखिएका केही समस्या हल भएका छन् तर एक व्यक्ति एक पद र प्रदेश विवादमा घेरिएको प्रदेश कमिटीको बारेमा कुनै सहमति हुन नसकेको मेरो जानकारीमा आएको छ ।’
कार्यदलले यो भन्दा अगाडि निर्देशिकामा उल्लेख गरिएको प्रावधान ‘एक व्यक्ति एक जिम्मेवारी’मा पनि सहमति जुटाउन नसकेको उनले बताए ।
पार्टीका बरिष्ठ नेतासमेत रहेका सचिवालय सदस्य माधव कुमार नेपाल विदेश भ्रमणमा रहेको बेला नेकपाको सचिवालयले प्रदेश कमिटीको नामावली सार्वजनिक गरेको थियो तर त्यसमा नेता नेपालले असहमति जनाएपछि अहिलेसम्म जस्ताको त्यस्तै छ । स्रोतका अनुसार कार्यदलले त्यसमा सहमति जुटाउन सकेको छैन । पार्टीका महासचिव विष्णु पौडेलले हिजो गरेको निर्णय पुनर्विचार गर्न नमिल्ने बताएपछि कार्यदलको बैठक अवरुद्ध भएको स्रोतको दाबी छ ।
अर्का स्थायी कमिटी सदस्य मणी थापाले पार्टीको अन्तरविरोध हल हुन नसकेको स्वीकारे । ‘पार्टीमा हिजो जे जस्तो अन्तरविरोध सृजना भएको थियो, कार्यदलले त्यसलाई हल गर्न सक्ने जस्तो देखिएन’ लोकान्तरसँग कुरा गर्दै थापाले भने, ‘एकीकरण प्रक्रियाले अझ लामो समय लिन सक्ने देखियो, स्थायी कमिटी बैठकको स्पिरिट अनुसार काम भएको छैन ।’ यसरी बेलाबेलामा अवरोधहरू आउँदा कम्युनिस्ट आन्दोलनमै क्षति पुग्न सक्ने थापाले चिन्ता व्यक्त गरे ।
थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै पार्टी एकताका कामहरु तीव्र रुपमा नहुँदा कम्युनिस्ट आन्दोलनमा क्षति पुग्ने आशंका व्यक्त गरेका थिए ।
‘कम्युनिस्ट आन्दोलनमा क्षति पुगिरहेको यो अवस्थाले पार्टी एकताको औचित्य पुष्टि हुन सकेको छैन’ थापाले भने, ‘एकताले कम्युनिस्ट आन्दोलनलाई फाइदा पुर्याउनु पर्ने हो, सरकारलाई सफल बनाउनुपर्ने हो तर अहिले एकताकै विषयमा प्रश्न उठ्ने अवस्था सृजना भएको छ ।’