
पोखरा- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध तिक्ततापूर्ण नरहेको बताएका छन्। सरकारको समग्र मुल्याङ्कन ५ बर्षपछि हुने बताउदै नेता शर्माले १ बर्षको अवधिलाई हेर्दा सकारात्मक अवस्था नदेखिएको बताए। सरकारले विवेक गुमाएका कारण काँग्रेसले संसद र सडकबाट विरोध गर्नुपरेको उनको भनाई थियो।
पोखरामा प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा शर्माले सरकारका गतिविधि लोकतान्त्रिक संस्कार अनुरुप नभएको आरोप लगाए। प्रधानमन्त्री व्यक्ति नभई संस्था र राज्यकै प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले गैरजिम्मेवार अभिव्यक्ति दिन नमिल्ने उनको तर्क थियो।
‘लोकतन्त्रमा एक जना नागरिकको पनि असहमति र अन्यायमा परेको छ भने राज्यले धैर्यतापूर्वक सुन्नपर्छ’ प्रवक्ता शर्माले भने,‘राज्यमा एउटा नागरिक ३ हप्ता बढी अनसनमा रहँदा सरकार गम्भिर बनेको छैन। वार्ता गर्ने तत्परता समेत देखाएको छैन।’
प्रवक्ता शर्माले वाइड बडीको प्रकरणमा काँग्रेस नेतृत्वको सरकार भएका बेला कुनै महत्वपूर्ण निर्णय नभएको जिकीर गरे। डा.गोविन्द केसीको जीवनरक्षा, निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण, संवैधानिक परिषद्बाट विपक्षी नेतालाई जानकारी नदिई गरिएका निर्णय, वाइड बडी, बुढीगण्डकी परियोजना, निजगढ विमानस्थल निर्माणका लागि रुख काट्न लागिएको लगायतका विषयलाई लिएर आगामि माघ २१ मा देशव्यापी प्रदर्शन गर्न लागिएको प्रवक्ता शर्माले जानकारी दिए।
यसअघि ठूला परियोजना विभिन्न देशका कम्पनी होल्ड गरेर राखेको चर्चा गर्दै बुढी गण्डकीलाई पनि विना प्रतिस्पर्धा चीनको एउटा कम्पनीलाई सुम्पने काम भएको शर्माले आरोप लगाए। ‘सरकार बहुमतले चलाउने हो, संसदमा पनि बहुमतीय प्रक्रियाबाटै चल्ने हो, कम्युनिष्टहरुले काँग्रेसलाई लोकतन्त्र र संसदीय अभ्यासको पाठ सिकाउन जरुरी छैन’ उनले भने, 'तर लोकतन्त्रमा संस्कार र विवेक आवश्यक हुन्छ । यही विषयका साथ आन्दोलन गर्न लागेका हौं।’
वर्तमान सरकार लोकतान्त्रिक संस्कार र विवेक गुमाउन थालेको प्रवक्ता शर्माको भनाई थियो ।