०३ साउन २०८३, आइतबार

घोडाघोडी सिमसार क्षेत्र ‘खतरनाक’ जोखिममा

माघ २२, २०७५
घोडाघोडी सिमसार क्षेत्र ‘खतरनाक’ जोखिममा

धनगढी – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी तालको पानी निकासद्वार ‘आउट लेट’ तथा बाँध जीर्ण भएको छ ।

करीब २५ वर्ष पहिले जिल्ला विकास समिति कैलालीबाट निर्माण भएको आउट लेट जीर्ण हुनुको साथै आउट लेट सहितको बाँध भाँचिएर तालको पानी निरन्तर बग्दै गएको छ ।

एकातिर निरन्तर बग्ने पानीको बहाबले बाँधमुनिको माटो बगेर बाँध नै तल भाँसिने सम्भावना बढेको छ भने अर्कोतिर ताल सुक्दै जान थालेपछि उसैपनि विभिन्न झारले दिन प्रतिदिन पुरिँदै गएको सो सिमसारको अस्तित्व नै संकटमा पर्न सक्ने संरक्षणकर्मीले औंल्याएका छन् ।

स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठले बनाइएको बाँध धेरै पुरानो भइ जीर्ण हुँदा जोखिम बढेको बताए । जुनकारण जीर्ण बाँध जतिबेला पनि भत्केर तालको पानी सुकेर सिमसार नै उच्च जोखिममा पर्न सक्ने हुँदा बेलैमा सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी रहेको औंल्याए ।

तालको बाँध र पूर्वपश्चिम महेन्द्र राजमार्गको दूरी करीब ५ मिटर छ । वर्षात्मा तालमा जम्मा हुने पानीको चापले बाँध फुटेमा राजमार्ग समेत बग्न सक्ने उच्च जोखिम बढेको छ । जुनकारण नगरपालिका लगायतका सरोकारवाला निकायले वर्षात् पहिले नै तालको वातावरणमा असर नपर्ने गरी बाँध निर्माण गरिसक्नुपर्नेमा उनको जोड छ ।

सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटन गन्तव्य समेत रहेको सो घोडाघोडी सिमसार जैविक विविधताले पनि महत्त्वपूर्ण मानिन्छ । जलचर, चराचुरुङ्गीलगायत जीवजन्तुको आश्रयस्थल एवं प्रमुख प्रजनन् केन्द्रको रुपमा समेत प्रख्यात छ । सो तालको अस्तित्व नै संकटमा पर्न थालेपछि त्यहाँका जैविक विविधता नै नष्ट हुने चिन्ता व्यक्त गरिएको छ । 

पंक्षी संरक्षण नेपालका हिरुलाल डंगौराले ताल सुकेमा गोही, रैथानेलगायत विभिन्न प्रजातिका माछा, जल पंक्षीलगायत विस्थापित भएर जलीय जैविक विविधतामा ठूलो असर पर्ने बताए । उनका अनुसार सो सिमसार क्षेत्रमा २ सय ९९ प्रजातिका पंक्षी, ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, घस्रने जीव लगायतको प्रमुख आश्रयस्थल तथा प्रजनन केन्द्र हो । त्यति मात्रै होइन, सिमसार क्षेत्रमा ४ सय ५० प्रजातिको वनस्पति समेत पाइन्छ ।

संरक्षणकर्मी डंगौराले बेलैमा नयाँ संरचना निर्माणमा ध्यान नदिए त्यहाँको जैविक विविधता मात्रै होइन, मानववस्ती समेत खतरनाक जोखिममा पर्ने सचेत गराए । जीर्ण भएर कमजोर भएको सो बाँध भत्केमा ताल भन्दा तल रहेका नारायणपुर, डोरा, भालुफाँटालगायत आधा दर्जन वस्ती डुबानमा पर्ने ठूलो सम्भावना रहेको उनले बताए । जुनकारण वर्षात पहिलै बाँध बनाउनुको विकल्प नभएको समेत उनले सुझाए ।

घोडाघोडी नगरपालिकाले सो सिमसारसहित नगरपालिकास्थित पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनको लागि बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड गठन गरेको जनाएको छ । जसबाट नै त्यहाँको भौतिक संरचना निर्माण तथा मर्मत सम्भारको कार्य जारी रहेको जनाइएको छ । बोर्डका उपाध्यक्ष दयाराम चौधरीले आफूहरू सो बाँध निर्माणप्रति निकै संवेदनशील भएको बताए । 

बाँधकै कारण सिमसार क्षेत्र, राजमार्ग, मानववस्ती, जैविध विविधतामा असर पर्ने भएकाले वर्षात् अगाडि नै नयाँ बाँध निर्माणको प्रक्रियामा जुटेको जानकारी दिए ।

सिमसारको वातावरणमा कुनै असर नपर्ने गरी पुरानो बाँध भत्काएर त्यसै ठाउँमा नयाँ बाँध तथा पानी निकासद्वार निर्माणको प्रक्रियामा रहेको बताउँदै बोर्डका उपाध्यक्ष चौधरीले भने, ‘हामी वर्षात् अगाडि नै निर्माण सक्ने गरी गृहकार्य थालेका छौं । त्यसको लागि त्यहाँको वातावरणीय प्रभाव मूल्याकनको लागि संघीय वनमन्त्रालयको राय माग्न प्रक्रिया समेत थालेका छौं ।’

उपाध्यक्ष चौधरीले बाँध तथा पानी निकासद्वारको लागि २० लाख बजेट अनुमान गरिएको बताए । तर अझै सर्वे तथा डिजाइन हुन बाँकी रहेको बताउँदै उनले त्यहाँ आकर्षक पानी फोहरासहित बगैचा समेत निर्माण गर्ने योजना रहेको सुनाए ।

औसत ४ मिटरभन्दा बढी गहिराइ र २ हजार ७ सय २६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्र तराईको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । जुन सन २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्