३२ असार २०८३, बिहीबार

मनसा सिमेन्टमा चरम लापरवाही, सरकारद्वारा बिक्री रोक्का

चैत ३, २०७५
मनसा सिमेन्टमा चरम लापरवाही, सरकारद्वारा बिक्री रोक्का

काठमाडौं– झापाको चन्द्रगढीमा रहेको मनसा इन्डष्ट्री प्रा.लिले उत्पादन गर्दै आएको मनसा ब्राण्डको सिमेन्टमा चरम लापरवाही भएको पाइएको छ । मनसा उद्योगले उत्पादन गर्दै आएको पीपीसी ब्राण्डको सिमेन्टमा लापरवाही भएको भेटिएको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणमा मनसा सिमेन्टको पीपीसी ब्राण्डमा मापदण्ड विपरीत इन्सोल्युबल रेजिड्यु (नघोलिने पदार्थ) मिसाएर ठगी गर्ने गरेको पाइएको हो ।

नेपाल गुणस्तर ऐनअनुसार पीपीसी ब्राण्डको सिमेन्टमा अधिकतम २८ प्रतिशत इन्सोल्युबल रेजिड्यु हुनुपर्छ । तर मनसा सिमेन्टको उक्त ब्राण्डमा ३१ दशमलव २ प्रतिशत इन्सोल्युबल रेजिड्यु भेटिएको गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रतिस्पर्धात्मक बजारमा मिसावट गरेर तुलनात्मक रूपमा सस्तो मूल्यमा बिक्री गर्ने मनसायले मिसावट गरेको हुनसक्ने बताए । ‘कच्चा पदार्थको मात्रा मापदण्ड भन्दा बढी मिसाएर प्रतिस्पर्धीभन्दा २ रुपैयाँ सस्तो बिक्री गर्ने मनसायसमेत हुनसक्छ,’ उनले लोकान्तरसँग भने, ‘अरूभन्दा सस्तोमा बिक्री गर्नकै लागि पनि मिसाएको हुनसक्छ । प्रतिस्पर्धी मार्केटमा २ रुपैयाँ सस्तो भनेको पनि धेरै हुन्छ ।’

बिक्री रोक्का

ठगी गरेको पाइएपछि विभागले सो सिमेन्टको बिक्री रोक्का गरेको छ । नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० अनुसार उक्त सिमेन्टको बिक्री रोक्का गरिएको विभागले जानकारी दिएको छ ।

विभागका सहायक सुचना अधिकारी सुन्दरकुमार थापाले नमुना परीक्षण गरिएको ब्याचको सिमेन्टको बिक्रीमा रोकावट गरिएको बताए । ‘नमुना परीक्षणमा कैफियत रहेको ब्याचमा उत्पादित सिमेन्टको बिक्रीमा रोक्का गरिएको छ,’ सहायक सुचना अधिकारी थापाले लोकान्तरसँग भने, ‘१५ दिन भित्र स्पष्टिकरण पेश गर्न भनेका छौं । आवश्यक प्रक्रियापछि नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० बमोजिम बिक्री खुल्ला गरिने छ ।’

थापाका अनुसार उक्त ब्याचको पीपीसी ब्राण्ड बजारबाट फिर्ता लिन समेत विभागले निर्देशन दिएको छ ।  

यसअघि गुणस्तर तथा नापतौल कार्यालय झापाले गत फागुन १३ र १४ गते विभिन्न ब्राण्डका ६ वटा नमुना संकलन गरेर परिक्षणको लागि केन्द्रिय कार्यालय (विभाग) मा पठाएको थियो । परीक्षणका क्रममा अन्य पाँच वटा नमुनामा कैफियत नभेटिएको विभागका सहायक सुचना अधिकारी थापाले बताए ।

३० ब्राण्ड नमुना परीक्षणको क्रममा

विभागले पछिल्लो समय अुनगमनलाई तीव्रता दिएको जानकारी दिएको छ । अनुगमनका क्रममा शंका लागेका विभिन्न ब्राण्डका नमुना संकलन गरेर ल्याउने र परीक्षण गर्दै आएको छ । अनुगमनका क्रममा शंका लागेका ओपीसीका ३ वटा, पीपीसीका २ वटा र टीएमटी ब्राण्डका फलामे डण्डीका १४ वटा नमुना संकलन गरेर विभागको प्रयोगशालामा परीक्षणका क्रममा रहेका छन् ।

विभागका अनुसार एलपीजी ग्यासको रेगुलेटरको एउटा, सनफ्लावर तेलको एउटा र मस्टार्ड तेलको एउटा नमुनासमेत परीक्षणका क्रममा रहेका छन् । त्यस्तै पिभीसी केवलका ४ वटा नमुना र इनामेल पेन्टका ४ वटा नमुना गरेर ३० वटा नमुना परीक्षणको क्रममा रहेका विभागले जानकारी दिएको छ । परीक्षणको क्रममा रहेका नमुनाको रिपोर्ट आउन केही समय लाग्ने विभागको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्