
काठमाडौं – सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा ५ जनाको नाम सिफारिस भएको छ ।
न्यायपरिषद्को मंगलवार बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश मध्येबाट दुई र कानून व्यवसायीहरू मध्येबाट तीन गरी पाँच जनाको नाम सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुंगाना र शुष्मालता माथेमाको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ ।
ढुंगाना पाटन र माथेमा सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश छन् ।
कानून व्यवसायीबाट पूर्व महान्यायाधिवक्ता मोरङका हरि फुयाँल, वरिष्ठ अधिवक्ता काठमाडौंका कुमार रेग्मी र अधिवक्ता डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए ।
सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त छ । बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशका तर्फबाट सदस्य दीपककुमार कार्की र सदस्यहरू कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका थिए ।
संविधानको धारा १२९ मा सर्वोच्चमा प्रधानन्यायाधीश तथा न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था छ ।
उक्त धाराको उपधारा (२) मा भनिएको छ– ‘संवैधानिक परिषद्को सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषद्को सिफारिसमा सर्वाेच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।’
यस्तो चाहिन्छ योग्यता–
धारा १२९ उपधारा (५) मा सर्वोच्चको न्यायाधीशको योग्यता तोकिएको छ । ‘कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा पन्ध्र वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा पन्ध्र वर्षसम्म न्याय वा कानूनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानूनविदको रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा बाह्र वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ,’ उक्त उपधारामा भनिएको छ ।