
काठमाडौं – नेपाली कांग्रेसभित्र कार्यसम्पादन समिति र केन्द्रिय विभाग गठनबारे नयाँ विवाद सतहमा आएको छ ।
सोमवार सभापति शेरबहादुर देउवाले सहमति जुटाउनका लागि शीर्ष नेतालाई निवासमा बोलाएर छलफल गरे । तर कृष्ण सिटौला लगायतका अन्य केही नेता उपस्थित भएनन् ।
पार्टीभित्र केन्द्रीय कार्यसम्पादन समिति र विभाग गठनमा सहमति जुट्न नसकेपछि शनिवार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको थियो । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ६०/४० को भागबण्डामा सहमति जुटेको भनिएपनि समिति गठन हुन सकेन ।
त्यसयता केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि रोकिएको छ । सोमवार बिहान सभापति देउवाले शीर्ष नेतालाई निवासमा बोलाएर गरेको सहमतिको प्रयास पनि विफल भएको छ ।
पार्टीका नेता कृष्ण सिटौलाले यस्ता कुराहरू व्यक्तिगत भेटघाट र छलफलबाट टुंगो लगाउन नसकिने बताए । लोकान्तरसँग कुरा गर्दै सिटौलाले भने, ‘अब अस्तिको बैठकमा रामचन्द्रजीले ४० प्रतिशत मलाई भाग दिनुपर्छ भन्नुभयो, देउवाजीले ६० प्रतिशत म राख्छु भन्नुभयो । पार्टीलाई र नेतालाई भाग लगाउने काम ठीक होइन भन्ने मेरो सामान्य बुझाइ हो । साथीहरूको क्षमता बमोजिम औचित्य र आवश्यकताका आधारमा जिम्मेवारी दिनुपर्यो भन्ने हाम्रो धारणा रह्यो । कतिपय सिनियर साथीहरू पनि होलान्, युवाहरूले पनि अवसर पाउनुपर्छ भन्ने मलाई लाग्छ । उहाँहरूले भागबण्डा गर्न थालेपछि भागबण्डाको ठाउँमा बस्नु त के औचित्य रह्यो र ?’
कांग्रेसलाई कुनै बस्तु या चिजको रूपमा लिने काम भएकोजस्तो लागेको सिटौलाको गुनासो छ । ‘कोही मालिकजस्तो, अनि कोही कार्यकर्ताजस्तो देखियो,’ सिटौलाले भने, ‘मेरो भनाई के हो भने आजको दिनमा पार्टीमा साथीहरूको क्षमता बमोजिम जिम्मेवारी दिनुपर्छ, सबैको क्षमताको कदर गर्नुपर्छ, एकता निर्माण गर्नुपर्छ भन्ने हो ।’
भागबण्डाकै राजनीतिले कांग्रेस निर्वाचनमा पराजित भएको स्मरण गर्दै सिटौलाले भने, ‘अहिलेदेखि नै भागबण्डा गर्दै जाने अनि निर्वाचनमा पुग्ने बेलासम्म त पूरै सखाप हुने खतरा छ । अस्तिको निर्वाचनमा पनि टिकट वितरणमा उहाँहरू दुवै जनाले भागबण्डा गर्नुभएकै हो, ५–७ प्रतिशत छोडेर मोटामोटी ९० प्रतिशत जति उहाँहरूले टिकट बाँडेकै हो । समानुपातिक सबै उहाँहरूले नै गर्नुभएको हो । त्यसैले निर्वाचनमा हामीले ठूलो पराजय पनि भोग्यौं ।’
भागबण्डाका कारण कांग्रेसको यो हविगत भयो भनेर अझै पनि चेत खुलेकोजस्तो नेताहरूमा नदेखिएको सिटौलाले आरोप लगाए । ‘नेताहरूको अझै चेत खुलेको छैन, भागबण्डाको राजनीतिले कांग्रेसलाई कहाँबाट कहाँ पुर्यायो ? त्यसैले भागबण्डाको बैठकमा कति सहभागी हुनु ?’ उनले प्रश्न गरे, ‘तथापि आज विभाग–सिभाग त थाहा पनि भएन मलाई, त्यही भएर म गइनँ ।’
पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग रहेका छन् । तेह्रौं महाधिवेशन सम्पन्न भएको ३ वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग हालसम्म गठन हुन सकेका छैनन् । केन्द्रीय सभापतिको अध्यक्षतामा पदाधिकारी स्वतः पदेन सदस्य हुने र केन्द्रीय सदस्यबाट ३१ जना चयन हुने कार्यसम्पादन समितिले केन्द्रीय समितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्नुपर्ने काम गर्छ ।