२८ असार २०८३, आइतबार
सामाजिक सुधार

मुस्लिममा ‘निकाह’ : बिहे गरीबमैत्री बनाउन दाइजोविरुद्ध हुसैनको ‘जेहाद’ !

बैशाख ७, २०७६
मुस्लिममा ‘निकाह’ : बिहे गरीबमैत्री बनाउन दाइजोविरुद्ध हुसैनको ‘जेहाद’ !

जनकपुरधाम – मुस्लिम समुदायमा दाइजो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाका साजिद हुसैनले दाइजोविरुद्ध ‘जेहाद’ थालेका छन् ।

समाजमा दाइजोकै कारण महिला हिंसा बढ्न थालेको र गरीब घरका छोरीको बिहेमा समेत समस्या उत्पन्न भएपछि हुसैनले जेहाद नै छेडेका हुन् ।

त्यसका लागि उनले अहिले घरघरमा गएर दाइजोविरुद्ध जनचेतना जगाउनेदेखि मुस्लिम समुदायका धर्मगुरूलाई समेत एकठाउँमा ल्याउने काम गरेका छन् । निकाह गर्दा निकाह गराउने ‘काजी’हरूलाई पटक–पटक एकठाउँमा ल्याएर दाइजो लिने छोराको निकाह नगराइदिन उनले आग्रह गरेका छन् । मुस्लिम समुदायमा बिहेलाई ‘निकाह’ भन्ने गरिन्छ ।

‘विगत ४ महिनादेखि धर्मगुरूलाई समेत राखेर अन्तर्क्रिया गर्दै आएको छु,’ हुसैनले भने, ‘दाइजो लिने बेहुलाको जन्ती नजाने, उसको भोजभतेर नखाने, सामाजिक बहिष्कार नै गर्नेसम्मको मोटामोटी सहमति भएको छ ।’ त्यसका लागि धनुषा र महोत्तरीका ३६ जना मौलानाले पनि प्रतिवद्धता जनाइसकेको उनले बताए ।

‘समाजका मानिस पनि दाइजोविरुद्ध जुनसुकै पाइला चाल्नु परे पछि नपर्ने भन्दै दाइजो लिने व्यक्तिलाई सामाजिक रुपमा बहिष्कार नै गर्नुपर्ने विचार धेरै मान्छेले दिइरहेका छन्,’ हुसैनले भने, ‘अब एउटा सम्मेलन गरेर त्यसको घोषणा नै गर्ने हामीले तयारी गरेका छौं ।’

केही दिनअघि नै जनकपुरधाममा उनले मुस्लिम समुदायको ‘मिसन दहेज मुक्त सम्मेलन’ गरेका थिए । त्यही सम्मेलनबाट सामाजिक बहिष्कारकै बाटोले मात्र दाइजो रोक्न सकिने अधिकांश सहभागीको धारणा आएको उनले बताए । खास गरेर गाउँगाउँबाट आएका महिलाले त्यसमा बढी नै जोड दिएको उनले सुनाए ।

किन दाइजोविरूद्ध जेहाद ?

२०७५ फागुन ३ गते महोत्तरीको अध्यनापुरबाट महोत्तरीकै भ्रमरपुरामा निकाहका लागि जाँदा बेहुलाले निजी हेलिकप्टर नै चार्टर गरे । हुसैनका अनुसार अध्यानपुरका बेहुला जुनैद साहको भ्रमरपूराका हबीबुल्लाह शाहको छोरीसँग निकाह हुँदा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेका थिए ।

त्यसको केही दिनअघि नै महोत्तरीको किसनपुरबाट अलिपट्टिमा बिहे गर्न जाँदा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेका थिए । बेहुला अफजल राइनसँग अलिपट्टिका सलिम राइनको छोरीसँग निकाह हुँदा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेका थिए ।

त्यसको केही महिनाअघि धनुषाको बेंगा शिवपुरबाट धनुषाकै नौंसय बिघामा बिहे गर्दा बेहुलाले निजी हेलिकप्टर चार्टर गरेर लगेका थिए । हेलिकप्टर चार्टर गर्दा केटा पक्षले नै आफ्नो खर्च गरेको बताइएपनि त्यसले समाजमा नकारात्मक असर परेको हुसैन बताउँछन् ।

‘यदि केटा पक्ष त्यति नै धनी हुन् र दिल खोलेर पैसा खर्च गर्ने चाहन्छन् भने जन्तीलाई पनि निजी हेलिकप्टर चार्टर गरेर लग्नुपर्थ्यो । त्यसो त गरिएन,’ हुसैनले भने, ‘समाजमा देखाबाका लागि हेलिकप्टर चार्टर गरेर जाने प्रवृत्ति बढ्दै गएको छ ।’ त्यसको अत्यन्तै प्रतिकूल असर अन्य मानिसमा पर्ने हुनाले बिहेमा देखाउने आर्थिक सामर्थ्य केटा पक्षले देखाउनका लागि प्रदर्शन गर्नु नहुने उनी बताउँछन् । बिहेको नाउँमा तामझाम, तडकभडक र आडम्बरको अन्त्य हुनुपर्ने उनको सोच छ ।

आजभन्दा २०–२५ वर्षअघिसम्म मुस्लिम समुदायमा दाइजोले त्यति ठूलो जडा गाडेको थिएन । सामान्य घरपरिवारकी छोरीको पनि विना दाइजो नै निकाह हुने गर्थ्यो । तर अहिले त पढेलेखेको बेहुला भयो भने ४० देखि ५० लाख रुपैयाँसम्म खुलेरै दाइजो माग्ने गर्छन् । 

मोटरसाइकल होइन, अब त कार नै पनि दाइजोमा माग आउन थालेको छ । बिहे घरमा वा गाउँमा नगर्ने, शहरको कुनै ठूलो होटलमा नै हुनुपर्छ भन्नेसम्मको केटा पक्षले कर लगाउन थालेका छन् । डेढ सयदेखि २ सयसम्म जन्ती आउन थालेका छन् । त्यसको असर सामान्य गरीब परिवारमा पनि पर्न थालेपछि हुसैनले दाइजोविरुद्ध जेहाद मिसन थालेका हुन् ।

गरीब परिवारका मानिसले पनि छोरीको बिहेमा लाखौं खर्च गर्नुपर्ने स्थिति आएको छ । ‘जग्गा जमिन वा घर समेत नभएका मान्छेको छोरीको बिहेमा कम्तिमा पनि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ,’ हुसैनले भने, ‘केटीको बुवाले जसोतसो ऋण काढेर पनि छोरीको बिहे गराउनैपर्ने बाध्यता छ ।’ छोरीको बिहेको आर्थिक भारमा नै जिन्दगीभर गरीब मानिस थिचिने गरेका कारण पनि दाइजोविरुद्ध समाजलाई एकवद्ध गराउने अभियानमा उनी लागेका छन् ।

यसरी हुन्छ निकाह

मुस्लिम समुदायमा केटा र केटीबीच निकाह हुँदा सबैभन्दा राम्रो पक्ष के हो भने केटीले त्यो केटा आफूलाई ‘कुबुल’ (मन्जुर) छैन भनेपछि आएको बेहुला फिर्ता जानुपर्ने हुन्छ । बेहुला र बेहुली पक्षमा शुरूमा कुराकानी हुन्छ । त्यसपछि निकाह गर्ने दुवै परिवारबीच सहमति हुन्छ । अनि निकाह गराउनका लागि मौलाना काजी सबैभन्दा पहिले केटीकोमा पुग्छन् । 

‘फलानो व्यक्तिसँग ५ हजार ७ सय ८६ रुपैयाँको बदलामा तिम्रो निकाह गरिँदैछ, के तिमीलाई कुबुल छ ? केटीलाई काजीले प्रश्न गर्छन्,’ मौलाना अब्दुल अजिजले जानकारी दिँदै भने, ‘यदि केटीले मन्जुरी दिन्छ भने त्यहीँ काजी फेरि केटाकोमा गएर केटीलाई सोधेजस्तै प्रश्न गर्छन् ।’ केटाले पनि मन्जुरी दिएपछि काजीले दुवै पक्षका साक्षी समेतलाई राखेर निकाहको मन्त्र पढ्छन् । त्यहाँ उपस्थित केटा पक्षबाट आएका जन्ती र केटी पक्षका मान्छे समेत अल्लाहको बर्गाहमा ‘दुवा’ गर्छन् । एकआपसमा शुभकामना आदानप्रदान हुने गर्छ ।

निकाह हुने बित्तिकै जन्तीलाई खाना खुवाएर बिदा गर्ने गरिन्छ । निकाह भएकै दिन बेहुलाले बेहुलीलाई लिएर घर फर्किन्छन् । यसरी फर्किने बेला बेहुलीको बुवाले खुशीखुशी छोरीको लागि लुगाकपडा, गरगहना, ओछ्याउन, भाडाकुडा, फर्निचर दिएर बिदा गर्छन् । आशिर्वाद स्वरुप बेहुला र बेहुली दुवैलाई डालाहाराबापत केही नगद दिएर बिदा गर्ने गर्छन् ।

‘हिजोआज दाइजो कति दिने भन्ने कुराको टुंगो नलागेसम्म निकाह नै हुने गरेको छैन,’ मौलाना अजिज भन्छन्, ‘यो त ठूलो अपराध नै हो ।’ दाइजो लिएर छोराको बिहे गर्नु भनेको जह्न्न (नर्क) मा जानु हो भनेर आफूले पनि ‘मिलाद’का क्रममा भन्ने गरेको उनले बताए । धार्मिक प्रवचनलाई ‘मिलाद’ भनिन्छ ।

‘मुस्लिम धर्मगुरूले पनि भनेका छन् कि केटी पक्षलाई त्यति मात्र आर्थिक भार देउ जति उसले सहजै स्वीकार गर्न सक्छन्,’ मौलाना अजिजले भने, ‘त्यसकारण जन्ती जाँदा वा खानपिन आदिको कुरामा पनि केटा पक्षले केटी पक्षलाई कर लगाउनु हुँदैन ।’ तर अहिले त हाकाहाकी यति मान्छे जन्तीमा आउछौं, यो–यो कुरा खाना खान्छौं भनेर पहिले नै कर लगाउने कारण छोरी पक्षलाई जन्तीको स्वागत र व्यवस्थापनमा नै लाखौं रुपैयाँ खर्च हुने गरेको उनले बताए ।

पहिले कति संख्यामा जन्ती आउने कुरा बेहुला पक्षको प्रस्तावमा नभएर बेहुली पक्षले भनेको संख्यामा नै आउनुपर्थ्यो । तर अब उल्टो हुँदै गएको छ । कतिपय बिहेमा बेहुला पक्षले विशिष्ठ व्यक्तित्व (भीआईपी) लाई पनि जन्तीमा आमन्त्रण गरेका हुन्छन् ।

‘भीआईपी जन्तीको स्वागत र बन्दोबस्त गर्न बेहुली पक्षलाई थप आर्थिक भार परिरहेको हुन्छ,’ हुसैनले भने, ‘त्यसैले भीआईपी भनिने सांसददेखि मन्त्री, मेयरदेखि नेतासम्मलाई कुनै पनि छोराको जन्ती बनेर नगइदिनुस् । बरु छोराको घरमा पुगेर आशिर्वाद दिए पुग्छ ।’ भीआईपी भनिने मानिस १ जना मात्र हँुदैनन्, उनको साथमा दलबल पनि जन्तीमा पुग्ने गर्दा ठूलो समस्या हुने गरेको उनले सुनाए ।

मुस्लिम समुदायमा कुनै पनि महिनामा कुनै पनि दिनमा बिहे गर्न सक्ने व्यस्था छ । त्यसको लागि कुनै समयको बन्देज छैन । दिन वा रात कुनै पनि समयमा निकाह हुन सक्छ । 

बढिरहेको दाइजोकै कारण भ्रूण हत्या भइरहेको, बिहेपश्चात पनि छोरीलाई ससुरालीमा हिंसा हुने गरेको, तलाकको सामना गर्नुपरेकाले सबै मुस्लिम समुदाय दाइजोविरूद्ध एकजुट हुनुपर्ने हुसैन बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्