
काठमाडौं– प्रतिनिधि सभाको तुलनामा राष्ट्रिय सभामा सांसदहरूको उपस्थिति सन्तोषजनक देखिएको छ ।
‘परिपक्व’ सांसदहरूको सभा भनेर चिनिने राष्ट्रिय सभाका बहुसंख्यक सदस्य ७५ प्रतिशतभन्दा बढी बैठकमा उपस्थित भएका छन् ।
२०७४ सालमा चलेको संसद्को पहिलो अधिवेशन तथा २०७५ सालमा चलेका दोस्रो र तेस्रो अधिवेशनको हाजिरी विवरणमा सांसदहरूको उपस्थिति सन्तोषजनक पाइएको हो ।
सीमित सांसद बाहेक अधिकांश सांसद ७५ प्रतिशतभन्दा बढी बैठकमा उपस्थित भएका छन् । २०७४ माघ २४ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनपछि सोही वर्षको फागुन २१ गते संसद्को अधिवेशन शुरू भएको थियो । राष्ट्रिय सभाको पहिलो अधिवेशन २०७४ फागुन २१ गते शुरू भई चैत २० गते समापन भएको थियो ।
दोस्रो अधिवेशन २०७५ वैशाख २३ गते शुरू भई असोज ११ गते समापन भएको थियो । यस्तै तेस्रो अधिवेशन पुस ११ गते शुरू भएर चैत्र १० गते समापन भएको थियो । अहिले संसद्को चौथो अधिवेशन चलिरहेको छ ।
सबै बैठकमा उपस्थित हुने उदया शर्मा, कम उपस्थित हुने बादल !
नेकपा सांसद उदया शर्मा राष्ट्रिय सभाका तीनवटा अधिवेशनका सबै ८९ दिनको बैठकमा उपस्थित भएकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष भन्दा पनि धेरै बैठकमा उनी उपस्थित भएको देखिन्छ । चौथे अधिवेशनमा भने एक दिन छुटेको उनी स्वयं बताउँछिन् । ‘तीनवटा अधिवेशनका सबै बैठकमा उपस्थित भएँ, चौथो अधिवेशन (चालू)मा भने एक दिन अनुपस्थित हुनुपर्यो । एकदिन गयल भएकोमा खल्लो लागिरहेको छ,’ सांसद शर्माले लोकान्तरसँग भनिन्, ‘संसद्मा उपस्थित भएर बैठक नसकिँदासम्म बसिरहन्छु ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ८८ बैठकमा उपस्थित भएका छन् । उपत्यका बाहिर रहेका कारण तिमल्सिना एउटा बैठकमा उपस्थित भएका थिएनन् । सो दिनमा उपाध्यक्ष शशीकला दाहालले बैठक शुरू र अन्त्य गरेकी थिइन् ।
संसद् सचिवालयले उपलब्ध गराएको विवरणमा राष्ट्रिय सभाका सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बैठकमा सबैभन्दा कम उपस्थित भएको देखिन्छ । मन्त्री थापा मात्र ३२ दिनको बैठकमा मात्र उपस्थित भएका छन् ।
सत्तारूढ दल नेकपाको सचिवालय सदस्य समेत रहेका बादल राष्ट्रिय सभामा रहेका नेताहरूमध्ये सबैभन्दा शीर्ष तहका हुन् ।
गृहमन्त्रीको हैसियतमा संसदीय समितिका बैठक, प्रतिनिधि सभाको बैठक तथा प्रदेशमा भएका सुरक्षा गोष्ठीमा सहभागी हुनुपरेका कारण गृहमन्त्री बाादलको उपस्थिति कम भएको हुन सक्ने सचिवालयका एक अधिकारी बताउँछन् ।
पढ्नुस यो पनि :
एक दिन हाजिर गरेर महिनाभरीको तलब भत्ता लिन्छन् शीर्ष नेता, केही सांसदको पद नै धरापमा !
२०७४ सालमा सम्पन्न संसद्को पहिलो अधिवेशन अन्तर्गत फागुन महिनामा उनी तीनवटै बैठकमा उपस्थित भएका छन् भने चैत महिनाका ७ दिनमध्ये ३ दिनको बैठकमा मात्र उनी उपस्थित छन् ।
तेस्रो अधिवेशन अन्तर्गत २०७५ चैत महिनामा उनी एक दिन पनि संसद्मा हाजिर भएनन् । चैत महिनामा ४ दिन बैठक बसेको थियो । ११ दिन बैठक बसेको फागुन महिनामा उनी मात्र १ दिन संसद्मा उपस्थित भए । पुस महिनामा १ र माघ महिनामा ३ दिन उपस्थित भएको सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
राष्ट्रिय सभाका सदस्य समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा भने ६० वटा बैठकमा उपस्थित भएका छन् । अर्थमन्त्रीको हैसियतमा संसदीय समिति र प्रतिनिधि सभाको बैठकमा समेत उपस्थित हुनु परेका कारण उनको उपस्थिति पातलो भएको हुन सक्ने सचिवालयका एक अधिकारी बताउँछन् ।
अध्यक्षसरह उपस्थित हुने ४ सांसद
तीनवटा अधिवेशनमा अध्यक्ष गणेश तिमल्सिना ८८ बैठकमा उपस्थित भएका छन् । उनी सरह नेकपाका सांसद रामनारायण बिडारी, नेकपाकी बिना पोखरेल, नेकपाकै सिंहबहादुर विश्वकर्मा र खिमकुमार विक पनि ८८ बैठकमा उपस्थित भएका छन् । बिडारी राष्ट्रिय सभाको विशेष समयमा बोल्ने सांसदमा अग्रस्थानमा छन् ।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाल ८० वटा बैठकमा उपस्थित भएकी छिन् । चर्चित गायिका कोमल वली भने ७१ बैठकमा उपस्थित भएकी छिन् ।
नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले २०७४ सालको चैत्रमा १ दिन पनि हाजिर नभई महिनाभरको तलब लिइन् । ७ वटा बैठकमध्ये उनी एक दिन पनि उपस्थित भइनन् । यस्तै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझी २०७५ असोजको एउटै बैठकमा उपस्थित भएका छैनन् । सोही महिनामा नेपाली कांग्रेसकी विन्दा देवी आले पनि एक दिनपनि उपस्थित भइनन् ।
२०७५ पुस महिनामा नेकपाका हरिराम चौधरी एक दिन पनि उपस्थित भएनन् भने चैत महिनामा समाजवादी फोरमका रामप्रित पासवान एउटै बैठकमा उपस्थित भएनन् । महिनामा एकदिन पनि उपस्थित नभएका सबै सांसदले पनि तलब भने लिएका छन् ।
गाडी र इन्धन सुविधा लिने नेता र सचेतकको उपस्थिति कस्तो ?
संसद् सचिवालयबाट गाडी र इन्धन सुविधा लिइरहेका संसदीय दलका नेता र सचेतकहरूको उपस्थिति पनि औसत छ । सत्तारुढ नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा ७८ दिन उपस्थित भएको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । सत्तारुढ दलको नेताको हैसियतमा उनले गाडी र मासिक २ सय ३० लिटर इन्धन सुविधा लिइरहेका छन् ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे ७७ बैठकमा उपस्थित भएका छन् । विपक्षी दलको नेताको हैसियतमा उनले सचिवालयबाट गाडी र मासिक २ सय ३० लिटर इन्धन सुविधा लिइरहेका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई ७८ बैठकमा उपस्थित भएका छन् भने नेपाली कांग्रेसका सचेतक सरिता प्रसाईं ७१ बैठकमा उपस्थित भएकी छन् । दुवै सचेतकले मासिक २ सय लिटर इन्धन सहित गाडी सुविधा लिइरहेका छन् ।
राष्ट्रिय सभा पहिलो अधिवेशन:
राष्ट्रिय सभाको दोस्रो र तेस्रो अधिवेशन: