
काठमाडौं– दशैंमा काठमाडौंबाट घर फर्किनेहरूका आइतवारदेखि धमाधम अग्रिम टिकट बूकिङ भइरहेको छ ।
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, लगनखेल लगायतका स्थानबाट टिकट बूकिङको व्यवस्था मिलाइएको छ ।
टिकट काउन्टरमा पहिलो र दोस्रो दिन निकै भीड लागेको छ ।
यात्रुहरूले ३/४ घण्टा लाइनमा बसेपनि टिकट नपाएको गुनासो गरेका छन् । भीडका कारण निकै लामो लाइन छ ।
विशेषगरी मध्य र सुदुरपश्चिम जाने बसका टिकट काउन्टरहरूमा भीड देखिएको छ ।
अपांगता भएका यात्रुहरूलाई लाइनमा नबसी काउन्टरबाट सिधै टिकट दिने व्यवस्था मिलाइएको छ ।
टिकट काउन्टरहरूमा बिचौलियाको घुसपैठ हुन नदिन जनपथ प्रहरी परिचालन गरिएको छ ।
अहिलेसम्म कुनै यात्रुले गुनासो गर्न नआएको प्रहरी उपरीक्षक सुवास देउवाले लोकान्तरलाई बताए।
दशैंमा लाखौंको संख्यामा यात्रु राजधानीबाट बाहिरिने गर्छन् ।