चन्दननाथ नगरपालिकामा मेयर रोजगार कार्यक्रम सञ्चालन

जुम्ला – जिल्लाको चन्दननाथ नगरपालिकाले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ । 

चन्दननाथ नगरपालिकाभित्र रहेका १० जना युवालाई रोजगारी दिने उद्देश्यले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको हो । 


Advertisement

६ महिने मोटरसाइकल मर्मत तालिम दिएपछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर कान्तिका सेजुवालले जानकारी गराए । सो कार्यक्रमको शुभारम्भ गर्दै उनले बेरोजगार युवालाई रोजगारी दिने प्रमुख उद्देश्य रहेको बताए ।

तालिम लिएका १० जना युवालाई नगरपालिका जुम्लाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरीदमा ५० प्रतिशत अनुदान दिने उनले बताए । बढ्दो सवारी साधनलाई मध्यनजर गर्दै युवालाई मोटरसाइकल मर्मतको तालिम दिने उनको भनाइ छ । तालिम लिएका युवाले ग्यारेज स्थापना गरी रोजगारी पाउने छन् । 

गत वर्षबाट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेपनि विविध कारणले कार्यक्रम सञ्चालन हुन नसकेको भन्दै उनले यस वर्षदेखि निरन्तररुपमा लागू भएको जानकारी गराए । चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटले मेयर रोजगार कार्यक्रमका लागि नगरपालिकाले १० लाख रुपैयाँ रकम विनियोजन गरेको बताए ।

नगरपालिकाभित्र रहेका १० वटै वडाका १/१ जना इच्छुक युवालाई तालिममा सहभागी गराइने छ । 

कमेन्ट गर्नुहोस्