
बुटवल–पाल्पा सडकअन्तर्गत पर्ने सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ ।
अति नै जोखिमयुक्त यो सडक खण्डमा दुर्घटना भइराख्ने भएकाले कतिपयले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरेका छन् ।
बहुप्रतिक्षित सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न बहुवर्षीय ठेक्काका लागि १० अर्ब १५ करोड स्रोत सुनिश्चिततासहित अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमति प्रदान गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले कानूनबमोजिम बहुवर्षीय ठेक्काको माध्यामबाट निर्माणको खरिद प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिएको जानकारी दिए ।
हेर्नुहोस्, अर्थको पत्र :

टेन्डर आह्यान गर्न बाटो खुला
सुरुङ मार्गका लागि अब टेन्डर आह्वान गरिने सडक विभागका महानिर्देशक केशव शर्माले लोकान्तरलाई जानकारी दिए ।
‘हामीले छिट्टै डकुमेन्ट तयार पार्छौं,’ महानिर्देशक शर्माले लोकान्तरसँग भने, ‘अबको एक महिनाभित्र टेन्डरमा जान्छौं ।’
नेपाल सरकार आफैंले बनाउन लागेको यो पहिलो सुरुङ मार्ग भएको उनको भनाइ छ ।
गत वर्ष स्वीस प्राविधिक टोलीले एकसाता लामो भौगोलिक अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
नेकपा महासचिव विष्णु पौडेल अर्थले स्रोतको सुनिश्चिततासहित सहमति दिएसँगै सुरुङ मार्ग निर्माण प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको बताउँछन् ।
यो परियोजना निर्माणको अवधारणा महासचिव पौडेल अर्थमन्त्री हुँदा नै अघि बढेको थियो ।
स्रोत सुनिश्चिततासहित अर्थमन्त्रालयले दिएको स्वीकृतिपछि यस क्षेत्रका जनताको सपना साकार हुन लागेको महासचिव पौडेलले बताए ।
उक्त सडक खण्डमा हुने दुर्घटना न्यूनीकरणका लागि सुरुङ मार्ग, हाफ टनेल, बेञ्च कट, रकनेटलगायत आधा दर्जन प्रविधिमध्ये कुनै एक प्रविधि अपनाउन सकिने बहस चलेको थियो ।
अन्तिममा सुरुङ मार्ग नै बनाउने निचोडमा सरकार पुगेको हो ।
प्रदेश ५ सरकारले पनि गत वर्ष र यस आर्थिक वर्षमा सिद्धबाबा सडक खण्डका लागि १०–१० करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो सडक खण्डको ३ किलोमिटर क्षेत्र जोखिमपूर्ण छ, जहाँ हिउँद वा वर्षायाम जुनसुकै समयमा पनि पहिरो खस्ने गरेको छ ।
पहिरो र यस क्षेत्रमा भएका सडक दुर्घटनामा परी सयौंले ज्यान गुमाइसकेका छन् ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, बेनी हुँदै उत्तरी नाका कोरालासम्म पुग्ने गाडी चल्ने गर्छन् ।
यस सडक खण्डमा दैनिक सरदर २ हजार ५ सय गाडी चल्दै आएका छन् ।