मलेसियाबाट फर्केपछि स्वदेशी भोगाइ : शुरू गर्ने आँट भए यतै छ तेब्बर कमाइ !

साउन १८, २०७६

धनगढी – मनग्य पैसा कमाएर राम्रो घर बनाउने सपना बुनेर ६ वर्ष अगाडि कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका ३५ वर्षीय इन्द्रबहादुर चौधरी मलेसिया हानिए । ६ वर्ष गुज्रियो ।

विदेश जाँदा बैंकबाट निकालेको ऋण त जसोतसो चुक्ता गरे । सामान्य घरको गर्ज पनि टारे तर खाली हात फर्के । घर बनाउने सपना उनको अधुरै रह्यो । पुरानै अवस्थामा फर्किए । पुनः बेरोजगार भए ।


ADVERTISEMENT

घर परिवारको गर्ज टार्न सकस भयो उनलार्ई । के गर्ने ? के नगर्ने ? केही समय अन्योलमै गुजारे । जे परे पर्ला भनेर विदेश जाँदा ऋण नै काढेर गएका उनी पुनः उनी ऋण सापटी मागेर करीब ८० हजार रुपैयाँको लगानीमा आफ्नै सानो जमिनमा व्यावसायिक तरकारी खेतीमा हात हाले । २०७५ माघदेखि ६ कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती थालेका उनले ३ महिनापछि प्रतिफल पाउन थाले । मलेलियाको कमाइभन्दा तेब्बर बढी कमाइ हुन थालेपछि उनी ढंग परेका छन् ।

मुस्कुराउँदै उनले भने, ‘घर, परिवार, देश छोडेर विदेश गइन्छ । सोचेजस्तो कहाँ हुन्छ र ? बडो मुस्किलले महिनामा २०/२५ हजार बच्थ्यो तर यहाँ थारै जग्गामा गरेको तरकारी खेतीबाट महिनामा ८०/९० हजारको कारोबार हुन्छ । खर्च कटाएर महिनामा ४० हजारसम्म बचत भइरहेको छ । अहिले केही राहत महसूस गरिरहेको छु ।’

उनको बेमौसमी तरकारी बारीमा करेला, लौका, बोडी, काँक्रो, खुर्सानी, घिरौला फल्छ । ग्राहकहरू उनको बारीमै पुग्छन् । बढी भएको तरकारी स्थानीय बजारका साथै धनगढी हाट बजारमा पुुर्‍याउँदै आएका छन् ।

उनी प्रायः धनगढीमा हप्ताको ३ दिन लाग्ने हाट बजारलाई लक्षित गर्दै तरकारी टिप्ने गरेका छन् । उनी हप्तामा ९/१० क्वीन्टल तरकारी बिक्री गर्दै आएको बताउँछन् ।

छोटो अवधि र कम जग्गामा पनि तरकारी खेतीको व्यापार सप्रेपछि उनको परिवार पनि खुशी छ । परिवारजनकै सहयोगमा व्यापार सप्रिन थालेपछि उनी व्यापार विस्तारको नयाँ–नयाँ योजना बनाउन थालेका छन् ।

मलेसिया बसाइको क्रममा उनी १ वर्षसम्म सम्पर्कविहीन समेत भएका थिए । कहिले रोजगारदाता कम्पनी त कहिले शारीरिक अस्वस्थताले उनी सम्पर्कविहीन हुन पुग्थे । जुनकारण उनको परिवारमा पर्नु पीर परेको कृषक इन्द्रकी पत्नी सम्झना चौधरी बताउँछिन् ।

‘हामी सबै हैरान थियौं । ५/६ महिनासम्म उहाँ र हामीबीच कुनै सम्पर्क हुन्थेन । कमाइ त त्यस्तै हो । मुख्य त जीवनसाथीको जीवन हो,’ उनी भन्छिन्, ‘म त भन्छु – बाँकी जीवन जसो पर्ला, जे पर्ला, आफ्नै ठाउँमा गरौं । गरे के हुन्न र ? जे परे पर्ला अब विदेश जान दिन्न ।’

कृषक इन्द्र पनि अब कहिल्यै विदेश नजाने बताउँछन् । धेरै ढिलो गरी आफ्नै गाउँमा व्यवसाय शुरूवात गरेकोप्रति आत्मग्लानी व्यक्त गर्दै उनले अरुहरूलाई पनि विदेश नजान सल्लाह दिन्छन् ।

‘अर्काको भूमिमा पसिना चुहाउनुभन्दा आफ्नै भूमिमा चुहाउँदा के हुन्न र ? मेरो ६ महिनाको अनुभूति अनुसार यहाँ कम लगानी र कम समयमा धेरै गुणा बढी छ । आफ्नै समाज, गाउँ पनि त बनाउनु छ नि ? अब विदेश जान्न,’ उनले अगाडि थपे । 

व्यवसाय सप्रिन थालेपछि उनले थप जग्गामा तरकारी खेती विस्तार गर्ने योजना बनाएका छन् भने गाउँदेखि धनगढी बजारसम्म तरकारी ढुवानी गर्न हालै ढुवानी साधन समेत खरिद गरेको कृषक इन्द्र बताउँछन् ।

आफ्नै गाउँमा बसेर कमाइ गर्न थालेपछि गाउँ समाजले आफूलाई हेर्ने दृष्टिकोण समेत फरक महसूस गरेको उनी बताउँछन् । पहिले–पहिले सामान्य र नकारात्मक दृष्टि राख्नेहरू आजभोलि सम्मानभाव प्रकट गर्दै आएको इन्द्रले सुखानुभूति सुनाउँछन् ।

साउन १८, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस