
थानकोट-चापागाउँ-हरिसिद्धि प्रसारण लाइनमा बन्ने सबस्टेसनका लागि जग्गा अधिग्रहण प्रक्रिया नटुंगिँदै १५ प्रतिशत कमिसनको लोभमा नेपाल विद्युत प्राधिकरणले पावर ट्रान्सफर्मर पहिल्यै खरिद गरेको खुलेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तजबिजीमा आजभन्दा ५ वर्ष पहिला नै ६ अर्बभन्दा माथिको पावर ट्रान्सफर्मर लगायतका सामान किनेर भक्तपुरको खरिपाटीमा लुकाएर राखिएको हो ।
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार गर्न भन्दै वि.सं. २०५५/५६ देखि नै थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बनाउन थालिएको थियो ।
सबस्टेसन निर्माणका लागि अझैसम्म पनि जग्गा विवाद टुंगिएको छैन । तर, घिसिङले पहिल्यै सामान खरिद गरेर राखेका छन् । ५ वर्षअघि नै खरिद गरेर खरिपाटीमा राखिएका ती विद्युतीय सामानहरू अहिले खिया लागेर चल्न नसक्ने अवस्थामा पुगेका छन् ।
स्रोतका अनुसार त्यतिबेला १५ प्रतिशत कमिसनको लोभमा पहिल्यै सामान किनिएको थियो । उक्त प्रसारण लाइन निर्माणको विरोधमा स्थानीयले अवरोध गरेपछि चोभारमा सबस्टेसन निर्माण गर्ने निर्णय १७ माघ २०७८ मा बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
घिसिङले त्यसअघि नै ६ अर्बभन्दा बढीको सामान किनिसकेका थिए ।

खरिद प्रक्रियामा प्राधिकरणका तत्कालीन आयोजना व्यवस्थापन निर्देशक मनोज सिलवालसमेत जोडिएका छन् । अहिले भने उक्त आयोजना दीर्घायु श्रेष्ठले समन्वय गरिरहेका छन् ।
श्रेष्ठले अहिले जग्गा अधिग्रहणको काम चलिरहेको बताए । सामान पहिल्यै किन किनियो भन्ने प्रश्नमा उनले सामान अर्कै आयोजनाका लागि किनिएको हुनसक्ने जवाफ दिए ।
भक्तपुरको खरिपाटीमा लुकाएर राखिएका ट्रान्सफर्मरबारे उनले अनविज्ञता प्रकट गरे ।
'थानकोट-चापागाउँ-हरिसिद्धि प्रसारण लाइनका लागि कतिपय ठाउँमा जग्गाको मुआब्जा स्थानीयले बुझ्न मानेका छैनन्,' उनले लोकान्तरसँग भने, 'सामान अर्कै आयोजनाका लागि किनिएको हुनसक्छ, यसबारे मलाई थाहा भएन ।'
प्राधिकरणका सूचना अधिकारी सर्वजितकुमार चौधरीले आगामी २५ वर्षका लागि उपत्यकाभित्र विद्युत माग र आपूर्ति सहजीकरणका लागि थानकोट-चापागाउँ-भक्तपुरलगायत स्थानमा धेरै आयोजना बनाउन सामान खरिद गरिएको बताए ।
'हामीले जग्गा किन्न खोजिरहेका छौं,' उनले भने, 'हाम्रो नाममा लालपुर्जा आएपछि बल्ल खरिदका लागि ठेक्का-पट्टा हुन्छ ।' पहिल्यै सामान खरिद गरेर खरिपाटीमा राखिएकोबारे आफूलाई जानकारी नरहेको उनको भनाइ छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पनि सबस्टेसनका लागि जग्गा विवाद टुंगिन बाँकी रहेको बताए ।
'हामीले उपसमिति बनाएर अध्ययन गरिरहेका छौं,' उनले लोकान्तरसँग भने, 'मालपोतबाट जग्गाको विवरण लिनुपर्छ । सुनाकोठी-नख्खु कोरिडोर र थानकोट-चापागाउँ-भक्तपुर कोरिडोर दुवैका लागि जग्गा अधिग्रहण प्रक्रियामै छ ।'
यसबारे लेखा समितिले पनि चासो दिएर अध्ययन गरिरहेको छ । समितिका एक सदस्यले भने, 'लेखा समितिमा प्राधिकरणले जग्गा विवाद नसुल्झिदै खरिद गरेको सामानबारे उजुरी परेको थियो । त्यसबारे हामी अध्ययन गरिरहेका छौं ।'
प्राधिकरणको नेतृत्वमा आएपछि घिसिङ ठेक्का प्रक्रिया र अन्य विवादमा मुछिएका छन् । यसबारे लोकान्तरले शृंखलाबद्ध समाचार लेखिरहेको छ ।
अख्तियारमा उजुरी
यसैबीच, पदीय हैसियत दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेको भन्दै गत वैशाख १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने शर्मा थरका एक व्यक्तिले कुलमानमाथि छानबिन र कारबाहीको माग गर्दै उजुरी गरेका हुन् ।
२२ वर्षअघि विद्युत प्राधिकरणमा जागिर खान शुरू गरेका घिसिङले चिलिमे आयोजना प्रमुख हुँदा भ्रष्टाचार गरेर धुलिखेलमा २५ रोपनी जग्गा खरिद आरोप उक्त उजुरीमा लगाइएको छ ।
त्यस्तै, आफ्नो परिवारका सदस्य (दाजुभाइ र भतिज)को नाममा तेन्देल हार्डवेयर खोलेको र लामा कन्स्ट्रक्सनको करोडौंको शेयर खरिद गरेको पनि उक्त उजुरीमा आरोप लगाइएको छ ।
घिसिङ पहिलोपटक प्राधिकरणको नेतृत्वमा आएको एक वर्षपछि उनका सहोदर दाजुभाइ गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङको बराबर शेयर रहने गरी तेन्देल हार्डवेयर खोलिएको थियो ।
तीन करोडको लगानीमा खोलिएको उक्त कम्पनीले अहिले वार्षिक ६० करोड भन्दा बढीको कारोबार गर्छ । अहिले उक्त हार्डवेयरको ३ ठाउँमा शाखा समेत सञ्चालनमा छ ।

घिसिङले ठेकेदार कम्पनीहरूलाई आफ्नो हार्डवेयरबाट सामान किन्न दबाब दिने गरेको आरोप लाग्ने गरेको छ ।
त्यस्तै, २०७९ को साउन २६ गते घिसिङका दाजु गणेशका छोरा अरुणको नाममा लामा कन्स्ट्रक्सन कम्पनीको १२ दशमलव ५ प्रतिशत शेयर खरिद गरिएको छ ।

साढे ४ अर्बको सम्पत्ति रहेको मूल्यांकन गरिएको उक्त कम्पनीको शेयर किन्न ५५ करोड खर्च गरिएको थियो । सामान्य आर्थिक हैसियतका कुलमानको परिवार अहिले अर्बौं परिचालन गर्न सक्ने हुनु नै भ्रष्टाचार भएको जिकिर उजुरीमा गरिएको छ ।
हेरौं भिडियोः
हेर्नुहोस्, कुलमानबारे लोकान्तरले यसअघि लेखेका शृंखलाबद्ध समाचार :
सोलार ग्रिडमा ६८ करोड झ्वाम: आफूखुसी ठेकेदार रोजेर पौने ४ अर्बको ठेक्का [प्रमाणसहित]
प्राधिकरणमा अनियमिताको चाङ : कानून मिचेर गरेको खरिदले एकै वर्षमा ८४ करोड नोक्सानी
दाइको लगानी भएको कम्पनीलाई कुलमानको उपहार: ४ करोडमा हुने काम रोकेर १३ करोडमा नयाँ ठेक्का !
कोशी कोरिडोर सबस्टेसन ठेक्कामा अनियमितता: कुलमानको स्वार्थमा राज्यलाई ५७ करोड नोक्सानी
स्मार्ट मिटरमा घोटाला: ६ गुणा महंगो तिरेर २ अर्बमाथिको खरिद, कुलमानमाथि अख्तियारको छानबिन