
पोखरा महानगरपालिका वडा १३ मा रहेको एक घरभित्रै चितुवा पसेको छ । चितुवाको आक्रमणबाट ३ जना सामान्य घाइते छन् ।
मियाँपाटनस्थित खगेन्द्रबहादुर गुरुङको घरभित्र बिहीबार बिहान ७ बजे चितुवा पसेपछि आतंक मच्चिएको थियो ।
चितुवा धपाउने क्रममा पोखरा १३, मियाँपाटनका ३० वर्षीय श्याम थापालाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले थापाको टाउको र हातमा चिथोरेको छ ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
चितुवाले सशस्त्र प्रहरीका हवल्दार ३६ वर्षीय फटिक मगर समेत सामान्य घाइते छन् ।
अफ ड्युटीमा रहेका हवल्दार मगर आफन्तको घरमा जाँदा त्यहाँ पुगेका थिए । उनलाई समेत चितुवाले शरीरका केही भागमा चिथोरेको छ ।
स्थानीयले चितुवालाई गुरुङको घरको बाथरुमभित्र थुनेपछि वन कार्यालय र प्रहरीलाई खबर गरिएको थियो ।
पछि वन कार्यालय अधिकृत रामजी श्रेष्ठ सहितको टोली पुगेको थियो ।
बाथरुममा थुनिएको चितुवालाई नियन्त्रण लिने क्रममा वन कार्यालय अधिकृत श्रेष्ठलाई समेत चितुवाले सामान्य चिथोर्न पुगेको थियो ।
कास्कीको छिमेकी जिल्ला तनहुँमा भने चितुवाले आतंक मच्याउने गरेको छ ।
गत माघ २३ मा पोखरा ३२, कोठेडाँडाकी ९ वर्षीया पूजा बिकलाई चितुवाले आक्रमण गरी मारेको थियो ।