
वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई राख्नका लागि कास्कीको रुपा गाउँपालिकाले २० शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ ।
गाउँपालिका वडा ५ स्थित विश्वशान्ति माविमा अस्थायी रुपमा निर्माण गरिएको क्वारेन्टाइनमा पहिलो दिन मंगलवार १३ जनालाई राखिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष ओझाले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारीबाट गाउँ फर्किएकाहरू सम्भावित कोरोना संक्रमित हुन सक्ने भएकोले सुरक्षार्थ क्वारेन्टाइन निर्माण गरिएको हो । पहिलो दिन मंगलवार मात्रै १३ जनालाई ल्याइएको छ । आउन नमान्नेलाई बल समेत प्रयोग गरिने छ ।’
क्वारेन्टाइनमा बस्नेहरू भारत, साउदी, दुबई, मलेसिया, कतार लगायत देशमा वैदेशिक रोजगारी गरी फर्किएकाहरू हुन् । उनीहरूलाई अबको १४ दिनसम्म त्यहीँ राखिने र नियमित स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।
क्वारेन्टाइनमा वाईफाई, पिउनेपानी तथा टेलिभिजन सुविधा छ । खानपान र औषधी उपचारको व्यवस्था गाउँपालिकाले गर्नेछ ।

गाउँपालिकाका ५ वटै स्वास्थ्य चौकीहरू चौबीसै घण्टा खुला हुने जनाइएको छ । उपचारका लागि अन्यत्र लैजानु परेपनि गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने छ ।
कास्कीमा पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुछ्रे, मादी र रुपासहित ५ वटा पालिका छन् ।