संक्रमितको पहिचान र संक्रमण नेटवर्क विच्छेदका लागि के गर्ने ? न्यायाधीश कुँवरका यस्ता छन् सुझाव

उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरले लकडाउनको प्रभावकारिता र संक्रमणको नेटवर्क विच्छेदका लागि सरकार र आम जनताले गर्नुपर्ने कामहरूलाई सुझावका रूपमा प्रस्तुत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत न्यायाधीश कुँवरले सरकारले चालेका हरेक कदमहरूको मन, वचन र कर्मले अनिवार्य कडाइका रूपमा परिपालना गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।


Advertisement

पढ्नुहोस् न्यायाधीश कुँवरले दिएका सुझावहरू -

कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राखी सरकारले लकडाउनलाई अझै बढी कडाइका साथ पालना गर्न सम्पूर्ण नागरिकहरुलाई अनुरोध गरेको छ  । निश्चित रुपमा लकडाउनको अवधि अरु लम्बिने स्थिति रहेको छ  । नेपालजस्तो मुलुकका लागि यो भन्दा प्रभावकारी उपाय अरु केही हुन सक्दैन भन्ने विश्वको अनुभव र विशेषज्ञहरुको रायबाट पुष्टि हुन्छ  ।


Advertisement

त्यसकारण समयको यस गम्भीर मोडमा हामी सबै नेपाली नागरिकहरुले सरकारले चालेका हरेक सकारात्मक कदमहरुको मन, वचन र कर्मले ऐच्छिक होइन कि अनिवार्य रुपमा कडाइका साथ परिपालना गर्नु आवश्यक छ ।
तर नियम र आदेशको प्रभावकारी पालना कसरी सम्भव हुन सक्छ भन्ने नै अहिलेको मुख्य चुनौती देखिन्छ ।

आज हामीबाट हुनसक्ने एक मात्र हेलचेक्र्याईं, हल्का सोच र सानो गल्तिले भोलि मुलुकमा भयावह अवस्था आउन सक्दछ । त्यसकारण संघीय सरकारको अनुरोधलाई हुबहु पालना गर्न प्रदेश सरकार, स्थानीय सरकार र नागरिक स्तरबाट निम्न बमोजिमको कार्यहरु गरिनु आवश्यक छ-

लकडाउनको प्रभावकारिकताका लागि

१. सरकारले जारी गरेको एक प्रदेश, जिल्ला र नगर वा पालिकाबाट अर्को क्षेत्रमा जाँदै नजाने भन्ने निर्णयको अक्षरशः पालना गर्ने ।
२. हामी नेपालीहरुको बानी बेहोरा हेर्दा उक्त निर्णय त्यत्तिकै पालना हुने देखिन्न । त्यसकारण त्यसको अनुगमन तीनै तहका सरकारहरुले आ आफ्नो सिमानासम्म अनवरत रुपमा गर्ने गरी संघ, प्रदेश र स्थानीय सरकारले मिलाउने ।
३. लक डाउन अवधिभर स्थानीय सरकारहरुले प्रत्येक वडालाई एक एक वटा इकाइ मानी एक वडाबाट अर्को वडामा जान नपाउने नियम तुरुन्त लागु गर्ने ।
४. खास गरी भित्रि इलाकामा अनुगमन पनि नपुगेकोले मानिसहरुले अनावश्यक आवतजावत गरेको देखिएको छ । त्यसलाई निरुत्साहित वडाले नै गर्नसक्छ ।
५. प्रत्येक वडाध्यक्षको नेतृत्वमा नियमको परिपालनाको अवस्था बारे अनुगमन गर्ने ।
६. लक डाउन अवधिभर प्रत्येक वडाबाट कसैले पनि एक टोलबाट अर्को टोलमा जान नपाउने ।
७. प्रत्येक वडा सदस्यको नेतृत्वमा नियमको परिपालनाको अवस्था बारे अनुगमन गर्ने ।
८. लक डाउन अवधिभर प्रत्येक घरको मुख्य व्यक्तिले आ आफ्नो घरको कुनैपनि सदस्यलाई घरबाट बाहिर जान रोक लगाउने ।
९. निजले सो को अनुगमन पनि गरिरहने ।
१०. बिहान र साँझ मानिसहरु निस्फिक्री हिंडिरहेको पनि देखिएको छ । त्यसो नगरिदिन र घरमै बसी योगा, ध्यान आदि गर्न स्थानीय लेवलमा सूचित गरिरहने ।
११. स्थानीय सरकारहरुले सबै वडामा वडाको फैलावट समेतलाई हेरी टोल टोलमा सूचना गर्न हाते माइक र सूचनामा के के कुरा उल्लेख गर्ने हो सो समेत उपलब्ध गराइ टोलीहरु खटाउने ।
१२. अत्यावश्यक कामको लागि भनेर सरकारी पासको दुरुपयोग हुनसक्ने प्रबल संभावना भएकोले त्यसतर्फ कडा अनुशासन पालना गर्ने ।
१३. तराइ पहाड र हिमाली क्षेत्रका आआफ्नै भौगोलिक विशेषता, बस्तीको बनोट, चेतना स्तर र भाषा, संस्कृति समेतको विविध पहिचान भएकोले ती ठाउँ अनुसार ती सबै कुराबाट पर्न सक्ने असुविधाहरु समेत निवारण हुने गरी तत्तत् स्थानीय सरकारहरुले व्यवहारिक उपायको अबलम्बन गरी केन्द्र सरकारको अनुरोधलाई लागु गर्ने गराउने ।

संक्रमितको पहिचान र संक्रमण नेटवर्क विच्छेदका लागि

अर्को एउटा महत्वपूर्ण चुनौती छ, त्यो हो संक्रमितको पहिचान कसरी गर्ने । यसमा निम्नलिखित उपाय बढी प्रभावकारी हुन सक्ने देखिन्छ -

१. धेरै मानिसहरु भारतबाट र अरु केही अन्य मुलुकबाट घर फर्केका छन् । उनीहरु हाल कहाँ रहेका छन् ? यो नै मुख्य खोजको विषय हो ।

२. चीनमा यो महामारी शुरुभएपछि नेपाल फर्किएका व्यक्तिहरुको एकिकृत तथ्यांक कुनै निकायमा रहन संभवको कुरै भएन । तर आफू कुन मुलकबाट आएको हुँ भन्ने कुराको तथ्य स्वयम सोही व्यक्तिलाई थाहा हुने कुराभयो । अब यो कुरा लुकाएर बस्नु भनेको आफू, आफ्नै परिवार, इष्टमित्र र छरछिमेक र अन्ततः राष्ट्रलाई नै धोका दिनु हो । त्यसैले यस्ता व्यक्तिहरुले आफू यो मितिमा यो मुलुकबाट आएको हुँ भनी तत्कालै अब एक मिनेट ढिला नगरी स्वघोषणा गर्न आवश्यक छ ।

३. स्वघोषणा कसरी कुन माध्यमबाट गर्ने  । यो पनि जटिलता छ  । यसका लागि निम्न अनुसार व्यवस्था गर्न सकिन्छ –

  • माथि भनिएजस्तै प्रत्येक स्थानीय सरकारलाई जिम्मेवारी दिने ।
  • स्थानीय सरकारहरुले तीन दिन जति व्यापक रुपमा माइकिंग गरी गाउँ गाउँ, वडा वडा, टोल टोल र घर घरमा सूचना प्रवाह गर्ने ।
  • बाहिरबाट आएका र उनीहरुले संपर्क भेटघाट गरेका प्रत्येक मानिसको विवरण ती विदेशबाट आएका मानिसले घरबाट माथि भनिएको वडासदस्य सम्मिलित टोल समिति र सो मार्फत वडाध्यक्ष हुँदै नगर तथा पालिकामा अभिलेख प्रश्तुत गर्ने ।
     
  • यसका लागि वडाहरुले टोल फ्री नम्बर पनि उपलब्ध गराउने ।
    अभिलेखमा आएको मुलुक, मिति, परिवार संख्या, हालको स्वास्थ्य अवस्था र आजसम्म भेटघाट गरेका व्यक्तिको नाम ठेगाना खुलाउने ।
     
  • विदेशबाट आएको व्यक्तिले भेटेकाहरुको संपर्कको दायरा पनि खोज्दै अभिलेखिकरण गर्दै जाने ।
     
  • उल्लिखित सूचना नेपालमा हाल चालु रहेका सबै टेलिभिजन च्यानल एफ एम लगायतका रेडियो पत्रपत्रिकाबाट स्थानीय भाषामा समेत प्रसारण गर्ने ।
     
  • स्वघोषणाको लागि अनुरोध छ भन्ने सूचनाको प्रभावकारिताका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले नै यस महामारीमा जनताको साथका लागि गर्ने नियमित सम्बोधनको चाजोपाँजो तत्काल मिलाई सम्बोधन आव्हानको कार्यक्रम राखी अन्य कुराहरुको अतिरिक्त एउटा मुख्य बुँदा यो समेत राख्न उपयुक्त हुन्छ ।
     
  • यस प्रबन्धका लागि गठित उच्च स्तरिय समितिको ध्यान जानु आवश्यक छ ।
     
  • यसरी संकलित अभिलेखकको आधारमा शंकित व्यक्तिहरुलाई क्वारेन्टिन गर्न र उपचारमा पठाउन थप सहज हुने छ ।
    माथि भनिएका कार्यहरु अझै पनि र यथासक्य छिटो गर्न सकियो भने संक्रमितको जालो तोड्न सकिने छ ।

पढ्नुहोस् यो पनि - भारतीय सीमामा रोकिएका नेपालीलाई के गर्ने ? न्यायाधीश कुँवरले दिए मननयोग्य सुझाव

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्