काठमाडौं– मनोविद् बासु आचार्यकहाँ केही समयअघि यस्ती मानसिक रोगी आईन जसमा संसार चलाउने दम्भ थियो । आचार्यका अनुसार अन्दाजी ३५ वर्षकी उनी ब्रह्माण्ड चलाउने अलौकिक शक्ति आफूभित्र भएको भ्रम पाल्थिन् ।
‘यो संसार मैले थेग्ने हो र त्यसका लागि लागि तिमीहरूले के –के सहयोग गर्छौ भन् भनेर उनी थर्काउँथिन्,’ आचार्यले लोकान्तरसँग भने । आचार्यका अनुसार तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग प्रत्यक्ष सम्पर्कका लागि पहल गरिदिनका लागि परिवारसहित ती महिला उनीकहाँ आएकी थिईन् ।
‘हाम्रो मस्तिष्कका दम्भभावले अत्यधिक चाप्न थालेपछि यस्तो मानसिक विचलन देखिन्छ,’ आचार्य भन्छन् । मानिसको मष्तिष्कका केही अवयवले राम्रोसँग काम नगर्दा उन्माद (मानिया)बढ्ने र त्यसले दम्भ अत्यधिक बढाउने आचार्य बताउँछन् ।
हातपातै गर्ने मानसिक रोगी
आचार्यका मानसिक परामर्शका क्रममा आफूले कैयौंपटक कार्यकक्षमै कुटाइ खाएको अनुभव सुनाए । ‘उन्माद्का रोगीहरू यस्ता हुन्छन् कि उनिहरू आफूमात्र सर्वेसर्वा ठान्छन्, अलिकति चित्त नबुझ्ने कुरा गर्नेवित्तिकै भौतीक आक्रमणमै उत्रिन्छन्,’ उनी भन्छन्, ‘केही समयअघि यस्तै एक रोगीलाई परामर्श दिँदा आक्रमणमै उत्रिए, म सामान्य घाईतेसमेत भएँ ।’ उन्माद् बढेकाहरूमा आफूमात्रै संसारमा जान्ने, बुझ्ने ठान्ने भ्रम हुने उनी बताउँछन् । भारतमा परामर्शका क्रममा एकपटक मुखै फुट्ने गरी कुटाई खाएको उनको अनुभव छ ।
‘केही समय पहिले एउटी महिला नेतृ आईन उनी पनि झण्डै भौतीक आक्रमणमा उत्रिएकी थिइन, पछि सम्झाएर पठाएँ,’ उनले आफ्नो अनुभव सुनाए ।
मरिसकेको विरामीको उपचार !
आचार्यका अनुसार साइकोटिक रोगका पीडित मनोरोगी आफूलाई मरिसकेको ठान्छन् । ‘केही समय पहिला यस्ता एक मानसिक रोगी आए जो आफूलाई मरिसकेको ठान्थे,’ आचार्य भन्छन्, ‘म नमरेको भए मलाई नमर्दाखेरिको जस्तो शाहस र मज्जा खोइ भनेर उनी जिद्दी गर्थे ।’ सामान्य अवस्थामै हवाईजहाजबाट खसेको अनुभूति हुने उनको रोग मनोपरामर्शपछि न्यून भएको आचार्यले बताए । ‘ऊ अहिले आफूलाई २० प्रतिशतमात्र मरेको ठान्छ, मानसिक रोग समाधान हुने क्रममा छ,’ आचार्यले भने ।
सडकमा ढुंगा फ्याँक्दै हिँड्ने मनोरोगी
‘एउटा यस्तो विरामी आचार्यकहाँ आए जो बाटोमा ढुंगा फ्याँक्दै हिँड्थे । बाटोमा ढुंगा हुँदा सवारी दूर्घटनामा पर्ने र दूर्घटनाका कारण आफू जेल जानुपर्ने डरले उनी बाटोका ढुंगा फ्याँक्दै हिँड्थे,’ आचार्य भन्छन्, ‘अत्यधिक शंका गर्ने र मष्तिश्कमा एउटै कुरामात्र खेलिरहने रोगबाट पीडितहरूमा यस्तै समस्या हुन्छ ।’
डिप्रेसन र एङ्जाइटीको समस्या बढी
मनोविद् आचार्य मानसिक रोग अन्तर्गत पछिल्लो समय डिप्रेसन (दिग्दारीपन) र एङ्जाइठी (आत्तिने) समस्या लिएर आउनेको संख्या धेरै रहेको बताउँछन् । ‘डिप्रेसन र एङ्जाईटी नेपालमा मानसिक रोगका प्रमुख समस्या हुन्,’ उनी भन्छन् ।
वैदेशिक रोजगारीमा जानेमा मानसिक रोग भयावह
मनोविद् आचार्य वैदेशिक रोजगारीका क्रममा विदेशमा कार्यरत् नेपालीहरूमा मनोरोग विकराल समस्याको रुपमा रहेको बताउँछन् । ‘रोजगारीका क्रममा दक्षिण कोरिया, जापान तथा खाडी मुलुकमा कार्यरत् नेपालीहरूमा मनोरोगको समस्या भयावह देखिन्छ,’ आचार्य भन्छन् ।
रोजगारीका क्रममा बाहिरीने नेपालीहरू फरक परिवेशमा भिज्न नसक्दा यस्तो समस्या देखिएके उनी बताउँछन् । आफ्नो घरपरिवार, साथीभाई र परिचित परिवेशबाट अलग हुनुपर्दा मानसिक रुपमा बेचैन र दिग्दारीपन् बढ्ने उनको भनाई छ ।
विकसिक मुलुकमा झन भयावह
आचार्य नेपालजस्ता अल्पविकसित तथा विकासशिल मुलुकमाभन्दा विकसित मुलुकमा मानसिक समस्या झन भयावह रहेको बताउँछन् । ‘जापान, अमेरिका, कोरीया लगायतका विकसिन मुलुकका तुलनामा त हामीमा मनोरोग समस्या निकै कम छ,’ उनी भन्छन्, ‘नेपालीका अहम् प्रतिरक्षा प्रणाली विकसित मुलुकको भन्दा बलियो देखिन्छ ।’ खुला परिवेश र भौतीकवादी सामाजिक प्रणालीका कारण विकसित मुलुकमा मानसिक समस्या भयावह रहेको उनको तर्क छ ।
नयाँ पुस्ता बढी ग्रसित
नयाँ पिँढी मानसिक समस्याबाट तुलनात्मक रुपमा बढी पीडित रहेको मनोविद् आचार्य बताउँछन् । ‘अहिलेका नयाँ पुस्ता कसैको कुरै टेर्दै टेर्दैनन्,’ उनी भन्छन्, ‘उनीहरूमा आफूलेमात्र जानेकोमात्रै सत्य र अरुको कुरा स्वीकार्दै नस्वीकार्ने प्रवृति नयाँ पुस्तामा हावी भएको देखिन्छ ।’
आफैले जानेको कुरामात्रै सत्य हुन् भन्ने समस्या नयाँ पुस्तामा रहेको समेत उनी बताउँछन् ।
सूचनाप्रविधिले नयाँ पुस्तालाई आफू केन्द्रीत बनाएको उनी बताउँछन् । भोगाई र अनुभवको कमी र प्रविधिले निम्त्याएको ज्ञानको प्रचूरताले पनि यस्तो समस्या देखिएको उनको विश्लेषण छ । उनिहरूलाई उचित मानसिक स्वास्थ्य शिक्षाको आवश्यक रहेको उनको ठहर छ ।
दैनिक ३ सय फोन कल, ३० जनासँग प्रत्यक्ष परामर्श मनोविद् आचार्यका अनुसार पछिल्लो समय मनोरोगको समस्या भयावह बन्दै गएको छ । उनका अनुसार मनोपरामर्शका लागि भनेर उनलाई दैनिक ३ सयजति कल आउँछन् । आफूले नियमित झण्डै ३० जनासँग प्रत्यक्ष मनोपरामर्श दिने गरेको उनको भनाई छ । उनलाई विदेशमा रहेका नेपालीले फेसबुक, भाइबर, स्काइप लगायतका सामाजिक सञ्जालबाट मनोरोग सम्बन्धि समस्या सुनाउने र सल्लाह लिने गर्छन ।
निको हुनसक्छ मानसिक समस्या
आचार्यका अनुसार समयमै उपचार र परामर्श पाएको खण्डमा जस्तोसुकै मानसिक समस्या पनि समाधान हुनसक्छ । पागलपनबाहेकका अधिकांश मानसिक समस्या समाधान गर्न सकिने उनको भनाई छ ।
६० लाख नेपालीलाई मानसिक समस्या !
मनोविद् आचार्यका अनुसार नेपालमा झण्डै ६० लाखलाई मानसिक समस्या छ । साधारण र औषत गरेर उक्त संख्याका नेपालीलाई मानसिक समस्या रहेको उनको भनाई छ । झण्डै ७ लाखलाई त गम्भीर मानसिक समस्या रहेको उनले बताए । मानसिक समस्या राष्ट्रिय रोगकै रुपमा फैलिएको उनी बताउँछन् ।
मनोविज्ञानमा स्नातकोत्तर उनी भूकम्पअघि मुम्बईकै एक क्लिनिकमा कार्यरत् थिए । भूकम्पपछि नेपालमा मनोचिकित्सा आवश्यक रहेको ठहर गर्दै उनी नेपाल आएका थिए । उनी विगत ६ वर्षदेखि मनोचिकित्सा सेवा प्रदान गरिरहेका छन् ।