
कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व नै आक्रान्त बनिरहेको बेला पोखरा महानगरपालिकामा त्यसको न्यूनीकरण उपाय खोजिएको छ ।
यहाँका विभिन्न अत्यावश्यक कार्यालय तथा अस्पतालहरुमा सेनिटाइजर मेसिन जडान थालिएको हो । न्यूरोडस्थित पोखरा महानगर कार्यालय जानुअघि तपाइ सेनिटाइजर मेसिनभित्र छिर्नुपर्छ । नभए कार्यालयमा प्रवेश गर्न रोक लगाइएको छ ।
नेपाल इन्जिनीयरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा कार्यालयले डेढ लाख रुपैयाँ लागतमा सो मेसिन जडान गरेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।
मानिसको कपडामा हुन सक्ने कोरोना भाइरस मार्ने स्वचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै सधैँ लकडाउन सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए ।
उनले सर्वसाधरणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने बताए ।
उनले कोरोनाले अहिले हाम्रो दैनिकलाई मात्र असहज बनाएपनि यसले दीर्घकालीन रुपमा पार्ने आर्थिक असरलाई पनि अहिलेदेखि नै ‘मेकअप’ गर्ने योजनासहित काम गर्नुपर्ने बताए ।
मेयर जिसीले इन्जिनियरहरुले बनाएको यो सेनिटाइजर टनेललाई पोखराको ब्रान्ड बनाउनुपर्ने बताए । सेनिटाइजर टनेलले कोरोना संक्रमणलाई रोकथाम गर्न सहयोग पु¥याउने बताए ।
करीब ५ सेकेन्डमा यो स्वचालित सेनिटाइजर टनेलले सम्पूर्ण शरीर सेनिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष इञ्जिनियर बाबुराम भण्डारीले जानकारी दिए ।
गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राख्नु पर्ने उनको सुझाव छ । नेपाल इन्जिनिरिङ एसोसिएसनमा आवद्ध इञ्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी सोे टनेल निर्माण गरेका हुन् ।
एक लिटर सेनिटाइजरले १७ जनाको शरीरलाई सेनिटाइज गर्नेछ । नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकी उपाध्यक्ष धु्रव भट्टराई सेनिटाइजर टनेलको माग आएको खण्डमा प्राविधिक सहयोग निःशुल्क गर्न एनइए तयार रहेको बताए ।
सो खालको मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत जडान गरिने बताइएको छ ।