२१ असार २०८३, आइतबार

कर्णालीमा घट्दै कोरोना संक्रमण, २२१ जना मात्रै आइसोलेसनमा

साउन ३, २०७७
कर्णालीमा घट्दै कोरोना संक्रमण, २२१ जना मात्रै आइसोलेसनमा

कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दैनिक रुपमा घट्दै गइरहेको सामााजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार साउनको १ गते १२ जनामा कोरोना पुष्टि भएको थियो भने साउन २ गते ७ जना र ३ गते शनिवार ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

‘२०७७ जेठ ५ गतेदेखि ३२ गतेसम्म कर्णालीमा ९५७ जनामा कोरोेना देखिएको थियो । असार १ गतेदेखि ३१ गतेसम्म ७५७ जनामा कोरोना देखिएको छ तर साउनमा भने २३ जनामा मात्रै कोरोना पुष्टि भएको हो,’ उनी भन्छन्, ‘दैलेखमा हालसम्म ८११ जनामा कोरोना देखिएको छ भने सुर्खेतमा ४९७ जनामा कोरोना देखिएको हो । सल्यानमा २२० जनामा कोरोना देखिएको छ । जम्मा १ हजार ७३७ जनामा कोरोना पुष्टि हुँदा २२१ जना मात्रै आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।’

कर्णालीमा हालसम्म ३६ हजार ७२३ जनाको स्वाब जाँच गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले १८ हजार ४६४ जनाको स्वाब जाँच गरेको छ । प्रदेश अस्पताल कालागाउँ सुर्खेतले १६ हजार २३९ जना, दैलेख अस्पतालले १ हजार २४४ र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशाला रुकमु पश्चिमले ७७६ जनाको पीसीआर जाँच गरेको छ ।

दैलेखमा ३४ जना, सुर्खेतमा १२६ जना, जाजरकोटमा ५ जना, सल्यानमा १६ जना, रुकुम पश्चिममा १२ जना, जुम्लामा ६ जना, कालिकोटमा ११ जना, मुगुमा र डोल्पामा १/१ जना आइसोलेसनमा रही उपचार गराइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्