३२ असार २०८३, बिहीबार

कारागार भत्केपछि कैदी महिला अन्य जिल्ला सरुवा

साउन ७, २०७७
कारागार भत्केपछि कैदी महिला अन्य जिल्ला सरुवा
प्रतिकात्मक तस्वीर

विगत ३ दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । 

वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । मंगलवार राति पर्खाल भत्किएको कारागारले जनाएको छ ।
 
पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ । महिला बन्दीगृहमा ७ बन्दी रहेका थिए ।

उनीहरूमध्ये ५ जनालाई बाग्लुङ र २ जनालाई म्याग्दी जिल्ला कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार जीर्ण बनेको पर्खाल ठूलो वर्षाका कारण भत्किएको हो । कारागारका अन्य पर्खाल पनि जीर्ण छन् ।
 
एउटै जिल्लामा सबै जना नअटेका कारण २ जिल्लामा बाँडेर स्थानान्तरण गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । कारागारमा महिला बन्दीगृह बनाउन शुरू गरिए पनि बजेट अभावमा १ दशकदेखि अलपत्र बनेको छ । 

अलपत्र भएको बन्दै गरेको महिला बन्दीगृहको पर्खाल पनि भत्कने अवस्थामा पुगेको छ । यसअघि पनि पर्वत जिल्ला कारागार पटक–पटक भासिने समस्या थियो । १५ जनाको क्षमता रहेको कारागारमा अहिले ८० भन्दा बढी कैदीबन्दी छन् । पुरुषतर्फको बन्दीगृहमा भने कुनै समस्या नरहेको प्रजिअ रेग्मीले बताए ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतको भवन पनि भत्किएको छ । निरन्तरको वर्षाका कारण जमिन भासिँदा कर्मचारीको आवास रहेको एकतले भवन भत्किएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार केही दिनअघि भासिएको थियो । त्यसपछि त्यहाँ कर्मचारी बस्न छाडेका थिए । 

मंगलवार रातिको पानीले भवन नै भत्किएको उनले बताए ।– लक्ष्मीप्रसाद सापकोटा/रासस

salt training

कमेन्ट गर्नुहोस्