०१ साउन २०८३, शुक्रबार

गणेश रथयात्रा स्थगित, घरघरमा गणेशको पूजा आराधना

भदौ ६, २०७७
गणेश रथयात्रा स्थगित, घरघरमा गणेशको पूजा आराधना

गणेश चतुर्थीका अवसरमा विक्रम संवत् २०६६ सालदेखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएकामा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्थगन गरिएको छ । 

गणेश चतुर्थीका दिन उपत्यकाका ४ गणेशलगायत अन्य गणेशस्थानमा पूजा आराधना गरी रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गर्ने गरिएको थियो ।

यस वर्ष भदौ ७ गते आइतवार ऋषिपञ्चमीका दिन गरिने रथयात्रा कोरोनाबाट बच्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण स्थगन गरिएको धर्मसभाका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए ।

धर्मसभाले शुरू गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । धर्मसभाले शुरू गरेपछि विक्रम संवत् २०६५ सालदेखि भाद्र शुक्ल चतुर्थीका दिन राजधानीलगायत देशभर गणेश भगवान्को बृहत्रुपमा पूजा आराधना शुरू भएको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा शनिवार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यस वर्ष काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले घरघरमै पूजा आराधना गरेका छन् ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । शनिवार हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि घर घरमै यो कर्म गरिएको हो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।
मंगल चतुर्थी समेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । आजका दिन विधिपूर्वक भगवान् गणेशको पूजा आरधना गरेमा वषैभर कुनै विघ्नबाधा पर्दैन भन्ने धार्मिक विश्वास छ ।

धर्मसभाको ११ औं स्थापना दिवस

काठमाडौं उपत्यकामा सबैभन्दा बढी गणेश मन्दिर छन् । राजधानीमा करीब ४ गणेश मन्दिर रहेका एक अध्ययनले देखाएको धर्मसभाका अध्यक्ष भट्टराईले बताए । विक्रम संवत् २०६५ गणेश चतुर्थीका दिन स्थापना भएको धर्मसभाले शनिवार ११ औं वार्षिकोत्सव गणेशको पूजा आराधना गरी मनाएको छ । अन्य देवी देवताका सम्प्रदाय भएपनि गणेशको कुनै सम्प्रदाय छैन ।

हिन्दू, बौद्ध दुवै गणेशलाई अग्रपूज्य देवताका रुपमा उपासना गर्दै आएका छन् । गणेशको शरीरमा कुनै विज्ञान नै रहेको विश्वास समेत गरिन्छ । विभिन्न किसिमका लोकोपवादबाट बच्न गणेश चतुर्थीका दिन केही बिगो गरेमा दोष मुक्त भइने विश्वास समेत नेपाली समाजमा छ । यसै विश्वासले गाउँ घरतिर काँक्रा, फर्सी जस्ता अनाज चोरेर खाने चलन समेत छ । जसलाई चौंथी हान्ने भनिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्