कोरोनासँग कठिन लडाइँ लडेकी सुनिताको त्रासदीपूर्ण अनुभव– बेसारपानीको मात्र भर नपर्नुहोला !

  • सुनिता न्यौपाने

अगस्ट २८ सन् २०२० का दिन पाहुना आउन लागेकाले खाना बनाएँ । घर सफा गरें अनि पाहुनाको प्रतीक्षामा बसे । साँझ करीब ७.३० तिर ३ जना आइपुग्नुभयो । खाना खाएर गफगाफ पछि सुत्दा ११ बजेको थियो ।


Advertisement

भोलिपल्ट २९ अगस्तका दिन खाना खाएर गाडीमा घुम्न निस्किएँ । करीब ३ घण्टा घुमेर घर फर्किँदा पानी परिहरेको थियो । त्यसपछि घरमै बस्यौं ।

३० अगस्तका दिन हामी ३ जना र उहाँहरू ३ जना भएर घुम्न निस्कियौं । १२ बजे घर फर्केर १ बजेसम्ममा लञ्च तयार भयो । लञ्च खाएपछि उहाँहरू टोरन्टो फर्किनुभयो । मचाहिँ आफ्नो काममा लागें । ब्ल्यांकेट र बेड सिटहरू धोएँ । घर पनि सफा गरें । अलिअलि जिउ दु:खेको थियो ।


Advertisement

भोलिपल्ट ग्लोसरी गएँ । मलाई जिउ दुखिरहेकै थियो । त्यो दिन काम सकेर ९ बजेतिर सुतेँ । रातिबाट ज्वरो पनि आउन थाल्यो । थर्मोमिटर राख्दा १०१ डिग्री ज्वरो आएको रहेछ । मलाई शंका लाग्यो– कतै कोभिड त भएन ! डर लाग्यो । जिउ चिसो भएर आयो । वरिपरि कालो देख्न थालें ।

बिहान उठेर छोरी र पतिलाई भनें । हामी २ जना भएर कोभिड टेस्ट गर्न गयौं । स्वाब दिएपछि नर्सहरूले घरमै आइसोलेसनमा बस्न भनेका थिए । रिपोर्टको प्रतीक्षामा बस्यौं ।

भोलिपल्ट नर्सको फोन आयो । मेरो पतिको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् उनले । म भने रिपोर्टको प्रतीक्षामै थिएँ । टाइफाइड भएको बेला मजस्तै एकनासले ज्यान दुखिरहेको थियो । ज्वरो पनि १०१ डिग्री नै थियो ।  

छोरीले साह्रै मेहनत गरेर झोलिलो कुरा, प्रोटिन, भिटामिन खुवाउँथी । मेरो लक्षण सबै कोभिडसँग मिल्थ्यो । श्रीमानलाई सर्ला भन्ने डरले होटलमा बस्ने सल्लाह भयो । उहाँ होटलमा बस्नुभयो ।

मलाई ज्वरो आइरहेकै थियो । नर्सहरूले फोन गरेर बुझिराख्थे । सिटामोल खान सल्लाह दिन्थे । हरेक ४ घन्टामा 1000MG को टाइलनल खान भने। मैले त्यसै गरें । औषधि खाएको ३ घण्टाजति पछि फेरि दुख्न शुरू भैहाल्थ्यो । यसैगरी ५ दिन बित्यो । राति करीब ९ बजेतिर Public health Ottawa बाट नर्सको फोन आयो र भनिन् 'Sunita you have covid positive, Sorry'

मलाई अब त म मर्छु होला जस्तो लागेको थियो । कोरोनाले मर्ने भएँ भन्ने कुरा मनमा खेल्न थाल्यो । छोरीले सोधी के भयो ? मैले आफूलाई कोभिड पोजेटिभ भएको जानकारी दिएँ ।

दुखाइ एकदमै बढेको थियो । टाइलनल प्रत्येक ४ घन्टामा खाँदै थिएँ । खानाहरू मेरो मायालु छोरीले आफ्नो ज्यान बाजी थापेर मलाइ राम्ररी खुवाइरहेको हुन्थी । एउट होमीयोप्याथिक डाक्टर साथीसँग सल्लाह गरेर औषधि मगाएँ, इम्युनिटी बढाउनका लागि ।

छैटौं दिन बिहान माथिल्लो ढाड एकदमै दुखेको थियो । आँखाबाट आँसु नै झरेको थियो । टाइलनल खानै पर्ने भयो । यस्तो लाग्यो कि यो दुखाइले मलाइ मार्ने भयो । हतास भएँ । आमा सम्झें । नेपालबाट क्यानाडा आएको भर्खर डेढ महिना भएको थियो । लाग्यो अब आमालाई भेट्न नपाउँदै मर्छु ।

सातौं दिन अर्को पीडा थपियो । तल्लो ढाड उस्तै गरी दुख्न थाल्यो । प्रत्येक ४ घन्टामा 1000MG को  टाइलनल नखाई नहुने, खाएँ अनि भगवानसँग प्रार्थना गर्दै बसें ।

आठौं दिन दुवै खुट्टा एकदमै दुखेको थियो । शरीर निकै कमजोर भएको महसूस भयो । नवौं दिन भने थोरै राहत महसूस भयो । दुखाइ कम भएको थियो । तर पनि औषधि लिन भने छाडेको थिइनँ ।

दशौं दिन बिहान छ बजे उठ्दा दुखाइ केही कम भए जस्तो अनुभव भयो र 500MG को मात्र टाइलनल खाएँ । जिउ भने साह्रै थाकेजस्तो महसूस भयो । बेलुका फेरि दुख्न थाल्यो । दुखाइको पीडामा छट्पटाउँदै निदाएछु ।

एघारौं दिन दुखाइ पटक्कै थिएन, तर कमजोरी यति महसूस भयो कि बयान नै गर्न सक्दिनँ । पसिनाले छिनछिनमा लुगा फेर्नुपरेको थियो । बाह्रौं दिन पनि दुखाइ थिएन, पसिना साबिक भन्दा बढी नै आएको थियो र कमजोरी महसूस पनि हुँदै थियो ।

तेह्रौं दिन पनि हातखुट्टा थर्थर काँपिरहेका थिए । जिउ थाप्न नै गाह्रो भएको थियो । १० दिनसम्मको ज्वरो र ४-४ घण्टामा खाएको हजार एमजीको औषधिले निकै कमजोर बनाएको रहेछ । अब भने म मर्दिनँ भन्ने आत्मविश्वास पलाएको थियो । पौष्टिक खानाहरू खान थालें । छोरीले निकै स्याहारी । अर्को जुनी पाएजस्तो लाग्यो ।

मैले कोभिड हुनुअगाडि बेसारपानी, ज्वानो, अदुवा लगायत खाएको थिएँ, तर हुने बेलामा जसरी पनि हुने रहेछ । मेरो अनुभवमा यो बेसारपानी, ज्वानो पानी, गुर्जो पानीभन्दा भिटामिन सी, भिटामिन डी ३, जिंक प्रत्येक दिन खाने बानी बसालौं, यसले शरीरमा इम्युनिटी बढाएर भाइरससँग लड्ने क्षमता बढाउँछ । हामी आजकल दिनदिनै यी ३ चिज लिन थालेका छौं ।

मेरो फ्यामिली डाक्टरले मलाई 'तँ त खुब बलियो रहिछस्, यति मात्र भएर ठिक भयो । यु आर सो लक्की !' भन्दै प्रशंसा पनि गर्नुभयो । शुरूको दिनदेखि नै मलाई खानामा समस्या भएन । छोरीले दिन्थी ।  खाना खान छाडेको थिइनँ । खाना राम्ररी खाएर नै मलाई छिटो निको भएको हो जस्तो लाग्छ । खानामा बास्ना नआएको चाहिँ महसूस गरें, र पक्का गर्न छोरीलाई तामा बोडी पकाउन भने अति त्यसपछि पक्का भयो कि मलाई स्वाद र गन्ध केही रहेनछ ।

नर्सहरूले बेलाबेलामा फोन गरेर सास फेर्न गाह्रो भएको छ कि छैन भनेर सोध्थे । छ भने तुरुन्तै अस्पताल आऊ भन्थे । मलाइ श्वासप्रश्वासको समस्या भएन, कारण म प्रत्येक दिन १.५ घण्टा एक्सरसाइज र मेडिटेसन गर्छु । यसले धेरै सहयोग गरेको हुनुपर्छ।

जसले मेरो यो अनुभव पढ्नुभयो, तपाईंहरू जति नै उमेरको भएपनि आफ्नो उमेर अनुसारको शरीरले धान्न सक्ने जति एक्सरसाइज गर्नुहोला । १५-२० मिनेट भएपनि शान्त भएर मेडिटेसन गर्नुहोला । भिटामिन सी, भिटामिन डी ३, जिंक ट्याब्लेट खानुहोला । बेसार पानी, ज्वानो पानी, गुर्जोको मात्र भर नपर्नु होला । आफ्नो शरीर स्वस्थ भए मात्र सबथोक हुन्छ।

बेसार हाम्रो स्वास्थका लागि राम्रो हो, बेसार त धेरै नै खान्छौं प्रत्येक खानामा पकाएर तर त्यो तरिकाले खाँदा बेसारबाट पाइने तत्व त नष्ट भएको छैन ? विचार पुर्‍याउनु होला ।

अन्त्यमा मलाई कोभिड कसरी भयो, त्यो पनि भन्छु । मैले शुरूमा नै अवगत गराएको थिएँ, २८ अगस्तमा पाहुना आउनुभएको थियो । दुई रात हामीसँगै बस्नुभयो । उहाँहरू ३ जनामध्ये एक जनालाई खोकी लागेको रहेछ । मनमनमा कोभिड हो कि भन्ने सबैले सोचेका रहेछन्, तर मुखले कसैले भन्न सकेनौं । यो हाम्रो नेपाली समाजको बानी भनौं वा के भनौं । केही सतर्कता पनि अपनाएनौं । दूरी पनि कायम भएन । यस्तो महामारीमा हामीले नै मूर्खता गरेजस्तो लाग्यो। पछि थाहा भयो उहाँहरू फर्केर कोभिड टेस्ट गराउँदा तीनैजनालाई पोजेटिभ आयो रे ।

त्यसैले यो महामारीको बेलामा केही सिम्टम्स भएमा कसैकोमा नजाऔं । कसैलाई नबोलाऔं । भेट्नै परे पार्कमा माक्स लगाएर दूरी कायम गरी भेटौं । मेरो अनुभवमा माक्स लाउनु नै यो रोगबाट बच्ने मुख्य उपाय हो, त्यसमाथि स्यानिटाइजर र साबुनपानीले हात धुने त छँदैछ ।

(काठमाडौंको मीनभवन स्थायी ठेगाना भएकी न्यौपाने हाल क्यानाडाको ओटावामा बस्छिन् ।)

कमेन्ट गर्नुहोस्