
देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज दुई हजार ३६४ जना सङ्क्रमित थपिँदा तीन हजार ३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका हुन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ३८० र महिला ९८४ जना छन् ।
आजसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आजसम्म एक लाख २४ हजार ८६२ जना अर्थात् ७५ दशमलव आठ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यो जम्मा सङ्क्रमितमध्ये २३ दशमलव ६ प्रतिशत छ ।
काठमाडौँ उपत्यकामा आज एक हजार ६१५ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ९११ पुरुष र ७०४ महिला छन् । काठमाडौँ उपत्यकाका काठमाडौँमा १६ हजार ५२१, ललितपुरमा दुई हजार ४७० र भक्तपुरका एक हजार ७० सक्रिय सङ्क्रमित छन् ।
देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ८९८ होम आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नौ हजार ७६९ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख १९ हजार ६४ नमूना परीक्षण भइसकेको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर ११ दशमलव ६ प्रतिशत छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या दुई हजार ६८९ छ ।