
नेकपाका सचिवालय सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल तथा सचिवालय सदस्यहरू टोपबहादुर रायमाझी र हरिबोल गजुरेलबीच आइतवार छलफल भएको छ ।
मन्त्री भुसालको कार्यकक्षमा भएको भेटमा दुई अध्यक्षबीचको विवाद र पार्टीमा देखिएको अन्तरविरोध हल गर्ने विषयमा छलफल भएको नेता रायमाझीले जानकारी दिए ।
'पार्टीभित्रको अन्तरविरोध हल गर्ने विषयमा छलफल भयो,' रायमाझीले भने, 'अहिलेको अन्तरविरोध सैद्धान्तिक मात्र नभएर प्राविधिक पनि हो ।'
पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने विषयमा कुराकानी भएको नेता गजुरेलले जानकारी दिए । 'पार्टीलाई कुनै पनि हालतमा फुट्न दिँदैनौं, समय लाग्न सक्छ, हामी जुट्छौं,' गजुरेलले लोकान्तरसँग भने ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला उता बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
अध्यक्ष प्रचण्ड, नेता नेपालसहित सचिवालयका ५ जना सदस्यले ४८ घण्टाभित्र सचिवालयको बैठक राख्न अल्टिमेटम दिएको भोलिपल्ट दुई नेताबीच छलफल भएको हो ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केही नेतासहित नेता नेपाल बालुवाटार गएको लोकान्तरसँग पुष्टि गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसमेत सहभागी छन् ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला सहमतिको प्रयास स्वरूप ओलीले नेपालसँग छलफल गरेका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा नेता नेपाल सहित सचिवालयका ५ जनाले ४८ घण्टाभित्र सचिवालयको बैठक बोलाउन शनिवार ओलीलाई पत्र बुझाएका थिए ।
पाँच नेपाले पत्र बुझाएको भोलिपल्टै ओलीले नेपालसँग गरेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।