
समय कोरोना महामारीको । गन्तव्य विश्वकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल । त्यो पनि साइकलमै ।
चानचुने विषय थिएन । तैपनि पोखरा–तिलिचोको लागि गत हप्ता १० सदस्यीय पोखरेली टोली प्रस्थान भयो ।
‘तिलिचो माउन्टेन बाइकिङ टूर–२०२०’मा टोलीका सदस्यहरू साहसिक यात्रामा फरक अनुभूति लिएर ६ दिनमै सफलतापूर्वक पोखरा फर्केका छन् ।
‘जति चलायो, त्यत्ति आत्मविश्वास बढ्ने । सहकर्मीहरूले पनि एक मात्र महिला भएकाले अगाडि बढ्न हौसला दिनुहुन्थ्यो,’ टोलीकी एक मात्र महिला दूर्गा अधिकारीले आफ्नो अनुभव सुनाइन्, ‘केही ठाउँमा साइकल नै बोक्नुपर्ने, धकेल्नुपर्ने अवस्था पनि सिर्जना भयो । कतिखेर यो दुःख भोग्न आइएछ जस्तो पनि लाग्यो, तैपनि समुद्री सतहदेखि ५ हजार २०० मिटर उचाइको तिलिचो तालमा सफलतापूर्वक पुगेपछि सबै दुःख बिर्सिएर स्वर्गमै पुगेको अनुभूति भयो ।’
पोखराको सफलता एफएमकी प्रबन्ध निर्देशक समेत रहेकी पत्रकार अधिकारीले साइकल यात्रा आफ्नो जीवनको महत्त्वपूर्ण र ऐतिहासिक क्षण बनेको बताइन् । यतिसम्मकी यात्राकै क्रममा उनले आफ्नो जन्मदिन पनि मनाइन् । ४–५ वर्षदेखि विशेषगरी साइक्लिङमा रुचि देखाएकी पत्रकार अधिकारीले मानिसले आँट्यो भने जे पनि गर्न सक्छ भन्छिन् ।
उनका अनुसार साइकल यात्राबाट कोभिड–१९ ले आक्रान्त बनेको पर्यटन केही भए पनि प्रवद्र्धनमा सकारात्मक सन्देश छर्नेछ ।
अन्नपूर्णको काखमा भएर पनि पोखरेली टोली अहिलेसम्म माउन्टेन बाइकमा तिलिचो पुगेको थिएन । त्यसकारण कोरोनाका कारण फुर्सदिलो समय सदुपयोग गर्दै पोखरास्थित माउन्टेन बाइक एड्भेञ्चर प्रालिले पोखरा–तिलिचो गन्तव्यको योजना बनायो । सो योजना मुताविक टोलीमा गाइडसहित १० सदस्यीय टोली गत कात्तिक २१ गते फेवातालबाट प्रस्थान गरेको हो ।
टोलीका सहभागीमध्ये गाइडबाहेक सबै जनाको लागि तिलिचो नौलो गन्तव्य थियो । पर्यटन व्यवसायी धरमसिंह लामिछानेको संयोजकत्वमा पत्रकार दूर्गा अधिकारीसहित पर्यटन व्यवसायी जगन विश्वकर्मा, पर्यटन व्यवसायी शेखर श्रेष्ठ, निर्माण व्यवसायी विनोद थापा, भर्खरै जर्मनबाट फर्केका कुमार गुरुङ, शिक्षक राजीव पालिखे, विद्यार्थी विश्वास गुरुङ, गाइड लक्ष्मण सुनार र खड्क विक सहभागी थिए । तीमध्ये सबैभन्दा पाका उमेरका कुमार गुरुङ ४७ वर्ष र सबैभन्दा कान्छा विश्वास गुरुङ १९ वर्षका किशोर हुन् । संयोजक लामिछाने भने बिरामी परेको खबरले धारापानीबाट फर्किएका थिए ।
माउन्टेन बाइक एड्भेञ्चर प्रालिका सञ्चालक समेत रहेका टोलीका सदस्य जगन विश्वकर्माले कोभिडको कारण सुस्ताको पर्यटन क्षेत्र केही भए पनि माथि उकास्न यो टूरले सकारात्मक सन्देश दिएको दाबी गर्छन् । अन्य ठाउँबाट तिलिचोमा माउन्टेन बाइक यात्रा भए पनि गण्डकी प्रदेशबाट पहिलो पटक यसरी माउन्टेन बाइक यात्रा भएको उनको दाबी छ ।
कोभिड नभित्रिँदै विगतमा बेस क्याम्पमा ठाउँ अभावमा खाने–बस्ने समस्या हुने गरे पनि अहिले मानिसको चहलपहल नहुँदा आफूहरूलाई सहज बनेको उनको अनुभव छ । स्थानीय प्रशासन, होटलसँग समन्वय गरी व्यवस्थित ढंगले गरिएको सो यात्रा केही कठिनाइ भए पनि सोचेभन्दा रमाइलो, आनन्द र ठूलो प्राप्ति भएको विश्वकर्मा बताउँछन् । उच्च स्थानमा पहिलोपल्ट यात्रा गर्ने केही सहकर्मीलाई धेरै उचाइका कारण समस्या भए पनि अन्त्यमा सफलतापूर्वक यात्रा पूरा गरेर कात्तिक २६ गते पोखरा फर्किएको उनले बताए ।
विश्वकर्माका अनुसार पहिलो दिन पोखराबाट प्रस्थान गरेको टोलीका सदस्यले लमजुङ सदरमुकामसम्म जीपमा गई त्यसपछि पूरै यात्रा साइक्लिङ गरेका हुन् । पोखरादेखि तिलिचो पुगेर फर्किंदा ४१८ किलोमिटर यात्रा पूरा भएको हो । जसअनुसार बेसीशहरबाट धारापानी पुगेको टोली पहिलो दिन त्यहीँ बास बस्यो । दोस्रो दिन धारापानीबाट मनाङ सदरमुकाम चामे पुग्यो । दोस्रो दिन त्यहीँ रात बिताएपछि प्रस्थान गरेको टोली चामेबाट मनाङ पुगेर बास बस्यो । मनाङबाट श्रीखर्क हुँदै बेस क्याम्प गन्तव्य बनायो । चौथो रात बेस क्याम्पमा बिताएपछि भोलिपल्ट तिलिचोमा माउन्टेन बाइक अवतरण भएको हो । त्यहाँ करीब ३ घण्टा बिताएपछि त्यहाँबाट फर्किएर बेस क्याम्प, श्रीखर्क मनाङ हुँदै चामे आएर बास बस्यो । भोलिपल्ट छैटौं दिन चामे–धारापानी–बेसीशहर हुँदै पोखरा फर्किएको हो । सुन्दर तिलिचो ताल पर्यटकीय गन्तव्य हो । पछिल्लो समय फिल्म तथा म्यूजिक भिडियो सूटिङकै लागि पनि तिलिचो आकर्षणको केन्द्र बन्दै गएको छ ।
कोरोनाबाट जोगिन टोलीले नेपाल पर्यटन बोर्डको समन्वयमा आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेको गाइड लक्ष्मण सुनारले बताए । सामाजिक दूरी, मास्क र स्यानिटाइजर प्रयोग, सम्भावित दुर्घटना हुन नदिन आवश्यक अक्सिजन र हेलिकप्टर सम्पर्कमा राखिएको थियो । उच्च उचाइबाट सम्भावित जोखिम न्यूनीकरणका लागि २ हजार मिटर उचाइपछि थपिने हरेक १ हजार मिटर उचाइ पूरा भइसक्दा १ रात बास बस्नुपर्ने टोलीको सुझाव छ । यसो गर्दा मानव शरीर पनि सोहीअनुरुप अनुकूलन हुन्छ ।
साइकललाई यातायातको साधन मात्र नभई यसको बृहत् व्याख्या गर्दै मनोरञ्जन, स्वास्थ्य, शिक्षा, वातावरण र पर्यटनसँग जोड्नुपर्ने टोलीका सदस्यको भनाइ छ । यात्राका लागि रेवान पोखरा र सुलभ डिपार्टमेन्टल स्टोर्सले प्रोत्साहन र हौसलास्वरुप टीसर्ट सहयोग गरेको थियो ।