राजनीतिमा वंश परम्परा : शेखर, शशांक र सुजाताको काँधमा बीपीको विरासत

कुनै पनि राजनीतिक परिवेशमा शक्तिशाली राजनीतिक परिवारका सदस्यहरूलाई पद र राजनीति गर्ने अवसर दिइन्छ, त्यसलाई सामान्यतया राजनीतिक वंशवादको रूपमा चिनिन्छ ।

नेपालमा परिवारका त्यस्ता धेरै सदस्यले राजनीतिमा र सार्वजनिक पदमा विना योग्यता पनि राजनीतिक नियुक्ति पाइरहेका छन् । दक्षिण एसियाको राजनीतिमा वंशवादको प्रभुत्व नयाँ होइन ।


Advertisement

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदजस्ता पदहरूका साथै अरू शक्ति संरचना यिनै परिवारको वरिपरि घुमिरहेको पाइन्छ ।

भारतीय कांग्रेस पार्टीमा नेहरू-गान्धी वंश, पाकिस्तानमा भुट्टो , श्रीलंकामा बन्दरानाइके, म्यानमारमा सुकी, नेपालमा कोइराला परिवारले नै राजनीति चलाइरहेको देखिन्छ ।


Advertisement

नेपालको राजनीतिमा कुन हदसम्म राजवंश प्रवेश गरेको छ भनेर प्रायः सबै पार्टीहरूमा स्पष्ट देखिन्छ । अहिले आएर राजनीतिले व्यवसायको रूप लिएको छ । राजनीतिक परिवारका सन्तानहरू राजनीतिको क, ख, गसँग परिचित नभए पनि उनीहरू पार्टीको टिकट र ओहदालाई आफ्नो अधिकार मान्दछन् ।

केही सम्भ्रान्त परिवारको हातमा जब शक्ति हुन्छ, तब उनीहरूको नेतृत्वले उदार लोकतन्त्रको सार र अस्तित्वको उल्लङ्घन गर्दछ । वंशवादमा राजनीतिमा नेतृत्व गर्नेको योग्यताको प्रश्न गरिँदैन । उनीहरूका लागि वंश नै सबैभन्दा ठूलो योग्यता बन्छ । जब योग्यता नभएकाले नेतृत्व गर्छ, तब भ्रष्टाचार र खराब प्रशासनको जन्म हुन्छ ।

नेतृत्वले पार्टीलाई जब सही ढंगले अगाडि बढाउन सक्दैन तब देशलाई अस्थिरताको पथमा डोर्‍याउँछ।

परिवारका योग्य सदस्यहरू राजनीतिमा आउँदा वंशवादलाई नराम्रो भन्न मिल्दैन, तर समाजलाई नराम्रो तब हुन्छ जब योग्यता नभएका वंशका उत्तराधिकारीहरू लाई नै जनताले राजनीतिको मुकुट लगाएको हेर्न चाहन्छन् ।

यसको परिणाम जहिले पनि निर्दोष व्यक्ति जो वंशवाद नभए पनि वंशवाद राजनीतिक परिवारले चलाएको राजनीतिक दलको झुटो नाराहरूको शिकार हुन्छन् र सधैँ उनीहरू वंशवादी नेताहरूको दयामा जिउन बाध्य हुन्छन् ।

उनीहरूको राजनीतिक भविष्य जहिले पनि अन्धकार हुन्छ ।

नेपाली कांग्रेसको तुलनामा कम्युनिस्ट र अन्य पार्टीहरूमा वंशवादको प्रभाव कम छ । तर जोसँग छ त्यसले राजनीतिक दलहरूलाई पारिवारिक सम्पत्तिका रूपमा चलाइरहेका छ ।

सार्वजनिक सरोकारका कार्यकारणी पदमा नियुक्ति गर्दा भाइ-भतिजा, छोरा-छोरी, साला-साली, सम्धीलाई योग्यता नै नभए पनि प्राथमिकता दिने चलन नौलो छैन । कम्युनिस्ट पार्टीमा वंशवादभन्दा परिवारवाद बढी छ ।

प्रचण्डको परिवार र नातागोताका झन्डै १५ जना जतिले विभिन्न पदमा नियुक्ति पाएका छन् ।

वर्तमान संसद्मा झन्डै ३०% सांसद नाता पर्ने छन् । यसकै कारणले गर्दा योग्य र प्रतिभाशाली व्यक्तिहरूका लागि राजनीतिमा प्रवेश गर्न गाह्रो भइरहेको छ ।

राजनीतिक पार्टीलाई परिवारले पारिवारिक व्यवसायका रूपमा लिने गरेको प्रशस्त भेटिन्छ । यहाँ हुने गठबन्धनहरू नीति, विचारधाराका आधारमा नभएर राजनीतिक सुविधामा आधारित हुन्छन् ।

जब वंशवाद, परिवारवादले स्थान पाउँछ, तब मूल्य-मान्यता, विचारधारा र मुद्दामा आधारित राजनीति पछाडि पर्छ ।

सबै ठाउँमा आफ्नै वंश, परिवारको उपस्थितिका कारणले राजनीतिक भ्रष्टाचारको समस्यालाई अझ गहिराइमा पुर्‍याउँछ, जसले प्रजातन्त्रलाई कमजोर पार्दछ ।

वंशवादको राजनीतिले शुरूदेखि नै हाम्रो देशमा प्रभुत्व जमाएको छ । नेपाली कांग्रेसमा वास्तवमै आन्तरिक प्रजातान्त्रिक अभ्यास छैन । कहिले परिवारवाद छ भने कहिले गुट ।

कुनै समय केबल कोइराला परिवार र उनीहरूका नजिकका व्यक्तिहरूले मात्र पार्टी चलाउँथे र हरेक निर्णय लिन्थे ।

हुन त नेपाल एक प्रजातान्त्रिक देश हो तर दुर्भाग्यवश हाम्रो राजनीतिलाई व्यापक रूपमा वंशवाद र परिवारवादले जकडेको छ, जसका कारणले सक्षम उम्मेदवारहरूले न त चुनावमा टिकट पाउँछन्, पाए भने पनि उनीहरूलाई चुनाव जित्न कठिन हुन्छ ।

वंशवाद र परिवारवादले जहिले पनि नैतिक मूल्यमान्यता र मूल्यहरूलाई लत्याएर साम, दाम, दण्ड, भेदको प्रयोग गरेर सत्ताको बागडोर सम्हाल्ने प्रयास गर्दछ । वंशवाद र पारिवारिक राजनीतिले बाहिरबाट सक्षम दोस्रो पुस्ताको नेतृत्वको उदय हुन दिँदैन ।

असक्षमहरूको भीडको आफ्नै गुट हुन्छ र त्यस गुटले आफ्नै आसेपासेलाई मात्र पार्टीका सबै तहमा नियुक्ति दिने गर्छन् ।

वंशवाद र पारिवारिक राजनीतिको चपेटामा परेकाहरूले धेरै–थोरै जनताको क्रोधको सामना गरेका हुन्छन्, तर शक्तिको आडमा लोभमा परेर जनताहरू उनीहरूको नै जयजयकार गरिरहेका हुन्छन् ।

पटकपटक हाम्रो समाजमा एउटै प्रश्नले झक्झक्याइरहन्छ; नेपालको वास्तविक समस्या के हो त ? फरक व्यक्तिहरूले फरक उत्तरहरू दिने गरेको पाइन्छ । कोही भन्छन्, भ्रष्टाचार नै महत्त्वपूर्ण जड हो; कोही बेरोजगारी, गरीबी, सामन्तवाद र पूँजीवादलाई समस्या मान्छन्, तर मेरो दृष्टिकोणमा हाम्रो देशको वास्तविक समस्या एक अयोग्य, क्षमताहीन राजनीतिक नेता हो जसले पारिवारिक सम्बन्धमा आधारित देश चलाउने र विभिन्न पदमा अयोग्य, क्षमताहीन परिवारका सदस्यलाई नियुक्ति दिन्छ ।

त्यसपछि समाजमा थुप्रै समस्याहरू देखा पर्न शुरू हुन्छन् । अदालतले न्याय दिँदैन । पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरू दिन-प्रतिदिन बढ्दै जान्छन् ।

लोकतन्त्रको सुदृढीकरणका लागि विधि विधानको जगमा टेकेर राम्ररी काम गर्ने राजनीतिक दलहरूको आवश्यकता हुन्छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रले लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउनका लागि मद्दत गर्दछ ।

राजनीतिक अस्थिरता, टकराव र लोकतन्त्र विफल हुनुको कारण पनि सामन्ती संस्कृति तथा परिवार र जातमा आधारित राजनीति नै हो । यहाँ पार्टीभित्र नै प्रजातान्त्रिक प्रक्रिया छैन । त्यसको ज्वलन्त उदहारण पार्टीभित्र र सार्वजनिक कार्यालयहरूका लागि चाहिने उम्मेदवारको छनोट खुला र समावेशी प्रक्रियाबाट नहुनु नै हो ।

हाम्रो देशमा राजनीतिक दलहरू न त पूरै अटोक्रेटिक छन् न त पूरै लोकतान्त्रिक नै, कहीँ न कहीँ राजनीतिक दलहरू निरंकुशता, कुलीनतन्त्र, वंशवाद र लोकतन्त्र जस्ता विभिन्न तत्त्वहरू मिलेर बनेका छन् ।

वंशवादको थिचोमिचोसँग लडेका पार्टीहरू नै चरम वंशवाद र नातावादमामा लिप्त छन् ।

कोइरालाबाहेक नेपाली कांग्रेसमा महेन्द्र नारायण निधिको नाममा विमलेन्द्र निधि, गणेशमानको नाममा प्रकाशमान सिंहहरू आफूलाई स्थापित बनाउन कस्सिएरै लागेका छन् ।

नेपाली कांग्रेसको राजनीतिमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाको योगदान  नभएको होइन । राम्रा नराम्रा कुरा हुन् या शक्ति यी सबै जीनबाट नै आउँछ ।

राजनीतिक वंशवाद सधैँ खराब भने हुँदैनन् । राजनैतिक परिवारका सदस्यहरू सही मार्गमा हुँदासम्म देशको सेवा गर्न इच्छा राख्नु कुनै गलत काम होइन । नेपाली राजनीतिक वृत्त कोइरालाहरूका लागि भारतका गान्धीको परिवार जस्तै हो ।

नेपाली कांग्रेसका शुभचिन्तकहरूलाई सर्वविदितै छ कि कुनै समयमा नेपाली कांग्रेसमा कोइराला परिवारबाहेक बाहिरका नेताहरूलाई कार्यसमितिमा पर्न धौधौ हुन्थ्यो ।

बीपी कोइरालाको राजनैतिक विरासतलाई अगाडि बढाउनु त्यति सजिलो छैन । नव कोइरालाहरूले जनताको आशा, अपेक्षालाई पूरा गर्न सकेनन् भने कोइराला थर शेखर, शशांक र सुजाताको काँधमा बोझ हुनेछ ।

राजनीतिमा अगाडि आउने इच्छा राख्नु नराम्रो होइन तर आफ्नो मात्र अपेक्षा हेरेर जनताको अपेक्षा बिर्सने हो भने यसले  सधैँ राम्रो बाटोतिर अग्रसर गराउँदैन ।

नयाँ कोइरालाहरू डर, गुट र घृणाको राजनीतिबाट माथि उठ्नै पर्छ, त्यसैले नयाँ कोइरालाहरूले जनताको हृदय जित्नका लागि फरक ढङ्गले आफूलाई जनताको सामु लैजानु पर्छ, नत्र भने बिपी कोइरालाको पुरानो सपनाका साथसाथै कोइराला वंश पनि पतन हुनेछ ।

जुवाको लत लागेजस्तै भोट हाल्ने लत लागेका हामी नेपाली प्रत्येक चुनावमा असक्षमहरूलाई वंशवाद र परिवारवादमा आधारित राजनीतिक विचारधाराको झूटा नाराको शिकार भइरहेका छौँ ।

वंशका आधारमा राजनीति गर्नेहरूलाई अरूको तुलनामा हामी मसिहाका रूपमा लिने गर्छौं र उनीहरूलाई नै भोट हालेर फेरि पाँच वर्ष उनीहरूको दयामा जीवन बिताउन बाध्य हुन्छौँ । यो चक्र चलि नै रहन्छ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्