२७ जेठ २०८३, बुधबार

निषेधाज्ञाका कारण उठ्नै नसक्ने गरी थलिएका ट्याम्पो चालक तथा व्यवसायीको कथा [भिडियो रिपोर्ट]

जेठ ३१, २०७८

विष्णुमाया तामाङले रातदिन नभनी ज्याला मजदूरी गरेर ३ लाख रुपैयाँ कमाएकी थिइन् । उनको मेहनत देखेर साथीहरू भन्थे– कति अरुको मात्र काम गर्छेस्, आफ्नै केही गर ।

साथीहरूले नै उनलाई विद्युतीय सफा ट्याम्पो किनेर चलाउन सुझाव दिए । त्यसपछि उनले गाँस काटेर जम्मा गरेको रकम र फाइनान्सबाट ऋण लिएर २२ लाखमा ट्याम्पो किनिन् ।

२ वर्षमा चुक्ता गर्ने गरी फाइनान्सबाट ऋण लिएकी थिइन् । त्यो २ वर्ष बित्दैछ । तर दुर्भाग्य! ट्याम्पो किनेको केही महिनामा नै कोरोनाका कारण लकडाउन भयो ।

अहिले आएर फेरि निषेधाज्ञा हुँदा फाइनान्सको किस्ता त परको कुरा घरभाडा समेत बुझाउन नसक्ने अवस्थामा पुगेकी छिन्, उनी ।

निषेधाज्ञाका कारण मान्छे बोक्न नपाएपछि उनी राति २ बजे नै उठेर तरकारी बजार पुग्छिन् । त्यहाँबाट तरकारी ओसारेर कमाएको २/३ सय रुपैयाँ खानलाई पनि पुगनपुग हुन्छ ।

यस्तै अवस्था रामेछापका ललितबहादुर सुनुवारको पनि छ । उनी ट्याम्पो चालक हुन् । उनको घरमा कमाएर ल्याउने अरू कोही छैन । निषेधाज्ञाका कारण उनको पनि रोजीरोटी गुमेको छ । ललितको पीडा यतिमा मात्र सीमित छैन । कोरोनाले दिदीको निधन भएपछि उनी शोकमा छन् ।

ट्याम्पो चलाएर जीविका चलाउँदै आएका हरेकको पीडा यस्तै छ । विद्युतीय सफा ट्याम्पो चालक तथा व्यवसायी जीवन बाइवाले सरकारप्रति आक्रोश पोखे ।

यस्तो संकटका बेलामा सामान्य राहत समेत उपलब्ध नगराएको उनको गुनासो छ ।

विद्युतीय यातायात स्वरोजगार व्यवसायी संघका अध्यक्ष रामप्रसाद घिमिरेले धेरै व्यवसायीहरू विस्थापित हुने अवस्था आएको बताए ।

सरकारी नीतिले नछोएका कारण व्यवसायीले थोरै मात्र पनि राहत महशुस गर्न नपाएको उनको गुनासो छ ।

सानोतिनो रकमबाट दु:खजिलो गरी विद्युतीय ट्याम्पो जोडेका धेरै साना व्यवसायी अहिले संकटपूर्ण अवस्थामा छन् ।

निषेधाज्ञाले उनीहरूलाई उठ्नै नसक्ने गरी थला पारेको छ । यो संकटको अवस्था कहिलेसम्म जाने हो निधो छैन । सरकारको ध्यान पनि उनीहरूतर्फ गएको देखिँदैन ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्